जाजरकोटमा फेरि ५.८ म्याग्निट्यूडको परकम्प, स्थानीय त्रसित र थप घाइते

भूकम्पपछि आत्तिएकी महिला

तस्बिर स्रोत, Reuters

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर सोमवार अपराह्न गएको परकम्पका कारण थप घरहरू भत्किएको र केही मानिसहरू घाइते भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

सोमवार साढे चार बजेतिर बारेकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ५.८ म्याग्निट्युडको भूकम्पको धक्का वरपरका जिल्लाहरूसम्म महसुस भएको स्थानीयले बताएका छन्। 

बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले सो क्षेत्रमा थप क्षती भएको बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

“अहिले पनि केही घरहरू भत्किए र केही मानिसहरू घाइते भएका छन्। एक जना बच्चा गम्भीर घाइते छन्। थप उपचारका लागि आधारभूत अस्पतालबाट कहाँ पठाउने भनेर म काम गर्दैछु,” उनले टेलिफोनमा भने।

भूकम्पका कारण यसअघि नै घर बाहिर बसिरहेका मानिसहरू थप आतङ्कित भएको र घरभित्र पस्न सक्ने अवस्था नभएको उनले बताए।

भूकम्प

तस्बिर स्रोत, Reuters

शुक्रवार गएको भूकम्पका परकम्पहरू कम भएपछि मानिसहरूले आफ्नो घरका भग्नावशेषबाट सामानहरू निकाल्न सुरू गरेका थिए।

“यो अहिलेको परकम्पले थप क्षति गरिसकेपछि थप एक खालको आतङ्क यहाँ सिर्जना भएको छ,” उनले थपे।

“निरन्तरको परकम्पले त्रास बढिरहेको र मानिसहरू घर देख्दा डराउने अवस्था भएको छ।”

उनले राहत पुग्ने क्रम जारी भए पनि ढिलो भएको बताए।

“निकै खालका समस्या छन्। यहाँका मानिसहरूको धैर्यतामाथि अन्याय भएको हो कि भन्ने महसुस भएको छ,” उनले भने।

गत शुक्रवार राति उक्त स्थानमै केन्द्रबिन्दु भएको ६.४ म्याग्निट्युडको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा शुक्रवारको भूकम्पछि ३०० वटाभन्दा बढी परकम्पहरू गइसकेका छन्।

“पहिलेकै स्थानमा केन्द्रबिन्दू भएको भूकम्प गएको छ। त्यो पहिलेकै भुँइचालोको परकम्प हो,” केन्द्रका सिस्मोलजिस्ट डा. चिन्तन तिम्सिनाले बीबीसीसँग भने।

“यो चार म्याग्निट्युडमाथिको आठौँ परकम्प हो।”

भूकम्प प्रभावितको अवस्था

भूकम्प पीडित

उक्त भूकम्प प्रभावितहरूले अत्यावश्यक राहत सामग्रीहरू समेत नपाएको गुनासो आइरहेका बेला अर्को ठूलो भूकम्पको धक्का महसुस गरिएको हो।

उक्त क्षेत्रमा भूकम्पबाट प्रभावित स्थानीयवासीहरूले आफूहरू पुनर्स्थापना र राहतको पर्खाइमा रहेको बताएका छन्।

शुक्रवारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन्।

कुल ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन्।

यसअघि सरकारले भूकम्पमा परी १५७ जनाको ज्यान गएको बताएको थियो।

तर केही मृतकको सङ्ख्या दोहोरिन गएकोले सच्याउँदा १५३ देखिएको अधिकारीहरूले बताएका छन्।

भूकम्पबाट भएको भौतिक क्षतिको वास्तविक विवरण आउन अझै केही समय लाग्ने प्राधिकरणका प्रवक्ता खड्काले बताए।

नेपाल प्रहरीले आइतवार साँझ उपलब्ध गराएको विवरण अनुसार करिब एक हजारवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब २,९०० घरमा आंशिक क्षति पुगेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।