प्रेम प्रस्ताव राख्नदेखि प्रधानमन्त्रीलाई गाली गर्न ह्याक भइरहेका डिजिटल बोर्ड

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

हातैले लेखेर राखिएका परम्परागत बोर्डहरूलाई विस्थापित गर्दै केही वर्ष यता सरकारी र निजी कार्यालयहरूमा देखिने डिजिटल बोर्ड ह्याक गरेर जथाभाबी सूचना राख्ने क्रम बढिरहेको अधिकारीहरूले बताएका छन्।

पछिल्लो साता मात्रै रुकुम पश्चिमको आठबिसकोट नापि कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर लेखियो 'आई लभ यू प्रमिला'। सरकारी कार्यालयको बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको यो पहिलो घटना थिएन।

गएको पुस २० गते कपिलवस्तु नगरपालिकाको नयाँ टोल चोकमा राखिएको डिजिटल बोर्डमा अनधिकृत पहुँच पुर्‍याएर प्रेम प्रस्ताव राख्नेको खोजी भइरहेको नगरपालिकाका अधिकारीहरूले बताएका छन्।

"त्यहाँ कसैले 'आई लभ यू ममता' लेखेर राखिदिएछ। हामीले त्यसपछि प्रहरीमा उजुरी पनि गर्‍यौँ। अहिलेसम्म कोही पक्राउ परेको खबर आएको छैन," कपिलवस्तु नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रभाकर सिंह चौधरीले बीबीसी न्यूज नेपालीसँग भने।

कपिलवस्तुको उक्त चोकको बोर्ड ह्याक भएको विषय सामाजिक सञ्जालमा 'भाइरल' बन्यो, खासमा प्रेम प्रस्तावका लागि सरकारी कार्यालयका यस्ता बोर्ड ह्याक गर्ने प्रवृत्तिकै सुरुआतका रूपमा देखिएको अधिकारीहरू बताउँछन्।

त्यसको एक महिनाभित्र कम्तीमा थप चारवटा सरकारी बोर्ड ह्याक गरेर प्रेम प्रस्तावका लागि दुरुपयोग भएको तथ्याङ्कले देखाउँछन्।

पुस अन्तिममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको गेटमै राखिएको डिजिटल बोर्ड ह्याक भयो। प्रहरी कार्यालयको सूचना राखिने डिजिटल बोर्डमा ह्याकरले 'आई लभ यू चित्रा' लेखिदिए।

पुस अन्तिममै गोरखा दरबारको प्रवेशद्वार नजिक राखिएको बोर्डमा पनि कसैले 'अञ्जली'का नाममा प्रेम प्रस्ताव छोडिदिए।

इलाम सदरमुकामको एक निजी घरमा राखिएको डिजिटल बोर्ड माघ पाँच गते ह्याक भयो। त्यसमा ह्याकरले 'रविना'का नाममा प्रेम प्रस्ताव लेखेर छोडिदिए।

राष्ट्र ब्याङ्क प्रादेशिक कार्यालय विराटनगरको कार्यालयको डिजिटल बोर्ड माघ २२ गते ह्याक गरेका व्यक्तिले पनि 'खुश्वु'का नाममा प्रेम प्रस्ताव राखेर छोडिदिए।

"ह्याक गरेका व्यक्तिले डिजिटल बोर्डको पासवर्ड चाहिँ परिवर्तन नगरेका कारण हामीले त्यसमा फेरि पुरानै सूचना राख्न सक्यौँ," कपिलवस्तु नगरपालिकाका सूचना प्रविधि अधिकृत चौधरी भन्छन्।

डिजिटल बोर्डमा राजनीतिक नारा

रुकुमको नापि कार्यालयमा डिजिटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएकै दिन मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको बोर्डमा चाहिँ कसैले 'राजा आउ देश बचाउ' भन्ने नारा लेखिदियो।

राजसंस्था पुनर्स्थापना पक्षमा प्रदर्शनहरू चलिरहँदा सरकारी कार्यालयकै बोर्डमा कसैले यस्तो नारा लेखिदिएको थियो।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारी कदमको विरोध गर्न पनि डिजिटल बोर्डकै प्रयोग भएको घटनाक्रमले देखाउँछन्।

सरकारले उक्त निर्णय लिए लगत्तै चैत्र ११ गते विद्युत् प्राधिकरण चितवन कार्यालयको बोर्ड ह्याक गरेर प्रधानमन्त्रीविरुद्ध गालीगलौजयुक्त शब्द लेखिएको थियो।

त्यसको दुई दिनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै रहेको काठमाण्डू महानगरपालिका वडा नम्बर तीनमा रहेको डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्रीलाई गाली गरियो। त्यही दिन ठमेलस्थित सरस्वती क्याम्पसको डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्रीको विरोध गरिएको सूचना राखिएपछि प्रधानमन्त्री समर्थित विद्यार्थीले बोर्ड नै तोडफोड गरिदिए।

किन सहजै ह्याक हुन्छन् डिजिटल बोर्ड

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थी पछिल्लो समय डिजिटल बोर्डमा अनधिकृत पहुँच र दुरुपयोग सुरक्षा चिन्ताको विषय बनिरहेको बताउँछन्।

"डिजिटल बोर्ड जहाँ-जहाँ ह्याक भएका छन् त्यहाँ लगइन चाहिँ सुरुमा जुन हुन्छ त्यही प्रयोग भइरहेको पाइएको छ," अवस्थी भन्छन्।

"बोर्ड बिक्रेताले ल्याएर राखिदिन्छ, सूचना राख्न सिकाइदिन्छ तर त्यसको डिफल्ट पासवर्ड परिवर्तन नगर्दा जो कोहीले बोर्डमा पहुँच पाउँछ।"

चीनबाट आयात भइरहेका यस्ता सबै बोर्डहरूमा सुरुमा एउटै पासवर्ड हुने भएका कारण यसबारे सामान्य जानकारी भएका व्यक्तिले त्यसमा पहुँच पाउन सक्ने विक्रेताहरू बताउँछन्।

सन् २०१७ देखि नेपालमा डिजिटल बोर्डको बिक्री गर्दै आएको बताउने हाई टेक लेड डिस्प्ले प्रालिका सञ्चालक हरि न्यौपाने डिजिटल बोर्ड राखिएका नजिकको क्षेत्रबाट 'हटस्पट'मार्फत् मोबाइलबाटै त्यसमा पहुँच पाउन सकिने बताउँछन्।

"मास्टर पासवर्ड परिवर्तन गरिएको छैन भने सामान्य मोबाइल एपबाटै यसमा राखिने सूचना हेरफेर गर्न मिल्छ," उनले भने।

केही वर्षअघि आफ्नो कम्पनीबाट जडान गरिएको बोर्ड ह्याक भएको गुनासो आएपछि आफूहरूले कम्पनीबाटै पासवर्ड राखेर पठाउन थालेको उनले दाबी गरे।

कपिलवस्तुमा आफूले बिक्री गरेको बोर्ड ह्याक भएपछि बुटवलस्थित एमएसएलईडीका सञ्चालक सुरज खत्रीले पनि सुरक्षा सावधानी बढाएको बताए।

"त्यहाँ जडान गर्ने प्राविधिकहरूले गल्ती गरेछन्। अहिले हामीले यसमा आफ्नै सफ्टवेअर बनाउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छौँ," उनले भने।

ह्याक हुनबाट कसरी जोगाउने

साइबर ब्यूरोका प्रवक्ता अवस्थी यस्ता बोर्डहरू जडानलगत्तै पासवर्ड परिवर्तन गर्ने उपाय नै ह्याक हुनबाट जोगिने भरपर्दो तरिका रहेको बताउँछन्।

त्यसमा उपभोक्ता वा बोर्ड राख्ने कार्यालय र बोर्डका विक्रेताहरू दुवैको सक्रियता आवश्यक रहेको उनी बताउँछन्।

"सम्बन्धित कार्यालयले पासवर्ड परिवर्तन गर्ने बित्तिकै ह्याकर छिर्न पाउँदैन," उनी भन्छन्।

"एडमिनको पासवर्ड बलियो राख्ने नै यसबाट जोगिने उपाय हो।"

ह्याकर पत्ता लगाउन चुनौती

सुदूरपश्चिम प्रदेश प्रहरीले आफ्नै कार्यालयको बोर्ड ह्याक गर्नेलाई अहिलेसम्म पहिचान गर्न सकेको छैन।

नेपाल प्रहरीले बालुवाटार क्षेत्रको वडा कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध अपशब्द सहितको नारा राखिएको घटनाबारे प्रहरी मुख्यालयको सूचना प्रविधि निर्देशनालयबाटै अनुसन्धान गरिरहेको छ।

यस्ता ह्याकरहरूको पहिचान गर्ने कैयौँ उपायमध्ये एक बोर्ड राखिएको क्षेत्र आसपासका सीसीटीभी दृश्य रहेको साइबर ब्यूरोका अवस्थी बताउँछन्।

तर कतिपय घटनामा प्रहरीले सीसीटीभी दृश्यबाट पनि ह्याकर पहिचान गर्न नसकेका उदाहरण छन्।

करिब दुई वर्षअघि ललितपुरको बल्खु पुल नजिकै जनचेतनाका लागि राखिएको डिजिटल बोर्ड ह्याक गरेर 'अपशब्द' राख्ने व्यक्तिको खोजीमा प्रहरीले लामो समय खर्चिएको महानगरीय प्रहरी प्रभाग सानेपाकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक सचिता थापामगर बताउँछिन्।

"तीन जना मास्क लगाएका युवाहरूले बोर्ड राखिएको पोल छेउमा मोबाइल चलाइरहेको सीसीटीभीमा देखिएको थियो। हामीले एक जनालाई भेट्टायौँ पनि तर उनी त्यसमा संलग्न भएको कुनै प्रमाण भेटिएन," उनले भनिन्।

ह्याकर पत्ता लगाउन चुनौती भए पनि ह्याकर भेट्टाउन असम्भव नभएको उनी बताउँछन्।

"उपकरणको विस्तृत फरेन्सिक गर्ने, कम्पनीबाटै विवरण लिने उपायहरू पनि हुन सक्छन्," उनी भन्छन्।

साइबर ब्यूरोका प्रवक्ता अवस्थी यस्तो कसुरमा दोषी ठहर भएका व्यक्तिलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कम्प्युटर सामग्रीमा अनधिकृत पहुँचको कसुरमा अधिकतम दुई लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।