पश्चिमा विश्वले रुसलाई सम्मानजनक व्यवहार गरे अरु युद्ध नगर्ने पुटिनको वाचा

पुटिन

तस्बिर स्रोत, SPUTNIK/KREMLIN/EPA/Shutterstock

    • Author, पोल किर्बी र लोरा गोजी
  • पढ्ने समय: ३ मिनेट

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई सम्मानपूर्वक व्यवहार गरिए युक्रेनपछि अर्को कुनै युद्ध नहुने बताएका छन्।

मस्कोले युरोपेली देशहरूमा आक्रमण गर्ने योजना बनाएको भन्ने दाबीलाई उनले "बेतुकका" भनेर खारेज गरेका छन्।

टेलिभिजनमा प्रसारित करिब साढे चार घण्टाको एक कार्यक्रममा बीबीसीका स्टीभ रोजन्बर्गले उनलाई प्रश्न सोधेका थिए।

रोजन्बर्गले युक्रेनमा जारी पूर्ण युद्धका लागि पुटिनले प्रयोग गर्ने शब्दावलीकै प्रयोग गरेर के त्यहाँ नयाँ "विशेष सैन्य कारबाही" हुँदैछ भनि सोधेका थिए।

"यदि तपाईँले हामीलाई सम्मानपूर्वक व्यवहार गर्नुभयो भने र यदि तपाईँले हाम्रो हितलाई हामीले सधैँ तपाईँको हितलाई सम्मान गर्ने प्रयास गरेझैँ गर्नुभयो भने कुनै कारबाही हुँदैन," उनको जोड थियो।

यसै महिनाको सुरुमा पुटिनले रुसले युरोपसँग युद्ध गर्ने योजना नबनाएको तर युरोपेलीहरूले चाहेको खण्डमा भने आफ्नो देश "अहिल्यै" तयार रहेको बताएका थिए।

पुटिनलाई आएका थिए तीस लाखभन्दा धेरै प्रश्न

टेलिभिजन कार्यक्रममा पुटिन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुसी सरकारी टिभीले उक्त कार्यक्रमका लागि तीस लाखभन्दा बढी प्रश्नहरू प्राप्त भएका दाबी गरेको छ

शुक्रवार बीबीसीका रुस सम्पादकको प्रश्नको जवाफ दिँदै पुटिनले "यदि तपाईँले नेटोको पूर्वतिर विस्तार गरेर हामीलाई धोका दिएजस्तै हामीलाई धोका दिनुभएन भने" त्यस्तो सर्तमा थप रुसी आक्रमणहरू नहुने बताए।

लामो समयदेखि उनले नेटोमाथि सोभियत सङ्घको पतन हुनुअघि तत्कालीन सोभियत नेता मिखाइल गोर्बाचेभलाई सन् १९९० मा दिइएको पश्चिमी वाचाबाट पछि हटेको आरोप लगाउँदै आएका छन्।

मस्कोको एक हलमा एकोहोरो चलेको "डाइरेक्ट लाइन" कार्यक्रममा रुसी जनता र रुसभरका पत्रकारहरूका प्रश्नहरू संयुक्त रूपमा लिइएको थियो।

त्यहाँ पुटिन सन् २०१४ मा कब्जा गरिएको क्राइमियासहित युक्रेनको कब्जा गरिएका क्षेत्रहरूलाई समेटेको विशाल रुसी नक्सामुनि बसेका थिए।

रुसी सरकारी टिभीले उक्त कार्यक्रमका लागि तीस लाखभन्दा बढी प्रश्नहरू प्राप्त भएका दाबी गरेको छ।

उक्त कार्यक्रमको केही घण्टापछि युक्रेनी अधिकारीहरूले युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा सात जना मारिएको र थप १५ जना घाइते भएको बताएका छन्।

युक्रेनमा रुसी आक्रमण सन् २०२२ को फेब्रुअरीमा सुरु भएको थियो।

युक्रेन युद्धको छाया

"डाइरेक्ट लाइन" कार्यक्रम धेरैजसो निकै योजनाबद्ध तरिकाबाट प्रस्तुत गरिने भए तापनि आमजनताबाट आएका केही आलोचनात्मक टिप्पणीहरू ठूलो पर्दामा देखा परेका थिए।

जसमा एकजनाले उक्त कार्यक्रमलाई "सर्कस" भनेर उल्लेख गरेका थिए अर्का एकजनाले इन्टरनेट अवरोधलाई लिएर आक्रोश व्यक्त गरेका थिए। त्यसैगरी पिउने पानीको खराब गुणस्तरबारे समेत त्यहाँ प्रश्न प्रस्तुत गरिएको थियो।

अधिकारीहरूले युक्रेनी ड्रोन आक्रमणलाई मोबाइल इन्टरनेट अवरोध देखा पर्नुको कारण भनेका छन्।

पुटिनले रुसको कमजोर बनिरहेको अर्थतन्त्रलाई पनि सम्बोधन गरे। मूल्यवृद्धिका साथै भ्याट बढ्न लागेको विषय पनि त्यहाँ उठेको थियो। राष्ट्रपतिलाई प्रेषित एक सन्देशमा लेखिएको थियो: "सबै कुरामा अचाक्ली भइरहेको मूल्यवृद्धिलाई रोक्नुहोस्।"

पुटिन

तस्बिर स्रोत, SPUTNIK/KREMLIN/EPA/Shutterstock

क्रेमलिनले नियमित रूपमा देशको अर्थतन्त्र सहज अवस्थामा रहेको उजागर गर्न वर्षको अन्त्यमा हुने यस कार्यक्रमलाई प्रयोग गर्छ। पुटिन त्यहाँ बोल्दै गर्दा रुसको केन्द्रीय ब्याङ्कले ब्याजदर घटाएर १६ प्रतिशतमा झार्ने घोषणा गर्‍यो।

त्यहाँ विदेश नीति तथा आन्तरिक मामिलाका प्रसङ्गहरू पनि उठे तर युक्रेनमा झण्डै चार वर्षदेखि चलिरहेको पूर्ण आकारको युद्धको विषय कुनै बेला पनि टाढिएन। उक्त विषय प्रायः प्रश्नहरूसँग जोडिएको थियो।

पुटिनले युक्रेन युद्ध "शान्तिपूर्ण रूपमा" अन्त्य गर्न "तयार र इच्छुक" भएको दाबी गरे तापनि सम्झौताको कमै सङ्केत दिए।

उनले सन् २०२४ को जुन महिनामा गरेका आफ्ना भाषणमा उल्लेख गरेका सैद्धान्तिक कुराहरूप्रति पुन: जोड दिए। त्यसबेला उनले युक्रेनी सेनालाई रुसले आंशिक रूपमा कब्जा गरेका चार क्षेत्रहरू छाड्न र किएभलाई नेटोमा सामेल हुने प्रयत्न त्याग्न माग गरेका थिए।

रुसको मुख्य मागहरूमध्ये युक्रेनको पूर्वी डोनबासमाथिको पूर्ण नियन्त्रण हो जसमा रुसले कब्जा गर्न नसकेको डोनेत्स्क क्षेत्रको लगभग २३ प्रतिशत भूभाग समावेश छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।