काठमाण्डूमा एअर अरेबियाको विमानको शौचालयमा बच्चा भेटिएको घटनाले उब्जाएको प्रश्न

एअर अरेबिया

तस्बिर स्रोत, Air Arabia

    • Author, सृजना श्रेष्ठ
    • Role, बीबीसी न्यूज नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाहबाट बिहीवार काठमाण्डू आइपुगेको एअर अरेबियाको विमानमा एक नवजात शिशु मृत अवस्थामा फेला परेपछि त्यसबारे विभिन्न प्रश्न उठेका छन्।

कुवेतमा करिब साढे तीन वर्ष काम गरेर शारजाह हुँदै नेपाल फर्कँदै गरेकी करिब ३० वर्षीया महिलाले सो शिशुलाई विमानको शौचालयमा जन्म दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

नेपाल आएका अन्य सबै यात्रुहरू अध्यागमनतिर प्रस्थान गरेपछि विमानका कर्मचारीले घटनाबारे थाहा पाए र विमानस्थल कर्मचारीलाई खबर गरेका थिए।

विमान सरसफाइ गर्ने क्रममा एउटा शौचालयमा शिशुजस्तो देखिने केही शङ्कास्पद चिज भेटिएपछि प्रहरीलाई बोलाइएको थियो। 

प्रहरी के भन्छ?

विमानको शौचालयमा आठदेखि नौ महिना पुगेको एउटा शिशु सालनालसहित मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ।

प्रारम्भिक अनुसन्धानमा ती महिलाले विमानको शौचालयमा नै बच्चा जन्माएको प्रहरीले जनाएको छ।

“हामीलाई दिएको बयानमा ती महिलाले आफूले विमानमा बच्चा जन्माएको स्वीकारेकी छन्,“ महानगरीय प्रहरी परिसर गौशालाका नायब प्रहरी उपरीक्षक केशवकुमार थेबेले बीबीसी न्यूज नेपालीलाई बताए।

प्रहरीले तत्काल विमानस्थलमा निगरानी बढाएर “उनको स्थिति र हाउभाउका आधारमा” उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताएको छ।

प्रसवपछिको स्वास्थ्य अवस्थाका कारण उनलाई हाल काठमाण्डूको एउटा अस्पतालमा राखिएको र मृत शिशुको पनि परीक्षण गर्न पठाइएको प्रहरीको भनाइ छ।

अनुत्तरित प्रश्नहरू

बच्चा जन्माउने अन्तिम अवस्थातिर रहेकी महिलालाई जहाजमा चढ्न कसरी दिइयो होला?

यदि जिउँदो बच्चा जन्मेको भए जन्मिने वित्तिकै बच्चाले रोएको आवाज कसैले सुने कि सुनेनन्?

बच्चा जन्माउनु अघिको प्रसव पीडामा रहेकी महिलाको अवस्था विमान यात्राभर कस्तो थियो होला?

थेबे भन्छन्, “गर्भावस्थाको त्यस्तो क्षणमा उनलाई कसरी बोर्डिङ गर्न दिइयो भनेर हामी आश्चर्यचकित छौँ। उनले शायद गर्भ भएको अवस्था लुकाएर पो आएकी थिइन् कि?"

प्रहरीले यो घटना पहिलो भने नभएको बताएको छ।

सामान्यता एअरलाइन्सले ३६ हप्ता कटेकी गर्भवती महिलालाई उडानका लागि निरुत्साहित गर्छ। तर यस विषयमा हरेक एअरलाईन्सको आआफ्नै नियम हुन्छ।

बुधवार शौचालयमा बच्चा जन्माएकी नेपाली महिलाको हकमा के भएको हो भनेर हामीले एअर अरेबियालाई इमेलमार्फत् सम्पर्क गरेका थियौँ। तर हालसम्म जबाफ प्राप्त भएको छैन।

‘सामाजिक सुरक्षाको अभावका कारण महिला कामदार यसो गर्न बाध्य छन्’

कुवेतमा करिब साढे तीन वर्ष काम गरेर नेपाल फर्किएकी भनिएकी महिलाको सन्दर्भले अहिले धेरै सामाजिक प्रश्नहरू उब्जाएको छ।

आप्रवासी महिला कामदार गर्भवती भएर स्वदेश फर्कनु असामान्य नभएको तर यस्ता घटना किन भइरहन्छन् भनेर बहस गरिनुपर्ने महिला कामदारको विषयकी जानकार मञ्जु गुरुङ बताउँछिन्।

“पहिलो कुरा अरब राष्ट्रहरूमा महिला कामदारहरू गर्भवती हुनु कानुनविपरीत हो। हामीले बुझ्नुपर्ने दोस्रो कुरा भनेको नेपालको सामाजिक सुरक्षा र त्यस्ता महिलाको पारिवारिक पृष्ठभूमि हो,” गुरुङले बताइन्।

उनका अनुसार यस्तो घटनाको पछाडि नेपालमा एकल आमाले भोग्ने समस्या, आमाको नामबाट बच्चाको नागरिकता लिन हुने समस्या, समाजले हेर्ने दृष्टिकोण सामाजिक सुरक्षा लगायतका कारण छन्।

“हामीले पीडितलाई गाली गर्ने र दोष लगाउने भन्दा पनि उनीहरूको गोपनीयता र सामाजिक सुरक्षामा ध्यान दिन सक्यौँ भने यस्ता घटना कम हुन सक्छन्,” उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।