युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ट्रम्पसँग 'सहमति' गरेको पुटिनको खुलासा

चीनमा आयोजित शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को एउटा बैठकमा सहभागी हुन बसेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन। उनको अगाडि राखिएको सङ्केतचिह्नमा रुसको नाम चिनियाँ, रुसी र अङ्ग्रेजी भाषामा लेखिएको छ

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, शाङ्घाई कोअपरेशन अर्गनाइजेशको शिखर सम्मेलनमा रुसी राष्ट्रपतिले युक्रेन युद्धबारे बोलेका हुन्

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा गत महिना अलास्कामा आयोजित बैठकमा आफू संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग "सहमति"मा पुगेको बताएका छन्।

तर उनले ट्रम्पले मध्यस्थता गर्ने शान्तिवार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बस्न आफू तयार भए नभएको केही खुलाएनन्। ट्रम्पले सोमवारको समयसीमा तोक्दै पुटिनलाई जबाफ दिन भनेका थिए।

चीनमा आयोजित एउटा शिखर सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको प्रतिरक्षा गरे। युद्धका लागि उनले पुनः एक पटक पाश्चात्य देशहरूमाथि दोषारोपण गरे।

अलास्कामा ट्रम्प र पुटिनबीच भएको भेटवार्तापछि अमेरिकाका विशेषदूत स्टीभ विट्कफले सम्भावित शान्ति सम्झौताअन्तर्गत युक्रेनका लागि सुरक्षा प्रत्याभूति प्रदान गर्ने विषयमा पुटिन सहमत भएको बताएका थिए। तर मस्कोले त्यसको पुष्टि अझै गरिसकेको छैन।

तियान्जिनमा शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)को शिखर सम्मेलनमा सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेन युद्धबारे टिप्पणी गरेका हुन्। उक्त सम्मेलनमा उनको भेट चीनका राष्ट्रपति सी जिन्पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भयो।

उनले "युक्रेन सङ्कट समाधान गर्न सघाउन खोजेको" भन्दै सी र मोदीलाई धन्यवाद पनि दिए।

चीन र भारत रुसमा उत्पादित कच्चा तेलका शीर्ष आयातकर्ता हुन्। तेल किनेर रुसी अर्थतन्त्रलाई सहयोग पुर्‍याएको भन्दै पश्चिमा राष्ट्रहरूले ती दुई देशको आलोचना गर्दै आएका छन्।

पुटिनको भनाइ

आफ्नो भाषणमा पुटिनले ट्रम्पसँग अलास्कामा "भएको सहमति" सो दिशामा अगाडि बढ्छ र त्यसबाट युक्रेनमा शान्ति स्थापना गर्ने बाटो खुल्छ भन्ने आशा व्यक्त गरे।

यद्यपि उनले "यो सङ्कट रुसले युक्रेनमा गरेको आक्रमणबाट उत्पन्न भएको हैन" बरु "पश्चिमको सहयोग र उक्साहटमा युक्रेनमा भएको सत्तापटलको प्रतिफल" भएको दोहोर्‍याए।

"पश्चिमले युक्रेनलाई नेटोमा तान्न निरन्तर गरेको प्रयासका कारण" युद्ध भएको उनको दाबी थियो।

पुटिनले नेटोमा युक्रेनको सम्भावित सहभागिताको सधैँ विरोध गर्दै आएका छन्।

'समयसीमा'को अन्तिम दिन

शुक्रवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पुटिनलाई ट्रम्पले जेलेन्स्कीसँग शान्तिवार्ता गर्न सहमत हुन सोमवारसम्मको समय दिएको बताएका थिए।

यदि रुसी राष्ट्रपति पुटिन सहमत भएनन् भने त्यसबाट उनले "फेरि एक पटक ट्रम्पलाई झुक्क्याएको" स्पष्ट हुने माक्रोँको भनाइ थियो।

सीएनएनलाई २२ अगस्टमा दिएको एउटा अन्तर्वार्तामा ट्रम्पले पुटिनलाई जबाफ दिन दुई साताको समय दिएको बताएका थिए।

ट्रम्पले सुरुमा एकै दिनमा युक्रेन युद्ध टुङ्ग्यादिने दाबी गरेका थिए।

गत महिना पुटिनसँगको भेटपछि ट्रम्पले युद्धविरामको माग छोडेको देखिएको छ। बरु उनले स्थायी शान्ति सम्झौता हुनुपर्ने बताउन थालेका छन्।

उनले वाशिङ्टन डीसीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपका शीर्षस्थ नेताहरूसँग एकसाथ भेटघाट गरेका थिए।

उनले शान्ति सम्झौताअनुसार युक्रेन "नेटोमा सहभागी नहुने" बताए।

यद्यपि उनले युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिइने र युक्रेनको सुरक्षाको अग्रपङ्क्तिमा युरोप हुने अनि त्यसमा अमेरिका पनि संलग्न हुने बताए।

"हामी उनीहरूलाई राम्रो सुरक्षा प्रदान गर्छौँ," उनले भने। यद्यपि त्यसको अर्थ युक्रेनमा अमेरिकी सेना पठाउनु भने नरहेको उनले स्पष्ट पारे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।