अन्तरिक्षमा महिनौँदेखि अलपत्र दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

    • Author, पल्लब घोष
    • Role, विज्ञान संवाददाता

स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलिअम्स र ब्यारी विल्मोरलाई फिर्ता ल्याउने योजना सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र 'आईएसएस'मा नयाँ अन्तरिक्षयात्री बोकेको रकेट प्रक्षेपण गरेको छ।

उक्त जोडी आठ दिनका लागि मात्र आईएसएसमा रहनु पर्ने थियो।

तर परीक्षणमा रहेको अन्तरिक्षयानमा आएको प्राविधिक समस्याका कारण उनीहरू विगत ९ महिनाभन्दा लामो समयदेखि त्यहाँ रहेका छन्।

नयाँ अन्तरिक्षयात्री त्यहाँ पुगेको दुई दिनपछि उनीहरूले पृथ्वीतर्फ आफ्नो यात्रा सुरु गर्ने छन्।

नासाका 'कमर्शिअल क्रू' कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले पछिल्लो सम्भावनाप्रति खुसी व्यक्त गरेका छन्।

"बुच र सुनीले राम्रो काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता ल्याउन उत्साहित छौँ," उनले भने।

टोली परिवर्तन

नयाँ टोली पुगेपछि ती दुई अन्तरिक्ष यात्रीसहित आईएसएसमा रहेका उनीहरूका सहकर्मीहरू नासाका निक हेग र रोसकोस्मोस कोस्मोनट (रुसी अन्तरिक्षयात्री) अलेक्जान्डर गोर्बनोभले राहत पाउने छन्।

ती सबैलाई रुस र जापानका एक/एक तथा अमेरिकाका दुई गरी चार नयाँ अन्तरिक्षयात्रीले प्रतिस्थापन गर्नेछन्।

पुराना अन्तरिक्षयात्रीले नयाँ सहकर्मीलाई दुई दिनमा सबै कामको हस्तान्तरण गर्नेछन् र पुरानो दलका अन्तरिक्षयात्रीले पृथ्वीतर्फ आफ्नो यात्रा सुरु गर्नेछन्।

आईएसएसका कार्यक्रमका प्रबन्धक डाना वाइगलका अनुसार पृथ्वीतर्फ फर्कने क्याप्सुलमा सुरक्षित रूपमा प्रवेश गर्नका लागि उपयुक्त अवस्था पर्खनु पर्ने भएकाले त्यसमा थप केही ढिलो पनि हुन सक्छ।

"मौसमले सधैँ साथ दिनुपर्छ त्यसैले यदि अनुकूल भएन भने हामी थप समय पनि लगाउँछौँ" उनले सञ्चारकर्मीहरूलाई भनिन्।

उनका अनुसार अन्तरिक्षयात्रीहरूले गत सातादेखि हस्तान्तरणको तयारी थालेका छन्।

"सुनीले अन्तरिक्षयात्री अलेक्सी ओभचिननलाई कमान्ड सुम्पिँदा बुचले औपचारिक घण्टी बजाए," उनले भनिन्।

यानमा कस्तो समस्या देखिएको थियो?

अन्तरिक्षमा अड्किएका ती यात्रीहरूले लगातार आफूहरू अन्तरिक्ष स्टेशनमा रहन पाउँदा खुसी रहेको बताएका छन्।

सुनीता विलियम्सले त्यसलाई "खुसी हुने ठाउँ" भनेकी छिन्।

तर ओपन युनिभर्सिटीका डा सिमिअन बार्बरले बीबीसी न्यूजसँग सम्भवतः त्यहाँ व्यक्तिगत क्षति हुन सक्थ्यो भनेका छन्।

"तपाईँलाई एक साताको कामका लागि पठाइएको यात्रामा निस्कँदा तपाईँले त्यो लम्बिएर एक वर्षको हुने आशा गर्नुहुन्न," उनले भने।

"अन्तरिक्षमा भएको यो विस्तारित बसाइले पारिवारिक जीवनलाई बाधा पुर्‍याउनेछ, घरमा धेरै कुरा भएका हुन्छन् ती तपाईँबाट छुट्छन्। त्यसैले त्यहाँ [व्यक्तिगत] उथलपुथलको स्थिति हुन्छ।"

ती दुई अन्तरिक्षयात्रीहरू सन् २०२४ को जुनको सुरुमा 'बोइङ स्टारलाइनर' नामक अन्तरिक्षयान परीक्षणका क्रममा गएका थिए। त्यो स्पेसएक्सको प्रतिद्वन्द्वी एरोस्पेस कम्पनी बोइङले निर्माण गरेको थियो।

उक्त अन्तरिक्षयानको विकासका क्रमा देखा परेका प्राविधिक समस्याका कारण उक्त मिसन धेरै वर्ष ढिलो भएको थियो।

उक्त यानको प्रक्षेपण र आईएसएसमा त्यसको 'डकिङ' का क्रममा पनि समस्या देखिएका थिए।

'स्टारलाइनर'का केही 'थ्रस्टर'हरूमा पनि समस्याहरू देखिएको थियो।

तिनले पृथ्वीको वायुमण्डलमा यान पुन: प्रवेश गर्दा त्यसको गतिलाई कम गराउन भूमिका खेल्छन्।

'प्रपल्शन' प्रणालीमा इन्धन प्रवेश गराउने 'हीलिअम' चुहिने लगायतका समस्या पनि उक्त यानमा देखा परेको थियो।

नासाले उनीहरूलाई स्टारलाइनरमा नै फिर्ता ल्याउन सानो जोखिम पनि नलिने निर्णय गर्‍यो।

ऊसँग स्पेसएक्सको ड्र्यागन क्याप्सुलमा फिर्ता गर्ने विकल्प पनि थियो।

नासाले निर्धारित 'क्रू' परिवर्तनको समयलाई उत्तम विकल्प हुने निर्णय गर्‍यो।

तर त्यसले गर्दा ती दुवै अन्तरिक्षयात्रीलाई धेरै महिनासम्म अन्तरिक्ष स्टेशनमा राख्नु पर्‍यो।

बोइङले ती दुवै यात्रीलाई स्टारलाइनरमा फिर्ता ल्याउन सुरक्षित हुने निरन्तर बताउँदै आएको छ।

ऊ आफ्नो प्रतिस्पर्धी कम्पनीको क्याप्सुल प्रयोग गर्ने निर्णयबाट पनि असन्तुष्ट भएको छ।

वास्तवमा बोइङका लागि त्यो "लज्जास्पद" नै हुने डा बार्बर बताउँछन्।

उनले भने, "बोइङका लागि उनीहरूले अन्तरिक्षमा लगेका अन्तरिक्षयात्रीहरू प्रतिस्पर्धीको यानमा फर्किएको देखिनु राम्रो होइन।"

'उपयुक्त विकल्प'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्क दुवैले बुच र सुनीलाई चाँडै घर ल्याउन सकिने बताएका थिए।

उनीहरूले फेब्रुअरीमा फक्स न्यूजलाई दिएको संयुक्त अन्तर्वार्ताका क्रममा त्यस्तो बताएका हुन्।

राष्ट्रपति ट्रम्पले भनेका थिए, "उनीहरू अन्तरिक्षमा छोडिए।"

अन्तर्वार्ताकारले विस्तृत रूपमा "उनीहरू त्यहाँ आठ दिनका लागि जानु पर्ने थियो। उनीहरू त्यहाँ लगभग तीन सय दिनदेखि छन्" भन्दा ट्रम्पले एक शब्दमा उत्तर दिए, "बाइडन।"

मस्कले ट्रम्पको दाबीलाई समर्थन गर्दै भने, "उनीहरूलाई राजनीतिक कारणले त्यहाँ छाडियो।"

नासाका स्टिभ स्टिचले त्यो दाबीलाई अस्वीकार गरेका छन्।

"हामीले विकल्पको विस्तृत दायरा हेर्‍यौँ र समग्रमा उत्तम कुरा के हो भनेर ठम्याउनका लागि स्पेसएक्ससँग हात मिलाएर काम गर्‍यौँ। हामीले गरिरहेको काम एउटा उत्तम विकल्प थियो," उनले भने।

नासाको निर्णयलाई डा लिबी ज्याक्सनले समर्थन गरेका थिए।

उनी लन्डनस्थित विज्ञान सङ्ग्रहालयका अन्तरिक्ष प्रमुख हुन् र आईएसएसका लागि युरोपेली नियन्त्रण केन्द्रमा उनले काम गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।