ट्रम्पले पुटिनलाई फेरि भेट्ने, टेलिफोन कुराकानीमा 'ठूलो प्रगति' भएको ट्रम्पको भनाइ

तस्बिर स्रोत, Reuters
- Author, शन सेडन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीवार भएको टेलिफोन कुराकानीमा "ठूलो प्रगति" भएको बताएका छन्। साथै दुवै पक्ष हङ्गेरीमा आमुन्नेसामुन्ने वार्ता गर्न सहमत भएको पनि उनले बताए।
मध्यअगस्टयता पहिलोपटक भएको पुटिनसँगको कुराकानी "निकै फलदायी" रहेको उनले बताएका हुन्। ट्रम्पका अनुसार वाशिङ्टन र मस्कोका प्रतिनिधिहरूबीच आउँदो साता भेटघाट हुने छ।
ट्रम्पले पुटिनसँग बुडापेस्टमा हुने बैठकको मिति भने पुष्टि गरेनन्। क्रेम्लिनले उक्त "अत्यन्तै खुलस्त र भरोसायोग्य" फोनवार्तापछि "तत्कालै" शिखरवार्ताबारे काम सुरु हुने बताएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस जाने निर्धारित तालिकाको एक दिनअघि र ट्रम्पले रुसको भित्री भागसम्म हमला गर्न सक्ने 'टमहक' क्षेप्यास्त्र युक्रेनलाई दिने कि नदिने भन्ने सम्बन्धमा विचार गरिराखेका बेला उक्त फोनवार्ता भएको हो।
अमेरिका पुग्नासाथ जेलेन्स्कीले मस्को "टमहकको कुरा सुन्नासाथ पुन: वार्ता थाल्न हतारिएको" टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले आफू र पुटिनबीच "युक्रेनको युद्ध समाप्त भएपछि रुस र अमेरिकाबीच हुने व्यापारबारे निकैबेर कुरा भएको" बताएका छन्।
उनले आउँदो साता दुवै देशका "वरिष्ठ सल्लाहकार"हरूबीच कुनै तय हुन बाँकी स्थानमा बैठक हुने र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुवियोले गर्ने बताए।
ट्रम्पले पुटिनसँगको कुराकानीबारे शुक्रवार जेलेन्स्कीलाई पनि जानकारी दिने बताए। उनले थपे, "आजको टेलिफोन वार्तामा निकै प्रगति भएको मेरो ठम्याइ छ।"
पुटिनसँग "दुई साताभित्र" बैठक हुने ठानेको पनि पछि संवाददाताहरूसँग उनले बताए।
युक्रेनलाई टमहक क्षेप्यास्त्र दिइने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिकाले उक्त क्षेप्यास्त्रको भण्डारलाई "घटाउन नसक्ने" बताए। "त्यो हामीलाई पनि चाहिन्छ...त्यसैले त्यस सम्बन्धमा हामी के गर्न सक्छौँ भन्नेबारे मलाई थाहा छैन।"
पुटिनसँग युक्रेन युद्धबारे अलास्कामा भएको वार्ता विफल भएपछि ट्रम्प मस्कोप्रति कठोर रहँदै आएका छन्।
गत अगस्ट पन्ध्रमा अलास्कामा भएको आनुन्नेसामुन्ने वार्ता युद्ध अन्त्य गर्नेबारे रुसी राष्ट्रपतिलाई सहमत गराउन फलदायी हुने ट्रम्पको आशा थियो।
अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला उनले आफूले युक्रेन युद्ध केही दिनमै समाप्त गर्न सक्ने दाबी गरेका थिए।

तस्बिर स्रोत, EPA
सामाजिक सञ्जाल 'एक्स'मा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले बुडापेस्टमा बैठक गर्ने कुरा "विश्वभरका शान्तिप्रिय मानिसहरूका निम्ति ठूलो खबर" भएको बताएका छन्।
अमेरिकाका निम्ति युक्रेनी राजदूत ओल्गा स्टेफनिशिनाले ट्रम्प र पुटिनबीचको फोनवार्ताको "केही घण्टा"अघिसम्म पनि रुसले युक्रेनमा हमला गरिरहेको भन्दै त्यसले शान्तिप्रति रुसको वास्तविक रवैयालाई उजागर गर्ने बताएकी छन्।
रुसले सन् २०२२ को फेब्रुअरीबाट युक्रेनमा पूर्ण युद्ध थालेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








