युद्ध अन्त्य गर्ने विषयमा युक्रेनसँगको वार्ता सकारात्मक तर 'थप काम गर्नुपर्ने'

तस्बिर स्रोत, Reuters
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले रुससँगको युद्ध अन्त्यबारे युक्रेनसँग भएको वार्ता सकारात्मक भए पनि थप कामहरू गर्नुपर्ने देखिएको बताएका छन्।
फ्लोरिडामा भएको वार्तामा युक्रेनका न्याश्नल सेक्युरिटी काउन्सिलका प्रमुख रुस्टेन उमेरोभको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थियो। उनी युक्रेनका प्रमुख वार्ताकारमा हालै नियुक्त भएका हुन्।
वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दूत स्टीभ विट्कफ र ट्रम्पका ज्वाइँ ज्यारड कुश्नर सहभागिता थियो। विट्कफ वार्ताका लागि आगामी साता मस्को जाने तयारीमा छन्।
युक्रेनी राष्ट्रपतिका प्रमुख वार्ताकार एन्ड्री यर्माकको घरमा भ्रष्टाचारको आशङ्कामा छापा मारिएपछि उनले राजीनामा दिएका थिए। त्यसपछि यर्माकको ठाउँमा उमेरोभलाई नियुक्त गरिएको हो।
दुई सातादेखि चलिरहेको कूटनीतिक गतिविधिमा आइतवारको बैठक सबैभन्दा पछिल्लो हो।
अमेरिकाले अघि सारेको २८ बुँदे शान्ति सम्झौता रुसको पक्षमा देखिएको भन्दै युक्रेन र उसका युरोपेली सहयोगी देशहरू असन्तुष्ट बनेका थिए।
अमेरिकी विदेशमन्त्री रुबिओले वार्ता युद्ध अन्त्यमा मात्रै सीमित नभई युक्रेनको दीर्घकालीन समृद्धिबारे पनि लक्षित रहेको बताए।
"…हामीले अझै धेरै काम गर्नुपर्ने भएको छ," उनले भने।
रुससँगको शान्ति वार्ताको उद्देश्य युक्रेनलाई "सार्वभौम, स्वतन्त्र र समृद्ध" बनाउने रहेको उनले युक्रेनी प्रतिनिधिमण्डललाई बताएका छन्। उमेरोभले आइतवारको वार्तामा युक्रेनको भविष्य, सुरक्षा, रुसी आक्रमण नदोहोरिने सुनिश्चितता, युक्रेनको समृद्धि र पुनर्निर्माणबारे छलफल हुने भेटअघि बताएका थिए।
"अमेरिकाले हामीलाई सुनिरहेको छ, समर्थन गरिरहेको छ र हाम्रो पक्षमा काम गरिरहेको छ," उनले भने।
वार्तापछि उनले छलफल "परिणाममुखी र सफल" भएको बताए। रुबिओले पनि धेरै "परिणाममुखी र उपयोगी" भएको बताए।
आइतवार 'एअरफोर्स वान' मा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता राम्रोसँग अघि बढिरहेको बताएका थिए। उनले चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि सम्झौता हुने राम्रो सम्भावना रहेको पनि पत्रकारहरूसँग बताएका छन्।

तस्बिर स्रोत, Reuters
ट्रम्पले विट्कफ र सम्भव भएसम्म आफ्ना ज्वाइँ कुश्नरलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्न यसै साता मस्को पठाउने यसअघि बताएका थिए। उनीहरूले पछिल्लो समय हेरफेर गरिएको शान्तिको योजनामा छलफल गर्ने उनको भनाई छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा एउटा 'पोस्ट' गर्दै युक्रेनको सार्वभौमिकता र राष्ट्रिय हितहरू सुनिश्चित गर्दै वार्ता रचनात्मक र गतिशील भएको र सबै मुद्दाहरू खुला रूपमा छलफल भएको उल्लेख गरेका छन्।
उनले युद्ध अन्त्यका लागि अमेरिका र राष्ट्रपति ट्रम्पले गरेको प्रयासप्रति आभार पनि व्यक्त गरेका छन्।
रुसले आफूमा गाभेका वा कब्जामा लिएका युक्रेनी भूभागबारे के गर्ने भन्ने विषय वार्ताबाट सुल्झाउन सबैभन्दा धेरै चुनौती देखिएको छ।
फ्लोरिडामा भएको वार्ता पनि "सहज नभएको" युक्रेनी प्रतिनिधिमण्डल निकट स्रोतले समाचार संस्था एएफपीसँग बताएको छ।
"तर रचनात्मक भएर समाधान पहिल्याउन सबै जनाले प्रयास गरिरहेका थिए," उक्त स्रोतले भनेको छ।
जेलेन्स्की फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँग वार्ताका लागि सोमवार पेरिस जाने तयारीमा छन्।
सन् २०२२ को फेब्रुअरी २४ मा रुसले छिमेकी देश युक्रेनमा आक्रमण सुरु गरेयता दसौँ हजार सैनिकहरू मारिएका वा घाइते भएका छन् भने हजारौँ सर्वसाधारण पनि मारिएका छन्। युद्धका कारण कम्तीमा ७० लाख मानिसहरू शरणार्थी बनेका विवरण छन्।
पूर्व सोभियत सङ्घका दुई राज्यहरूबीचको द्वन्द्व सन् २०१४ बाट सुरु भएको थियो। त्यसबेला युक्रेनका रुस समर्थक राष्ट्रपतिलाई अपदस्थ गरिएको थियो भने रुसले क्राइमिया कब्जा गर्दै पूर्वी युक्रेनमा जारी सशस्त्र विद्रोहलाई समर्थन रहेको प्रतिक्रिया दिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








