देशले मर्यादा गुमाउने युक्रेनी राष्ट्रपतिको चिन्तासँगै युरोपेली नेता वार्तामा अग्रसर

जेलेन्स्की

तस्बिर स्रोत, Zelensky/Telegram

तस्बिरको क्याप्शन, जेलेन्स्कीले आफूहरूको निम्ति इतिहासको सबैभन्दा कठिनमध्येको एउटा क्षण आएको बताएका छन्
    • Author, जेम्स चेटर र यारोस्लोफ लुकिफ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्नेबारे ह्वाइट हाउसको योजनालाई लिएर आफ्नो देशले अमेरिकी समर्थन गुमाउने जोखिम रहेको औँल्याएका छन्।

जेलेन्स्कीले शुक्रवार राष्ट्रलाई सम्बोधन गर्ने क्रममा युक्रेनले निकै कठिन विकल्पको सामना गर्नुपर्ने खतरा रहेको बताए। "या त मर्यादा या एक प्रमुख साझेदार गुमाउने जोखिम छ," उनले भने, "आज हाम्रो इतिहासको सबैभन्दा कठिन क्षणहरू मध्ये एक हो।"

अमेरिकी शान्ति योजना बाहिर चुहिएको छ। जसमा कियभले पहिले अस्वीकार गरेका प्रस्तावहरू छन्।

अहिले युक्रेनको नियन्त्रणमा रहेका पूर्वी क्षेत्रहरू छाड्ने, सेनाको आकार उल्लेखनीय रूपमा घटाउने र नेटोमा सामेल नहुने जस्ता बुँदा उक्त योजनामा छन्।

ती प्रावधानहरूलाई रुसतर्फ निकै नै झुकेको रूपमा हेरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती प्रस्ताव शान्ति स्थापनाको 'आधार' हुन सक्ने बताएका छन्।

पुटिनले शुक्रवार भएको सुरक्षा क्याबिनेट बैठकमा उक्त अमेरिकी शान्ति योजना मस्कोले प्राप्त गरेको जानकारी दिए। तर विस्तृत छलफल हुन बाँकी रहेको उनको भनाइ छ।

पुटिनले रुस 'लचकता देखाउन' चाहेको तर लडाइँका लागि पनि तयार रहेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शान्ति योजना जेलेन्स्कीले मन पराउनुपर्ने र अन्यथा युक्रेन र रुसबीच लडाइँ जारी रहने बताएका छन्।

युक्रेन वासिङ्टनले दिने गुप्तचरी खुफियाका साथै रुसको घातक हवाई आक्रमणहरूको प्रतिरोधको निम्ति हवाई प्रतिरक्षा प्रणाली सहित अमेरिकामा निर्मित उन्नत हतियारको आपूर्तिका लागि अमेरिकामाथि महत्त्वपूर्ण रूपमा निर्भर छ।

ट्रम्पका साथ जेलेन्स्की

तस्बिर स्रोत, Reuters

रुसले सन् २०२२ मा युक्रेनमाथि व्यापक अतिक्रमण सुरु गरेको थियो।

जेलेन्स्कीले कियभस्थित राष्ट्रपति कार्यालय अगाडि १० मिनेट लामो सम्बोधन गरेका छन्।

जसमा उनले '...हामीलाई कमजोर पार्न, हामीलाई विभाजित गर्न रहेको धेरै दबाब' सामना गर्नुपर्ने बताए, "शत्रु निदाइरहेको छैन।"

उनले युक्रेनीहरूलाई एकताबद्ध रहन आग्रह गरेका छन्। र, देशको राष्ट्रिय हितलाई ध्यानमा राख्नु पर्नेमा जोड दिए।

"हामी ठूलो स्वरमा बिचार व्यक्त गरिरहेका छैनौँ," उनी भन्छन्, "हामी शान्तपूर्वक अमेरिका र सबै साझेदारहरूसँग काम गर्ने छौँ… प्रस्तावित शान्ति योजनाका विकल्पहरू अघि सार्दै।"

युरोपेली नेताको चिन्ता र अग्रसरता

यस वर्षको सुरुमा यूके, फ्रान्स र जर्मनीका नेताहरूका साथ जेलेन्स्की

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यस वर्षको सुरुमा यूके, फ्रान्स र जर्मनीका नेताहरूका साथ जेलेन्स्की (फाइल फोटो)

जेलेन्स्कीका भनाइमा ब्रिटेनका प्रधानमन्त्री सर किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँ र जर्मन चान्सलर फ्रिड्रिख मेर्ट्सले टेलिफोन कुराकानीका क्रममा निरन्तर सहयोग गर्ने आश्वासन पनि दिएको जनाए।

युरोपेली नेता र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले कियभलाई किनारामा पन्छाइन लागेको भन्दै अप्रसन्नता प्रकट गरेका छन्।

ब्रिटिश प्रधानमन्त्री सर किअरले शुक्रवार अबेर भनेका छन् कि युक्रेनका सहयोगीहरू न्याय र शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छन्।

दक्षिण अफ्रिकामा शनिवारबाट सुरु हुने जी–२० शिखर सम्मेलन अघि उनले आफू र अन्य विश्व नेताहरूले 'वर्तमान प्रस्तावमाथि टेबलमा छलफल गर्ने' जानकारी दिए।

आफूहरूले 'शान्तिको निम्ति अर्को चरणको वार्ताका लागि ट्रम्पको योजनालाई कसरी सुदृढ बनाउन सकिन्छ भन्नेमा बिचार गर्ने' उनको भनाइ थियो।

जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र अमेरिकी आर्मी सेक्रेटरी ड्यान ड्रिस्कलसँग करिब एक घण्टा कुराकानी गरेको जानकारी दिए।

उनले युद्ध अन्त्य गर्ने ट्रम्पको प्रयासलाई युक्रेनले 'सधैँ सम्मान' गरेको बताएको पनि सुनाए।

उपराष्ट्रपति भान्सले ट्विट गर्दै शान्ति योजनाले युक्रेनीको सार्वभौमिकताको सुरक्षा गर्दै हत्या रोक्ने बताए।

पछिल्लो योजनाको मस्यौदामा युक्रेन तथा उसका युरोपेली साझेदारहरू सामेल छैनन्।

"कुनै पनि योजना सफल हुनका निम्ति युक्रेनीहरू तथा युरोपेलीहरू त्यसमा सहमत हुन आवश्यक छ," युरोपेली युनियनकी विदेश नीति प्रमुख काया कालासले भनिन्।

आफ्नो दोस्रो कार्यकाल आरम्भ गरेदेखि नै राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि विभिन्न अभियान थालेका छन्।

अलास्कामा पुटिनसँग शीर्ष भेटघाटका अतिरिक्त विशेष दूत विट्कफलाई कैयन् पटक मस्को भ्रमणमा पठाए। साथै उनले जेलेन्स्की तथा पश्चिमा देशका नेताहरूसँग पनि थुप्रै पटक छलफल गरेका थिए।

तर युद्ध थालिएको चार वर्ष पुग्न आँट्दा त्यसको अन्त्यबारे दुवै पक्षबीच ठूलै भिन्नता कायम छन्।

ट्रम्पले चेतावनी र पुटिको अडान

सैन्य पोसाकमा रहेका क्रेमलिनका नेता पुटिनले आफ्ना सैनिक कमान्डरहरूलाई भने, "त्यसमध्ये मुख्य हो- विशेष सैन्य कारबाहीको उद्देश्य बिना सर्त प्राप्त गर्नु हो।"

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, सैन्य पोसाकमा रहेका पुटिनले आफ्ना कमान्डरहरूलाई भने: विशेष सैन्य कारबाहीको उद्देश्य बिना सर्त प्राप्त गर्नु हो

ट्रम्पले वासिङ्टनमा रुससँग युक्रेनले 'छोटो समयमा' थप भूभाग गुमाउने चेतावनी दिएका छन्।

उनले शान्ति सम्झौताको निम्ति सहमत हुन युक्रेनलाई थ्याङ्क्सगिभिङको दिन नोभेम्बर २७ तारिखसम्म समय दिनु 'उचित' भएको बताए। तर सबै कुरा राम्ररी अघि बढेमा समय सीमा थप्न सकिने उनको भनाइ छ।

ह्वाइट हाउसमा शुक्रवार बोल्दै अमेरिकी राष्ट्रपतिले 'हामीलाई लाग्छ कि हामीसँग शान्ति प्राप्त गर्ने बाटो छ' भन्दै जेलेन्स्कीले 'त्यसलाई अनुमोदन गर्नुपर्ने' बताए।

वासिङ्टनले कियभमाथि उक्त योजना चाँडै स्वीकार गर्न दबाब दिइरहेको छ।

अमेरिकाले यस हप्ताको सुरुमा पेन्टागनका वरिष्ठ अधिकारीहरूलाई युक्रेनको राजधानी पठाएको छ।

यस्तो बेला रुसी राष्ट्रपति पुटिन भने युद्ध जारी राख्न दृढ रहेको देखिन्छन्।

ठूलो सङ्ख्यामा रुसी सैनिक मारिएको खबरहरूबीच पुटिनले बिहीवार त्यस्तो सङ्केत दिए।

"हामीसँग हाम्रा कामहरू छन्, हाम्रा लक्ष्यहरू छन्," सैन्य पोसाकमा रहेका क्रेमलिनका नेता पुटिनले आफ्ना सैनिक कमान्डरहरूलाई भने, "त्यसमध्ये मुख्य हो- विशेष सैन्य कारबाहीको उद्देश्य बिना सर्त प्राप्त गर्नु हो।"

रुसले दक्षिण–पूर्वी युक्रेनमा सानो क्षेत्र हासिल गरेको दाबी गरेसँगै २८ बुँदे अमेरिकी शान्ति योजना बाहिर आएको छ, जुन बेला जेलेन्स्कीले घरेलु सङ्कटको सामना गरिरहेका छन्।

त्यहाँ उच्च अधिकारीहरू १० करोड डलरको भ्रष्टाचार काण्डमा मुछिन पुगेका छन्।

रुसले हाल २० प्रतिशत युक्रेनी भूभागमा नियन्त्रण जमाएको छ। ठूलो क्षति बेहोरिरहेको भन्ने विवरणकाबीच पनि उसका सैनिक सुस्त गतिमा आक्रमण अग्र मोर्चातर्फ बढाइरहेकै छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।