पोखरामा अब राति पनि उडान, अन्य कुन सहरबाट छ सम्भव

विमानस्थल

सन् २०२३ को पहिलो दिन ज्यानुअरी १ तारिखमा उद्घाटन गरिएको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक रात्रिकालीन उडान सुरु भएको छ।

बुधवार शौर्य एअरलाइन्सको विमान बेलुका पौने नौ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो। लगत्तै यात्रु सहित उक्त विमान ९ बजेर चार मिनेटमा काठमाण्डू फर्कियो।

सुरुवाती चरणमा उक्त विमानस्थलबाट भीएफआर (भिजुअल फ्लाइट रुल्स) उडान मात्रै गर्न मिल्ने अवस्था थियो।

विमानस्थलको क्यालिब्रेशन डेटा ज्यानुअरीमा प्रकाशित गर्ने र त्यसको ५६ दिन पश्चात् उक्त डेटा 'म्याचुअर’ भएपछि आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) विधिबाट सेवा सञ्चालन गर्न सकिने अधिकारीहरूले बीबीसीलाई बताएका थिए।

अन्तर्राष्ट्रिय उडान भीएफआर विधि प्रयोग गरेर गर्न सकिने अवस्था रहे पनि नयाँ विमानस्थल रहेकाले सेवा प्रदायकहरूले आईएफआर नै कुर्ने परिपाटीका कारण उक्त विधि प्रयोगको विषयलाई चासोका साथ हेरिएको थियो।

अरू कसले सुरु गर्दै छन् रात्रिकालीन उडान?

विमान

तस्बिर स्रोत, Getty Images

पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमका अनुसार विमानस्थल सञ्चालनमा आए देखि नै आईएफआर विधिबाट उडान गर्न सकिने अवस्था रहे पनि ‘म्याचुअरीटी पिरिअड’ कुरेर गत साताबाट रातको समयमा समेत उडान गर्न दिने व्यवस्था मिलाइएको हो।

त्यस लगत्तै वायुसेवा प्रदायहरूले आफ्नो तालिका मिलाउने काम सुरु गरेका थिए।

गौतमका अनुसार बुद्ध एअरले बिहीवारबाट पोखरामा रातको समयमा उडान गर्ने तालिका पेस गरिसकेको छ।

त्यस्तै रातको समयमा उसका चार वटा एटीआर-७२ विमान पोखरामै बास बस्ने उक्त कम्पनीले जानकारी गराएको छ।

आन्तरिक तर्फ यती एअरलाइन्स र श्री एअरलाइन्सले पनि रात्रिकालीन उडान सुरु गर्ने इच्छा देखाएका छन्।

यद्यपि उनीहरूले योजना पेस गरिसकेका छैनन्।

‘रात्रिकालीन उडानको माग उच्च’

विमानस्थल

गत बुधवार प्रतिकूल मौसमका कारण शौर्य एअरले नियमित समयमा उडान गर्न नसकेपछि रातको समयमा पोखराको यात्रा तय गरेको थियो।

उक्त उडानमा यात्रा गरेका सर्वसाधारणमा निकै उत्साह देखिएको अधिकारीहरू बताउँछन्।

देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा सन्ध्याकालीन गतिविधि बढी हुने हुँदा यात्रु सङ्ख्याको समस्या नपर्ने अनुमान गरिएको छ।

‘‘अर्को कुरा पोखरा–काठमाण्डू सेक्टरमा मानिसहरूको आउने जाने क्रम उच्च रहेकाले सर्वसाधारणलाई सहज हुने देखिन्छ,’’ गौतमले भने।

रात्रिकालीन उडानको सुरुवातले पर्यटन व्यवसायीहरू पनि उत्साहित रहेको र स्थानीय सरकारले पनि यसलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने वाचा गरेको अधिकारीहरू बताउँछन्।

red line
रेखा

कति बजेसम्म हुन्छ उडान?

भिजुअल विधिबाट उडान गर्नुपर्ने हुँदा यस अघि पोखराबाट ३ बजेर ५० मिनेटमा अन्तिम उडान गरिसक्नुपर्ने अवस्था थियो।

निकै ढिलो हुँदा साढे चार बजेसम्ममा विमान उड्न नसके अर्को दिन पर्खनुको विकल्प थिएन।

नयाँ विमानस्थल बनेपछि भने बिहानको छ बजेदेखि रातको १२ बजेसम्म उडान तालिका बनाउन कुनै समस्या नरहेको बताइएको छ।

‘‘१२ बजेपछि पनि उडान हुने भयो भने सेवा दिन हामी तत्पर छौँ। हाम्रो प्रविधि, डकुमेन्ट र जनशक्ति त्यसरी नै निर्धारण गरिएको छ,’’ गौतमले भने।

काठमाण्डू बाहेक पोखरामा देशका अन्य सहरबाट पनि रात्रिकालीन उडान गर्ने योजना बनाइएको अधिकारीहरूको भनाइ छ।

बुद्ध एअरले आगामी बिहीवारबाटै झापाको चन्द्रगढीबाट बेलुकाको समयमा पोखरामा उडान गर्ने योजना बनाएको छ।

त्यसबाहेक भैरहवा, धनगढी र नेपालगन्जबाट पोखरामा रात्रिकालीन उडान गर्न मिल्ने अवस्था रहेको गौतम बताउँछन्।

‘‘व्यापार जति बढ्छ जहाजहरूले स्वाभाविक रूपमा आफ्ना सेक्टर थप्दै जान्छन्। अहिले पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्जको सिट पाउनै गाह्रो हुने स्थिति छ,’’ उनको भनाइ छ।

पोखराबाट हाल भरतपुर र भैरहवामा दैनिक उडान भइरहेको छ। नेपालगन्जबाट दैनिक उडान नभए पनि यात्रुको चाप उच्च रहेको अधिकारीहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय उडानको चासो

विमान

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एअर

रातको समयमा आन्तरिक उडान सुरु भए पनि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्ने कुरामा धेरैको चासो रहेको पाइन्छ।

तर हालको अवस्था हेर्दा उक्त नयाँ विमानस्थलबाट निकट भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावना देखिँदैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार केही अन्तर्राष्ट्रिय कम्पनीहरूले पोखराबाट उडान गर्ने विषयमा चासो देखाए पनि औपचारिक रूपमा कसैले अनुमति माग गरेका छैनन्।

स्वदेशी कम्पनीहरूमध्ये बुद्ध एअरले भने गत डिसेम्बरमै पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया थालिसकेको छ।

बुद्धलाई भारतमा उडान गर्न दिनका लागि अनुमति माग गर्दै प्रस्ताव लगिए पनि हालसम्म त्यसको जवाफ नआएको प्राधिकरणको भनाइ छ।

त्यसको कारणबारे प्राधिकरण अनभिज्ञ देखिन्छ।

‘‘हामीले सिफारिस गरेका छौँ। परराष्ट्र मन्त्रालयले पनि सिफारिस गरेको छ र भारतस्थित नेपाली दूतावासले पनि पहल गरिरहेको छ। तर (अनुमति) प्राप्त भएको छैन मात्रै भन्न सक्ने अवस्था छ मैले," निरौलाले भने।

चिनियाँ आर्थिक सहायता तथा प्रविधिमा निर्मित विमानस्थल भएकाले त्यसलाई भारतले कसरी हेर्छ भन्ने चासोको विषय रहने जानकारहरू बताउँछन्।

विमान
तस्बिरको क्याप्शन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

बुद्ध एअरले सुरुमा पोखरालाई बनारससँग जोड्ने अनि भविष्यमा दिल्ली र देहरादूनमा पनि उडान गर्ने योजना बनाएको प्राधिकरणले जनाएको छ।

नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई पनि आफूहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि आग्रह गरेको र त्यसमा उनीहरूको प्रतिक्रिया सकारात्मक रहे पनि प्रक्रिया नबढेको निरौलाले जानकारी दिए।

अन्तर्राष्ट्रिय तर्फ जजिरा एअर र कोरिअन एअरले उडानका लागि प्रारम्भिक अध्ययनको काम थालेका छन्।

गौतमका अनुसार फ्लाई दुबई, थाई स्माइल र कतार एअरवेजले पनि व्यावसायिक सम्भावना हेरिरहेका छन्।

‘‘तर आइस ब्रेकर (सुरु गर्ने कोही) जरुरी छ। एउटा सुरु भएपछि यहाँ व्यवसाय छ भन्ने हुन्छ,’’ गौतमले भने।

विमानस्थलको क्षमता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको बताइएको छ।

त्यहाँ एक पटकमा तीन वटा अन्तर्राष्ट्रिय विमान र ठूलासाना ४-४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्ने अधिकारीहरूको भनाइ छ।

धावन मार्ग २,५०० मिटर रहेको विमानस्थललाई ठूला विमानहरूतर्फ एअरबस ए३२०, बोइङ ७३७-७०० सिरिज वा बोइङ ७५७-२०० जस्ता न्यारोबडी विमानका उडानका लागि अनुकूल मानिएको छ।