रुसी सैनिक जेनरलको हत्या प्रयासका आरोपित दुबईमा गिरफ्तार

युक्रेनले संलग्नता अस्वीकार गरेको छ

तस्बिर स्रोत, Russian Defence Ministry

पढ्ने समय: ३ मिनेट

रुसका एक वरिष्ठ सैनिक जेनरलको हत्या प्रयासका आरोपित बन्दुकधारीलाई दुबईमा गिरफ्तार गरिएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

रुसी सैनिक गुप्तचर निकायका उपप्रमुख भ्लादिमिर एलेक्सिएभ शुक्रवार मस्कोमा गोली लागेर घाइते भएका थिए।

मुख्य सन्दिग्ध रुसी नागरिकलाई संयुक्त अरब एमिरेट्सका अधिकारीहरूको सहयोगमा गिरफ्तार गरिएको र रुस सुपुर्द गराउन लागिएको अधिकारीहरूले बताएका छन्।

शुक्रवारको गोलीकाण्डका एक मतियारलाई मस्कोमा गिरफ्तार गरिएको बताइएको छ।

आफ्ना सैनिक जेनरलमाथि गरिएको आक्रमणमा युक्रेनको संलग्नता रहेको रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले आरोप लगाएको छ, तर किएभले उक्त आरोप अस्वीकार गरेको छ।

'होस फर्कियो'

गोली लागी घाइते भएका लेफ्टिनन्ट जेनरल एलेक्सिएभको सफल शल्यक्रियापछि होस फर्किएको रुसी सञ्चारमाध्यमले जनाएका छन्।

मस्कोको पश्चिमोत्तर बाहिरी भेगमा शुक्रवार बिहान गोली लागेर गम्भीर अवस्थामा पुगेका एलेक्सिएभलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

एलेक्सिएभको "ज्यान जाने खतरा टरेको कुरा सावधानीपूर्वक भन्न सकिने" चिकित्सकहरूलाई उद्धृत गर्दै रुसी सरकारी समाचारसंस्था तासले शनिवार जनाएको थियो।

एउटा स्थानीय पत्रिकाले अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार एलेक्सिएभलाई तीनवटा गोली लागेको थियो।

भोलोकोलाम्स्क राजमार्गनजिक रहेको एउटा भवनमा बस्दै आएकी एक महिलाले "कैयौँ" राउन्ड गोलीको आवाज सुनेर आफू ब्युँझेको र त्यसपछि अर्का छिमेकीले सहयोगका लागि गुहार माग्दै गरेको आफूले सुनेको समाचारसंस्था रोएटर्सलाई बताइन्।

घटनापछि एलेक्सिएभलाई मस्कोस्थित एउटा अस्पताल पुर्‍याइएको थियो, जहाँ उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।

"त्यसपछि एलेक्सिएभलाई कोमामा राखियो। अहिले उहाँको होस फर्किसकेको छ। यो अवस्थामा उनको ज्यान जाने खतरा टरिसकेको कुरा सावधानीपूर्वक भन्न सकिन्छ," उपचारमा संलग्न स्रोतलाई उद्धृत गर्दै तासले उल्लेख गरेको छ।

फौजदारी मुद्दा

हत्या गर्ने प्रयास गरेको अभियोगबारे फौजदारी मुद्दा अगाडि बढाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

युक्रेनमाथि रुसले सन् २०२२ को फ्रेबुअरीमा पूर्णस्तरको अतिक्रमण थालेयता मस्कोनजिक निशाना बनाइएका ६४ वर्षीय एलेक्सिएभ रुसका उच्च सैनिक अधिकारी हुन्।

रुसको जीआरयू सैनिक गुप्तचरको दोस्रो वरीयताक्रममा रहेका एलेक्सिएभले युक्रेन युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

सिरियाको गृहयुद्धमा मस्कोको सैनिक हस्तक्षेपमा निर्वाह गरेको भूमिकाका लागि उनलाई "रुसी नायक" नामक पदवीले सम्मान गरिसकिएको छ।

सन् २०१८ मा यूकेमा एउटा आक्रमणमा संलग्न रहेको अभियोगमा एलेक्सिएभ युरोपेली सङ्घ र यूकेको प्रतिबन्धमा परिसकेका छन्।

सन् २०२३ मा छोटो र रक्तपातपूर्ण विद्रोह गरेका वाग्नर नामक भाडाको लडाकु समूहका प्रमुखसँग वार्ताका निम्ति पनि एलेक्सिएभलाई पठाइएको थियो।

शुक्रवार मस्कोमा गरिएको आक्रमणको कसैले जिम्मा लिएको छैन, तर रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेनमाथि आरोप लगाउँदै "वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको" टिप्पणी गरेका छन्।

युक्रेनकी विदेशमन्त्री आन्द्री सिबिकाले शुक्रवारको गोलीकाण्डसँग किएभको कुनै लेनादेना नभएको समाचारसंस्था रोएटर्सलाई बताइन्।

विगतमा रुसी सैनिक अधिकारीहरूमाथि भएका केही आक्रमणहरूको चाहिँ किएभले जिम्मा लिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।