ट्रम्प-पुटिन शिखर बैठकले युक्रेनको नक्सा बदल्न सक्छ? यी क्षेत्रहरू 'दाउ'मा छन्

डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिन तथा पृष्ठभूमिमा युक्रेनको युद्धग्रस्त भूमि
तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिन शुक्रवार अलास्कामा भेट्दै छन्
    • Author, पल एडम्स
    • Role, बीबीसी कूटनीतिक संवाददाता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ताले युक्रेनको मानचित्रमा जबर्जस्ती वा आधारभूत फेरबदल ल्याउला कि नल्याउला भन्नेबारे विभिन्न किसिमका अड्कलबाजीहरू भइरहेका छन्।

रुसले सन् २०१४ देखि नै युक्रेनको ठूलो हिस्सामाथि दाबी प्रस्तुत गर्दै आएको छ। सोही वर्ष पुटिनले त्यसतर्फ पहिलो कदम चालेका थिए।

त्यस बेला केही महिनाको अन्तरालमा मस्कोले तुलनात्मक रूपमा कम रक्तपातयुक्त कारबाहीमार्फत् क्राइमिया प्रायःद्वीपमाथि कब्जा गरेर आफूमा विलय गराएको थियो।

त्यसपछि पूर्वी डोनबास क्षेत्र र त्यसमा पनि खास गरी डोनेट्स्क र लुहान्स्कमा रुससमर्थित पृथक्तावादी गतिविधि सुरु भयो।

त्यहाँ आठ वर्षसम्म युद्ध चल्यो।

सन् २०१४ पछिको र सन् २०२२ मा पूर्ण स्तरको आक्रमण सुरु हुनुअघिको युक्रेनको नक्सा
तस्बिरको क्याप्शन, सन् २०१४ पछिको र सन् २०२२ मा पूर्ण स्तरको आक्रमण सुरु हुनुअघिको युक्रेन

उक्त अवधिमा युक्रेनले सैनिक र सर्वसाधारण गरी झन्डै १४ हजार जनाको क्षति बेहोर्‍यो।

तर सन् २०२२ को फेब्रुअरीमा पुटिनले पूर्ण स्तरको युद्ध सुरु गरे। द्रुत गतिमा किएभको बाह्य भागमा पुगेको रुसी सेनाले जापरिज्या र खेअर्सनका ठूल्ठूला हिस्सासहित दक्षिणको ठूलो भूभागमाथि नियन्त्रण जमायो।

युद्ध सुरु भएको एक महिनापछि युक्रेनमा रुसी सैन्य नियन्त्रणको स्थिति दर्शाउने नक्सा

त्यसयता युद्धमा विभिन्न किसिमका उतारचढावहरू आएका छन्। सन् २०२२ को वसन्त यामको तुलनामा अहिले रुसले कम भूमि नियन्त्रण गर्छ। सन् २०२२ मा २७ प्रतिशत रहेको रुसी नियन्त्रणको स्थिति अहिले २० प्रतिशत मात्रै छ। पूर्वमा रुसी सैनिकहरू अघि त बढिराखेका छन् तर त्यो गति निकै सुस्त र त्यसका निम्ति निकै मूल्य चुकाउन परिराखेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिले निसर्त युद्धविरामको खाँचो रहेको बताएका छन्। युरोपेली सहयोगीहरूले पनि युद्ध रोकिनुपर्नेमा जोड दिइरहेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूसमेत त्यही स्थिति हासिल गर्ने कोसिसमा रहेको बताएका छन्।

भूमि साटफेरको सम्भावना

तर पुटिनसँगको अलास्का शिखर बैठकअघि ट्रम्पले त्यसको सट्टा युक्रेनको केही भूमि रुसलाई हस्तान्तरण गर्ने कुरा उठाएका छन्। त्यसले किएभ र युरोपमा हलचल मच्चिएको छ।

ट्रम्पले कुन भूमिको कुरा उठाएका हुन् र त्यो कसरी वा कस्तो हुन सक्छ भन्ने स्पष्ट छैन किनकि कानुनी हिसाबले ती सबै क्षेत्र युक्रेनका हुन्।

अगस्ट २०२५ सम्म युक्रेनको भौगोलिक स्थिति यस्तो देखिन्छ :

गत अगस्ट १२ को मितिसम्म युक्रेनी युद्धमोर्चा जनाउने नक्सा
तस्बिरको क्याप्शन, गत अगस्ट १२ को मितिसम्म युक्रेनी युद्धमोर्चा जनाउने नक्सा

रुस समग्र लुहान्स्क र डोनेस्ट्कमाथि आफ्नो नियन्त्रण बढाउन चाहन्छ।

पुटिनले दुवै क्षेत्रका बाँकी भूभागमाथिको नियन्त्रण पनि आफूलाई सुम्पिन युक्रेनसँग माग गरिराखेको केही विवरणहरूले जनाएका छन्।

तर त्यसो गर्दा किएभले क्रामाटोर्स्क र स्लोभ्यान्स्कजस्ता सहरहरू गुमाउँछ जसको रक्षाका निम्ति दशौँ हजार युक्रेनी सैनिकहरूले ज्यान अर्पिएका थिए। साथै त्यसो गर्दा उत्तर र पश्चिमका युक्रेनी भूमि जोगाउने सुरक्षा रेखाहरू पनि गुम्न पुग्छ।

डोनबास क्षेत्र (पहेँलो रङ्गमा)

तर किएभका निम्ति त्यस्तो सम्झौता तितो औषधि निल्नु परेझैँ हुने छ। झनै भयावह क्षति बेहोरेको मस्कोले भने त्यसलाई जितका रूपमा लिने छ।

जेलेन्स्कीले मङ्गलवार मस्कोले देशका बाँकी भागमा आक्रमण गर्न डोनबासलाई "स्प्रिङबोर्ड"झैँ प्रयोग गर्ने भएकाले युक्रेनले उक्त क्षेत्र "छाड्न नसक्ने" बताएका छन्।

हालैका दिनहरूमा रुसी सैनिकहरू डोब्रोपिल्या नगरनजिकै कडा मेहनतका साथ अघि बढिराखेको देखिन्छ। उक्त गतिविधि वास्तवमै रणनीतिक कदम हो वा ट्रम्पलाई मस्कोको स्थिति बलियो रहेको देखाउने कोसिस हो भन्ने स्पष्ट छैन।

खेअर्सन र जापोरिज्या

सन् २०२२ मा नियन्त्रण गरिएका खेअर्सन र जापोरिज्याको स्थिति के छ?

विवरणहरूका अनुसार यी ती ठाउँ हुन् जहाँ रुसले आफ्नो आक्रमण रोक्ने र सीमालाई स्थिर बनाउने प्रस्ताव राखिरहेको छ।

तर के यीमध्ये कुनै पनि हिस्सा फिर्ता दिन रुस तयार होला?

सोमवार ट्रम्पले अस्पष्ट रूपमा "ओसिअन-फ्रन्ट प्रोपर्टी"बारे चर्चा गरे – सम्भवत: उनले 'सी अफ आजोभ' र ब्ल्याक सीका किनारका हिस्सातर्फ सङ्केत गरेका थिए।

जापरिज्या र खेअर्सन क्षेत्र (पहेँलो रङ्गमा)

तर यी सबै रुसलाई क्राइमियासँग भूमिमार्फत् जोड्ने पुटिनको रणनीतिका हिस्सा हुन्।

रुसी नेता यीमध्ये कुनै पनि हिस्सा छाड्न सहमत भएको देख्न कठिन हुने देखिन्छ। डोनेट्स्क र लुहान्स्कजस्तै पुटिनले यिनलाई पनि रुसको हिस्सा ठान्छन्। चार चरणमा जनमत सङ्ग्रह गराएर पुटिनले ती क्षेत्रमाथि कब्जा जमाएका थिए जसलाई व्यापक रूपमा देखावटी चुनाव ठानिएको थियो।

युक्रेन र युरोपका निम्ति भूमि साटफेर गर्ने कुरा वार्ताको सुरुवाती चरणमा उपयुक्त होइन।

तर भविष्यमा अन्तत: यसबारे कुरा गर्नुपर्ने हुन सक्छ र त्यो त्यस्तो स्थितिमा मात्रै हुन सक्छ जति बेला युद्ध रोकिन्छ र युक्रेनको सुरक्षा सुनिश्चित गरिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।