रुसले युरोपसँग युद्ध नचाहने तर 'लड्न तयार' रहेको पुटिनको भनाइ

तस्बिर स्रोत, Reuters
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्यको लागि युरोपको माग आफूलाई "स्वीकार्य नरहेको" बताएका छन्। मस्कोमा दिएको एक मन्तव्यमा उनले थपे: "हामी युरोपसँग लड्ने छैनौँ, तर यदि युरोप हामीसँग लड्न चाहन्छ भने हामी अहिले तयार छौँ।"
यसैबीच राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफबीच युक्रेनको शान्ति योजनाको बारेमा मस्कोमा भएको वार्ता बिना उपलब्धि सकिएको छ।
रुसी वार्ताकारहरूले पाँच घण्टाको बैठकलाई उत्पादक र उपयोगी बताएका छन्।
तर क्रेमलिनका सहयोगी युरी उषाकोभले युक्रेनी क्षेत्रको सम्बन्धमा कुनै सम्झौता नभएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए।
उनले फ्लोरिडामा युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलहरूको बैठकपछि तयार पारिएको पछिल्लो मस्यौदा योजनाका अतिरिक्त रुसले थप चारवटा दस्ताबेज प्राप्त गरेको बताए।
विट्कफले अन्य पक्षहरूसँग थप परामर्श गर्ने भन्दै रुस छाडेको बुझिएको छ।
रुसले सन् २०१४ मा गाभिएको क्राइमिया र साढे तीन वर्षअघि आक्रमण गरेयता बलपूर्वक कब्जा गरिएका अन्य सम्पूर्ण क्षेत्रहरूसहित युक्रेनी क्षेत्रहरूको कानुनी मान्यताको माग गरेको छ।
पाँच घण्टा लामो वार्ता

तस्बिर स्रोत, Reuters
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ वार्ताकार बीचको पाँच घण्टाको छलफल युक्रेन शान्ति सम्झौता सुरक्षित गर्ने सम्बन्धमा कुनै सफलता हासिल गर्न विफल भएको देखिन्छ।
क्रेमलिनका प्रवक्ताले मस्को बैठक "रचनात्मक" भएको बताए तापनि उक्त शान्ति योजनाका केही अंशहरू रुसलाई अस्वीकार्य रहेको बताए।
युद्ध अन्त्य गर्ने उद्देश्यले हप्तौँको गहन कूटनीतिक प्रयासहरूपछि ट्रम्पका विशेष दूत स्टीभ विट्कफ र ज्वाइँ जारेड कुश्नर मङ्गलवारको उक्त वार्तामा सहभागी भएका थिए।
अमेरिकी टोलीले मस्को छाडेयता कुनै टिप्पणी गरेको छैन।
सो वार्ताअघि मङ्गलवार पुटिनले किएभ र युरोपले अमेरिका समर्थित शान्ति योजनाको मस्यौदामा प्रस्ताव गरिएका परिवर्तनहरू अस्वीकार्य भएको बताएका थिए।
पुटिनले यदि युरोप "युद्धमा जान चाहन्छ र त्यो सुरु गर्छ भने हामी अहिले नै तयार छौँ," पनि भनेका थिए।
युक्रेन र उसका सहयोगीहरू अमेरिकालाई शान्ति सम्झौताको मस्यौदा संशोधन गर्न पैरवी गरिरहेका छन्।
ह्वाइट हाउसले त्यसमा छिटो सहमति जुटाउन खोजेको छ र क्रेमलिनले यसअघि नै त्यसमा विचार गर्न सकिने सङ्केत गरिसकेको छ।
गत नोभेम्बरमा सञ्चारमाध्यममा चुहिएपछि व्यापक रूपमा रुस पक्षमा देखिएको उक्त योजनामा हालैका सातामा कैयौँ परिवर्तनहरू भएका छन्।
युक्रेन के भन्छ?

तस्बिर स्रोत, Reuters
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनको बैठकपछि अमेरिकी टोलीले उक्त वार्ताका बारेमा आफूहरूलाई जानकारी गराउने अपेक्षा गरेको बताए।
यद्यपि विट्कफ र कुश्नर थप प्रत्यक्ष वार्ताका लागि किएभ वा अन्य युरोपेली राजधानीमा उड्नेछन् भन्ने कुरा स्पष्ट छैन।
क्रेमलिन वार्ताअघि मङ्गलवार नै बोलेका जेलेन्स्कीले "अहिले पहिले भन्दा बढी" युद्ध अन्त्य गर्ने अवसर रहेको तर शान्ति प्रस्तावका विषयवस्तुमा अझै पनि काम गर्न आवश्यक रहेको बताए।
"सबै कुरा आजको छलफलमा निर्भर गर्दछ," जेलेन्स्कीले आयरल्यान्डको औपचारिक भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए।
जेलेन्स्कीले "कुनै सरल समाधान नभएको" बताउँदै किएभले शान्ति छलफलमा भाग लिने र स्पष्ट सुरक्षा सुनिश्चितताहरूमा सहमति जनाउनुपर्ने आफ्नो देशको आग्रह दोहोर्याए।
त्यसो भनेर उनले नेटो सदस्यताजस्ता कुरा उठाउँदै आएका छन् जुन कदमको लामो समयदेखि रुसले विरोध गरेको छ र ट्रम्पले समेत त्यसको सम्भावना अस्वीकार गरेका छन्।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता दशौँ हजार सैनिकहरू मारिएका वा घाइते भएका छन् भने संयुक्त राष्ट्रसङ्घको विवरणमा १४,००० भन्दा धेरै सर्वसाधारणहरू मारिएका छन्।
रातमा प्रयोग गरिने ड्रोन वा क्षेप्यास्त्र हमलाबाट किन्डरगार्टेन, अस्पताल र आवासीय भवनहरूसहित नागरिकस्थल निशानामा पर्दै ध्वस्त वा व्यापक रूपमा क्षतिग्रस्त हुने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








