आफ्नो आकासमा रुसी जेट आएपछि इस्टोनियाले गुहार्यो नेटो

तस्बिर स्रोत, Reuters
- Author, यारोस्लाभ लुकिभ
- Role, बीबीसी न्यूज
रुसी लडाकू विमानले आफ्नो आकासमा शुक्रवार उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य राष्ट्रहरूसँग परामर्शका निम्ति अनुरोध गरेको छ।
इस्टोनियाको विदेश मन्त्रालयले उक्त रुसी कार्यलाई 'ठाडो' अतिक्रमण भनेका छन्। तीनवटा रुसी मिग-३१ लडाकू विमान इस्टोनियाली आकास क्षेत्रमा 'विना अनुमति प्रवेश गरेको र कुल १२ मिनेटसम्म' फिनल्यान्डको खाडीमाथिको सो क्षेत्रमा रहेको उसले बताएको छ।
नेटोका एकजना प्रवक्ताले सो सैन्य गठबन्धनले 'तत्कालै प्रतिक्रिया जनाउँदै ती रुसी विमानलाई धपाएको' उल्लेख गरे। उक्त घटनालाई उनले रुसको जथाभावीपूर्ण व्यवहारको अनि नेटोको तत्काल प्रतिक्रिया जनाउने क्षमताको अर्को उदाहरण भनेका छन्।
एकपछि अर्को घटना
नेटोको पूर्वी मोर्चा सुदृढ पार्ने अभियान अन्तर्गत तत्कालै इटली, फिनल्यान्ड र स्वीडनका जेटहरू परिचालन गरिएका थिए।
सन् २०२२ मा रुसले युक्रेनमा अतिक्रमण गरेदेखि नै उत्तर एटलान्टिक सन्धि सङ्गठन अर्थात् नेटो सैन्य गठबन्धन तथा रुसबीच तनाव बढिरहेको छ।
गत साता उक्त तनाव झनै बढ्यो जब पोल्यान्ड र रुमेनियाका हवाई क्षेत्रलाई रुसी ड्रोनहरूले लगालग उल्लंघन गरे।
ती दुवै देश नेटोका सदस्य राष्ट्र हुन्।
उक्त घटनाको प्रतिक्रियास्वरूप नेटोले उसका लडाकू विमानसहितका सैन्य उपकरण पूर्वी मोर्चा सुदृढ बनाउन परिचालन गर्ने वाचा गरेको थियो।
नेटो देशहरूले गरे निन्दा

तस्बिर स्रोत, EPA/Shutterstock
रुसको विदेश मन्त्रालयले आफ्ना विमान 'पूर्व निर्धारित उडानमा रहेको' अनि 'अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्रै रहेको तथा अन्य देशको सिमाना नमिचेको' बताएको छ।
उसका अनुसार ती विमान तटस्थ बाल्टिक सागर क्षेत्रमाथि उडेका तथा इस्टोनियाली भाइन्डलु टापुभन्दा ३ किलोमिटर पर रहेका थिए।
इस्टोनियाका विदेशमन्त्रीले रुसी कदमलाई 'स्पष्ट रूपमा उत्तेजित पार्ने' कार्य भनेका छन्। उनले नेटो सदस्य देशहरूलाई एकताबद्ध प्रतिक्रिया जनाउन आह्वान गरेका छन्।
"नेटोको हवाई क्षेत्रमाथि १२ मिनेटको उल्लंघन – गम्भीर उल्लंघन – ले राजनीतिक तथा व्यावहारिक तहमा ठोस प्रतिक्रियाको माग गर्छ," उनले भने।
युरोपेली युनियनकी विदेश नीति प्रमुख काया कलासले रुसले पश्चिमा जगतको दृढताको परीक्षण गरिरहेको भन्दै आफूहरूले कुनै कमजोरी प्रदर्शन गर्न नहुने बताइन्।
इस्टोनियाका प्रधानमन्त्री क्रिस्टन मिकालले उनको सरकारले नेटोको आकस्मिक बैठकमा 'धारा ४ सम्बन्धी परामर्श' गर्न अनुरोध गर्ने निर्णय गरेको बताए।
नेटो सन्धिको धारा ४ ले उक्त ३२ सदस्यीय गठबन्धनमाझ तत्काल छलफलको प्रबन्ध गर्छ। यो गठबन्धनमा अमेरिका तथा कैयन् युरोपेली देशहरू सामूहिक प्रतिरक्षामा आबद्ध छन्।
यो साता यसरी नेटोको धारा ४ परामर्शको अनुरोध भएको यो दोस्रो पटक हो। आफ्नो हवाई क्षेत्रमा रुसी ड्रोन प्रवेश गरेपछि पोल्यान्डले पनि त्यस्तै अनुरोध गरेको थियो।
यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस मामिलामा आफूलाई जानकारी गराइन लागेको पत्रकारहरूलाई शुक्रवार बताएका थिए।
"मलाई यस्तो मन पर्दैन। यस्ता घटना भएपछि मलाई मन पर्दैन। ठूलै समस्या हुन सक्छ। म पछि बताउँला," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








