युद्ध समापनलाई रुसले जटिल बनाइरहेको जेलेन्स्कीको आरोप

युक्रेनी सैनिक बन्दूक ताक्दै

तस्बिर स्रोत, Lee Durant/BBC

    • Author, आस्या रबिन्स र ट्याबी विल्सन
    • Role, बीबीसी न्यूज

रुसले युद्धविराम गर्न अटेर गरेर युद्ध समापनलाई जटिल बनाइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

"युद्धविरामका निम्ति धेरैले गरिरहेको आह्वानलाई रुसले लत्याइरहेको हामी देख्न सक्छौँ। मार्ने क्रम कहिले रोक्ने भनेर उसले निर्क्योल गरेको छैन। यसले अवस्थालाई जटिल बनाइदिएको छ," सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले भने।

सोमवार उनी वाशिङ्टन डिसी जाँदै छन् जहाँ उनलाई मस्कोसँग शान्ति सम्झौता गर्न राजी गराउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

युद्धविराम छाडेर शान्ति सम्झौतामा जोड

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरेपछि ट्रम्पले युद्धविरामको साटो युक्रेनमा स्थायी शान्ति सम्झौता आफूले चाहेको बताए।

अमेरिकी अडानमा महत्त्वपूर्ण परिवर्तन आएको देखिने उक्त टिप्पणी ट्रुथ सोसलमा गर्दै ट्रम्पले शान्ति सम्झौता नै त्रासदीपूर्ण युद्ध अन्त्यको उत्तम उपाय भनेका छन्। युद्धविरामहरू धेरै चोटि बेकम्मा हुने गरेको पनि उनले बताए।

उनका पछिल्ला टिप्पणीहरूले अमेरिकाको अडानमा नाटकीय परिवर्तन आएको सङ्केत गर्छ। शुक्रवार अलास्का बैठक अगाडिसम्म ट्रम्पले 'छिटो' युद्धविराम चाहेको बताएका थिए।

युक्रेनको मुख्य माग पनि दीर्घकालीन सम्झौता अगाडि छिटो युद्धविराम हुनु पर्ने रहेको थियो। पुटिनसँगको वार्ता अगाडि युरोपेली नेताहरूसँग कुरा गर्दा समेत ट्रम्पले उनको उद्देश्य युद्धविराम सम्झौता गराउनु रहने बताएका थिए।

शान्तिका लागि रुसका कस्ता शर्त?

एउटा ठूलो कोठामा जेलेन्सकी, युरोपेली नेताहरूको ट्रम्पसँग भर्चुअल कुराकानीका दौरान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पुटिनसँगको वार्ता अगावै बुधवार युरोपेली नेताहरूले ट्रम्पसँग भर्चुअल कुराकानी गरेका थिए

पुटिनसँगको वार्तापछि ट्रम्पसँग फोनमा कुरा गरेका जेलेन्स्कीले वास्तविक, र दिगो शान्तिको आह्वान गर्दै मान्छे मार्ने काम बन्द भइहाल्नु पर्ने बताएका थिए।

पछि सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मस्कोसँग दिगो र भरपर्दो शान्तिका निम्ति 'विश्वसनीय सुरक्षा ग्यारेन्टी' तथा 'कब्जा गरिएका भूभागबाट अपहरित' बालबालिकाको फिर्तीजस्ता आवश्यकता पूरा हुनु पर्ने उल्लेख गरे।

पुटिनसँग हात मिलाउँदै ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शुक्रवार अलास्कामा पुटिन र ट्रम्पबीच भएको शिखर वार्ताले कुनै ठोस उपलब्धि दिएको पाइएन

यसबीच पुटिनले ट्रम्पसमक्ष शान्तिका निम्ति मस्कोको प्रस्ताव पेश गरेको बताइएको छ जसअन्तर्गत युक्रेनले डन्बास क्षेत्रको दोनेत्स्कबाट फिर्ता हुनु पर्ने र रुसले त्यसको बदलामा जापोरिज्या र खेअरसनमा उसको विद्यमान अग्रमोर्चालाई त्यहीँ रोक्ने भनिएको छ।

रुसले सन् २०१४ मा क्राइमियालाई अवैध ढङ्गले गाभेको थियो भने आठ वर्षपछि युक्रेनमा पूर्ण अतिक्रमण गरेको थियो। उसले डन्बासलाई रुसी क्षेत्र भन्छ। त्यहाँको लुहान्स्कको अधिकांश भूभाग अनि दोनेत्स्कको ७० प्रतिशत भूभाग मस्कोको नियन्त्रणमा छ।

अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीलाई मस्कोको उक्त प्रस्ताव सुनाएको बताइएको छ। ट्रम्पले यसअघि नै कुनै पनि शान्ति सम्झौताअन्तर्गत 'केही भूभागको सट्टापट्टा' पर्ने भनेका थिए।

केही दिन अगाडि युक्रेनी राष्ट्रपतिले लुहान्स्क र दोनेत्स्क क्षेत्र रहेका डन्बासको नियन्त्रण आफ्नो देशले त्याग्न नसक्ने भन्दै तिनलाई रुसले भविष्यको युद्धका निम्ति उपयोग गर्ने बताएका थिए।

बीबीसीको अमेरिकी सञ्चार साझेदार संस्था सीबीएसले कूटनीतिक सूत्रहरूको हवाला दिँदै सोमवारको बैठकमा ट्रम्पले जेलेन्स्कीलाई उनले पुटिनसँग चर्चा गरेका शर्तहरू मान्न दबाव दिन सक्ने चिन्ता युरोपेली कूटनीतिज्ञहरूमाझ रहेको उल्लेख गरेको छ।

अलास्का बैठकपछि युरोपेली नेताहरूसँग कुरा गर्दै ट्रम्पले पुटिनले केही 'त्यागहरू' गर्ने भनेको तर त्यो स्पष्ट नखुलाएको सीबीएसले सूत्रहरूलाई उद्धृत गर्दै भनेको छ।

शुक्रवारको शिखर बैठकपश्चात् फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पलाई युक्रेनी नेतालाई तपाईँको सुझाव के हुने छ भनेर सोध्दा ट्रम्पले 'सम्झौता गर' भन्ने आफ्नो सुझाव हुने बताएका थिए।

"रुस एकदम ठूलो शक्ति हो। उनीहरू होइनन्," ट्रम्पले भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।