पश्चिमा जगतलाई पुटिनको ताजा चेतावनी: युक्रेनमा 'शान्तिसेना' पठाउने बारे सोच्दा पनि नसोच्नु

भ्लादिमिर पुटिन

तस्बिर स्रोत, SPUTNIK/KREMLIN POOL/EPA/Shutterstock

    • Author, स्टिभ रोजेनबर्ग
    • Role, बीबीसी रुस सम्पादक, भ्लादिभोस्तोकबाट

कतिपय अवस्थामा कसैको भनाइ सबभन्दा महत्त्वपूर्ण नहुन सक्छ।

बरु सो भनाइप्रतिको प्रतिक्रिया ज्यादा महत्त्वको हुन सक्छ।

रुसको सुदूर पूर्वमा पुगेर राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा जगतलाई कडा चेतावनी दिए: "युक्रेनमा सेना पठाउने बारे – चाहे शान्तिसेना नै किन नहुन् – सोच्दै नसोच्नु।"

"यदि त्यहाँ कुनै फौज देखा पर्‍यो भने," रुसी राष्ट्रपतिले भने, "खासगरि यतिखेर जब त्यहाँ लडाइँ चलिरहेको छ, हामीले ती नष्ट गर्नका निम्ति लायक जायज निसाना भनेर व्यवहार गर्नेछौँ।"

अनि त्यसपछि सुनियो प्रतिक्रिया।

युरोपेली वाचाको कडा जबाफ

भ्लादिभोस्तोकमा आयोजित आर्थिक मञ्चको कार्यक्रममा पुटिनको सम्बोधन सुनिरहेका स्रोताहरूले गडगडाएर ताली बजाए। रुसी अधिकारीहरू तथा व्यापारका अगुवाहरूले 'पश्चिमा फौज' नष्ट गर्ने धम्कीको खुलेर स्वागत गरेको देखियो।

त्यो हलमा सुनिएको तालीको गुञ्जन र दृश्य भयभीत तुल्याउने खालको मलाई लाग्यो।

युक्रेनका समर्थक युरोपेली देशहरूको 'कोअलिसन अफ द विलिङ' वा इच्छुकहरूको गठबन्धनले त्यहाँ युद्धपश्चात् युक्रेनलाई विश्वस्त तुल्याउने फौज पठाउने वाचा गरेको भोलिपल्ट पुटिनको सो टिप्पणी आएको छ।

त्यसपछि ती स्रोताले त्यतिखेर फेरि ताली बजाए जतिखेर रुसी नेताले आफू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको – तर आफ्नै मातृभूमिमा मात्र भने।

"(त्यस्तो भेटघाटका निम्ति) उत्तम स्थान रुसको राजधानी हो, हिरो सहर मस्को," पुटिनले उदघोष गरे।

पुटिनको कडा अडानका कारण के?

रुसभन्दा बाहिर पुटिनको प्रस्तावलाई गम्भीर नभएको र हुन नसक्ने भनेर बेवास्ता गरिएको छ।

तर कैयन् हिसाबमा यसले युक्रेन युद्धबारे क्रेम्लीनको वर्तमान अडान देखाउँछ: "हो, हामी शान्ति चाहन्छौँ तर हाम्रो शर्तमा। यदि तिमीले हाम्रा शर्त मान्दैनौ भने शान्ति हुने छैन।"

यो कडा अडानको पछाडि कैयन् कारणहरूको मिश्रण जिम्मेवार देखिन्छ।

पहिलो त रणभूमिमा आफ्ना फौजको हात माथि रहेको क्रेम्लीनको विश्वास।

दोस्रो, उसको कूटनीतिक सफलता। यसै हप्ता चीनमा पुटिनले कैयन् विश्व नेताहरूसँग मुस्कुराउँदै हात मिलाए। त्यो दृश्यले चीन, भारत र उत्तर कोरियाजस्ता शक्तिशाली मित्रहरू रुसका साथ छन् भन्ने देखायो।

चीनमा एससीओ बैठकमा सहभागी हुन पुगेका पुटिन, मोदी र सी

तस्बिर स्रोत, Reuters

अनि त्यसपछि अमेरिका पनि छ। गत महिना राष्ट्रपति डोनल्ड ट्रम्पले पुटिनलाई अलास्कामा निम्त्याएर शिखर सम्मेलन गरे। स्वदेशमा क्रेम्लीन समर्थक टिप्पणीकारहरूले उक्त घटनालाई रुसलाई एक्ल्याउने पश्चिमा प्रयत्नहरूको विफलताको प्रमाणका रूपमा पेश गरे।

रुसलाई लडाइँ अन्त्य गराउन ट्रम्पले यसअघि समयसीमा तथा अल्टिमेटम दिएका थिए। उनले शान्ति नअँगाल्ने हो भने रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाइदिने धम्की पनि दिए।

तर ती धम्कीलाई ट्रम्पले लागु गरेका छैनन् – जसले रुसको आत्मविश्वास थप बलियो बनेको छ।

शान्ति अझै टाढा

सार्वजनिक रूपमा पुटिनले शान्तिका निम्ति ट्रम्पले गरेका प्रयासहरूको प्रशंसा गर्छन्। तर उनले ट्रम्पले अघि सारेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् अनि युक्रेन युद्धमा सम्झौताका निम्ति कुनै रुचि प्रकट गरेका छैनन्।

उसो भए अब शान्तिको सम्भावना कस्तो छ त?

हालै पुटिनले 'सुरुङको अन्त्यमा प्रकाशका किरण' आफूले देखेको बताएका थिए।

तर मलाई लाग्छ आजको दिनमा एकातिर रुस अनि अर्कोतिर युक्रेन र युरोप (साथै केही हदसम्म अमेरिका) भिन्नाभिन्नै सुरुङमा छन्, भिन्नाभिन्नै बाटोमा छन् अनि भिन्नाभिन्नै गन्तव्यतर्फ लम्किरहेका छन्।

युक्रेन र युरोपको ध्यान लडाइँ अन्त्य गर्न तथा किएभका निम्ति यस्तो सुरक्षा ग्यारेन्टी निर्माण गर्न केन्द्रीत छ ताकि अहिलेको युद्धपश्चात् अर्को अतिक्रमण रोक्न सक्षम हुने गरी युक्रेनी सेना बलियो होस्।

तर जब पुटिनले 'सुरुङको अन्त्यमा प्रकाशको किरण' देखेको बताउँछन् मलाई लाग्छ उनी युक्रेनमा रुसी विजयको कल्पनामा छन्। अझ भनौँ नयाँ विश्व व्यवस्था निर्माणको कल्पनामा छन् जुन रुसका लागि फाइदाजनक छ।

शान्तिको कुरा गर्दा यी दुई नितान्त भिन्न मार्गहरू कहाँ पुगेर जोडिएलान् भनेर कल्पना गर्न कठिन छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।