युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले पुटिनलाई यसकारण मनाइरहेका छैनन्

- Author, लिजा फोख्त
- Role, बीबीसी न्यूज रसियन, बर्लिन
विगत केही सातामा वाशिङ्टन र मस्कोबीच तनाव निकै बढेको छ। अमेरिकाले रुसका विशाल तेल कम्पनीहरू रोस्नेफ्ट र ल्यूकओइलविरुद्ध नयाँ प्रतिबन्धहरू लगाएको छ भने क्रेम्लिनले परमाणु ऊर्जाबाट चल्ने आफ्नो नयाँ बुरेभेस्टनिक क्रूज क्षेप्यास्त्र तथा समुद्रमुनि परिचालित हुने पोजाइडन ड्रोन परीक्षण गरेको छ।
दुवै देशले परमाणुअस्त्रको परीक्षण फेरि गर्न सक्ने बताएका छन्। दुईबीच एकअर्कालाई धम्की दिने काम मात्र भइरहेको छैन, उता युक्रेन युद्ध पनि जारी छ।
यो वर्षको सुरुतिर अमेरिका र रुसबीच द्विपक्षीय सम्बन्धमा सुधारको सङ्केत देखा परेको थियो।
ह्वाइट हाउसमा पुनरागमन गरेका डोनल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गराउने अनि भ्लादिमिर पुटिनसँग 'शान्ति कायम गर्ने' वाचा गरेका थिए।
तर युद्ध जारी छ। अनि अमेरिका र रुस अहिले धाकधम्कीमा ओर्लिएका छन्। ट्रम्पको वाचा किन पूरा हुन सकिरहेको छैन त?
'कुराकानी राम्रो हुन्छ तर केही नतिजा आउँदैन'

तस्बिर स्रोत, Andrew Harnik / Getty Images
ट्रम्पको दोस्रो कार्यकालको प्रारम्भिक चरणमा प्रगतिका सङ्केतहरू देखिएका थिए। रुसले युक्रेनमा अतिक्रमण गरेयता पहिलोपल्ट वाशिङ्टन र मस्कोबीच प्रत्यक्ष वार्ता भयो। दुई राष्ट्रपतिबीच नियमित फोन सम्पर्क भए अनि अगस्टमा अलास्कामा भेटघाट पनि भयो।
"शान्ति प्रक्रियाबारे कुरा भइरहनु पनि ठूलै प्रगति हो," अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का युरोपेली तथा रुसी मामिलाका भूतपूर्व वरिष्ठ निर्देशक एन्ड्रू पीकले भने।
"आफ्ना अडानहरू बताउने, कुराकानी गर्ने - कूटनीतिको सञ्चालनको यही नै आधारभूत पक्ष हो।"

तस्बिर स्रोत, EPA-EFE / REX / Shutterstock
विशेष दूत विट्कफ
ट्रम्प व्यक्तिगत सम्बन्धहरूमा अधिक निर्भर हुन्छन्।
न्यूयोर्कमा घरजग्गा व्यवसाय गर्दादेखिका आफ्ना मित्र स्टिभ विट्कफलाई उनले विशेष दूत नियुक्त गरेर थुप्रै पटक पुटिनसँग भेट्न पठाए। हरेक भ्रमणपछि उनीहरू सहमतिनजिक पुगेको बताइयो।
तर विट्कफसँग कूटनीतिक अनुभवको कमी भएको भन्दै विदेश नीति विशेषज्ञहरूका वृत्तमा प्रश्न उठिरहे।
पहिचान नखुलाउने सर्तमा बीबीसीसँग बोलेका दुई युरोपेली कूटनीतिज्ञहरूले विट्कफले पटकपटक मस्कोबाट बाहिरिँदा अब पुटिन लेनदेन गर्न राजी भएका छन् भन्ने विश्वास गरेको तर पछि ह्वाइट हाउसले त्यसो नभएको पाएको बताए।

तस्बिर स्रोत, EPA / Shutterstock
बीबीसीसँग नाम नखुलाईकन बोलेका क्रेम्लिनका एक भूतपूर्व वरिष्ठ अधिकारीले विट्कफले रुसी अडानको सूक्ष्म ज्ञान नराखेको अनि अमेरिकी नीतिको पनि क्रेम्लिनसमक्ष एकैनासले व्याख्या गर्न नसकेको बताए।
अगस्टमा पुटिन र ट्रम्पबीच भएको भेटवार्ताका दौरान सञ्चार र बुझाइमा समस्या रहेको सबैले देखे।
अलास्का बैठक

तस्बिर स्रोत, Reuters
अलास्काको शिखर सम्मेलनमा सहभागी सयौँ पत्रकारमध्ये म पनि थिएँ। अस्पष्ट कारणमा उक्त सम्मेलन छोट्ट्याइएको थियोI
पछि जब ट्रम्प र पुटिन संयुक्त प्रेस सम्मेलनमा उपस्थित भए, उनीहरूले युद्ध अन्त्यबारे कुनै ठोस कदमको घोषणा गरेनन्।
न्यून स्तरको प्रतिबद्धता समेत पुटिनले नजनाएपछि ट्रम्प अप्ठेरोमा परे।
बन्द कोठाभित्र दुई नेताबीच के कुराकानी भयो भनेर न क्रेम्लिनले न ह्वाइट हाउसले बतायो। त्यसैले पत्रकारहरूले अज्ञात सूत्रहरूको सहारा लिनुपर्यो।
फाइनान्शल टाइम्सले ट्रम्पले युक्रेनमा युद्धविराम गरेको बदलामा अमेरिकाले (मस्कोविरुद्ध लगाइएका) आर्थिक प्रतिबन्ध खुकुलो पार्ने र व्यापार विस्तार गर्ने प्रस्ताव गरेको विवरण दियो।
पुटिनले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको अनि युक्रेनको पूर्ण आत्मसमर्पणसहित डोन्बासको पूर्ण नियन्त्रण चाहेको मात्रै नबताई ट्रम्पलाई रिस उठ्ने गरी 'ऐतिहासिक लेक्चर' समेत दिएको फाइनान्शल टाइम्सले उल्लेख गर्यो।

तस्बिर स्रोत, Reuters
अलास्का बैठकमा प्रगति नहुँदा "अमेरिकीहरू साँच्चिकै निराश" भएको एक युरोपेली कूटनीतिज्ञले बीबीसीलाई बताए।
ट्रम्प आफैँ पनि निराश भएको देखियो। "हरेक पटक जब मैले भ्लादिमिर (पुटिन)सँग कुरा गर्छु, कुराकानी राम्रो हुन्छ तर केही नतिजा निस्कँदैन," अक्टोबरमा नयाँ आर्थिक प्रतिबन्धको घोषणा गर्ने क्रममा उनले भनेका थिए।
पुटिन वास्तवमा के चाहन्छन्?
मस्कोमा चाहिँ पछिल्ला महिनाहरूमा आधिकारिक भनाइ खासै परिवर्तन भएका छैनन्।
युद्ध अन्त्यका निम्ति पुटिनका सर्त यस्ता छन् -
- युक्रेनका पाँच क्षेत्रमा रुसी सार्वभौमसत्ताको मान्यता
- युक्रेनको तटस्थता
- कटौती गरिएको युक्रेनी सेना
- रुसी भाषाको संवैधानिक ग्यारेन्टी
- पश्चिमा आर्थिक प्रतिबन्धको अन्त्य।
विस्तृत राजनीतिक सम्झौतापश्चात् मात्र आफूले लडाइँ अन्त्य गर्ने रुसले भनेको छ। उक्त अडान वाशिङ्टन र किएभका लागि अस्वीकार्य छ। उनीहरूले पहिले युद्धविराम हुनु पर्ने भन्दै आएका छन्।

तस्बिर स्रोत, Reuters
कुनै प्रगति हासिल गर्नका लागि सबै पक्षले निम्न तीन मुद्दामा सहमति जनाउनुपर्ने एन्ड्रू पीकले बताएका छन् :
- भूभाग
- युक्रेनको राजनीतिक भविष्य
- युक्रेनको सुरक्षा मामिला।
यी विषयमा कुनै प्रगति नभएको उनले बताए।
सुरुमा ट्रम्पले भूभागहरूमा सम्झौताबारे तयार रहेको सङ्केत दिएका थिए। एप्रिलमा बोल्दै उनले क्राइमिया रुसी नै रहने बताए। सन् २०१४ मा रुसले गाभेको क्राइमियालाई मान्यता दिनेबारे उनको टोलीले सोचविचार गरेको सञ्चारमाध्यमहरूमा आएको थियो।
अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा पनि ट्रम्पले 'भूभाग सट्टापट्टा'को कुरा उठाएको रोएटर्सले जनाएको थियो।

तस्बिर स्रोत, Win McNamee / Getty Images
रुसले पनि सीमित लचकताको सङ्केत दिएको छ : टर्कीका विदेशमन्त्रीले दक्षिणी युक्रेनका भूभागमा मस्कोले युद्धको वर्तमान अग्रमोर्चा बिन्दुमै सहमति गर्न सक्ने बताए।
साथै उनले खनिज प्रशस्त भएको डोन्बास क्षेत्रको पनि रुसले पूर्ण नियन्त्रण चाहेको बताए। अहिले सो क्षेत्र आंशिक अतिक्रमित छ।
भूभागका विषयसहित जारी कुराकानीबारे विस्तृत नबताउने क्रेम्लिनले जबाफ दिएको छ।

तस्बिर स्रोत, Reuters
कूटनीतिज्ञहरूका अनुसार युक्रेनी भूमिको नियन्त्रण मात्र पनि सबैभन्दा जटिल मुद्दा भने होइन।
आफ्नो व्यापारिक पृष्ठभूमिका आधारमा ट्रम्पले यसको समाधानमा 'घरजग्गा' कारोबारजस्तै आशा राखेको एक वरिष्ठ युरोपेली अधिकारीले बीबीसीलाई बताए। "तर पुटिनको निम्ति यो विषय भूभाग नियन्त्रणमा मात्र सीमित छैन - बरु युक्रेनको सार्वभौमसत्तासँग सम्बन्धित छ," उनले भने।
अर्थात् किएभको राजनीतिक झुकाव तथा सैन्य क्षमताको नियन्त्रणसँग उनको रुचि छ। मस्कोले बारम्बार युक्रेनको तटस्थता तथा उसकै सेनाको व्यापक कटौतीको विषय उठाइरहन्छ।
किएभले चाहिँ अमेरिका र नेटोसँग दृढ सुरक्षा ग्यारेन्टी मागेको छ।
"रुसले सुरक्षा ग्यारेन्टीमा शून्य लचकता देखाएको छ - सन् २०२२ मा र अहिले पनि," पीकले भने। "यो मुद्दामा दुई पक्षबीचको असहमति भूभागको मुद्दामा भन्दा धेरै फराकिलो छ।"
'समय बित्न दिँदै'
यसै शरद् याममा हङ्गेरीको बुडापेस्टमा अर्को शिखर सम्मेलन गर्ने योजना विफल भएकोबाट पनि वर्तमान गतिरोध स्पष्ट हुन्छ।
अक्टोबरको मध्यमा ट्रम्प र पुटिनबीच भएको फोन वार्तापछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभलाई शिखर बैठक आयोजनाको तयारी गर्न भनियो।
ती दुईबीच एकपटक कुराकानी भयो तर बैठक हुन सकेन।

तस्बिर स्रोत, Mohd Rasfan / AFP / Getty Images
यसबीच युक्रेन तथा उसका युरोपेली साझेदारहरूले ट्रम्पसँग सम्पर्क बढाउन निकै परिश्रम गरेका छन्।
सुरुमा ट्रम्प सीधै पुटिनसँग लेनदेन गर्न चाहन्थे र किएभलाई किनारामा पार्न खोजेका थिए। त्यस्तो सम्भावनाले युक्रेन र युरोप दुवै त्रसित थिए।
विस्तारै ट्रम्पले युक्रेनबारे आफ्ना टिप्पणी नरम पार्दै आएका छन्।
युक्रेनले वाशिङ्टनसमक्ष लचकता पनि प्रदर्शन गरेको छ। युद्धविराम तथा मस्कोसँगको सम्भावित वार्ताबारे अमेरिकी प्रस्तावलाई उसले स्वागत गरेको छ।

तस्बिर स्रोत, Reuters
किएभ तथा उसका साझेदारहरूको लक्ष्य सोझो छ : पुटिनसमक्ष आत्मसमर्पण गर्नु भनेको युरोपेली - र अमेरिकी - स्वार्थलाई धक्का दिनु सरह भएकोबारे ट्रम्पलाई विश्वस्त पार्नु।
"हामीलाई थाहा थियो कि विस्तारै उनले रुस असल नियतका साथ वार्ता गरिरहेको छैन भनेर थाहा पाउने छन्," एक युरोपेली कूटनीतिज्ञले बीबीसीलाई भने। "त्यसैले हाम्रो काम भनेको समय बित्न दिनु थियो - र यसले परिणाम पनि दियो।"
मस्कोले युरोपलाई दोष लगाउँछ। "युरोपेलीहरू सुतिरहेका छैनन्। तिनले यो (ट्रम्प) प्रशासनलाई दबाव दिइरहेका छन्," लाभ्रोभले अमेरिकी अडानमा भइरहेको व्यापक परिवर्तनको आलोचना गर्दै भने।
अलास्का शिखर बैठकको तीन महिनापश्चात् क्रेम्लिन र वाशिङ्टन कुनै सम्झौताको नजिक पुगेको कुनै सङ्केत देखिँदैन।
अक्टोबरमा वाशिङ्टनले ट्रम्पको राष्ट्रपतिकालकै सबैभन्दा प्रमुख मानिएका नयाँ आर्थिक प्रतिबन्धहरू लगायो जसको निसानामा रुसका विशाल तेल कम्पनीहरू थिए।
"हाम्रा हरेक कदम पुटिनलाई वार्ताको टेबलसम्म ल्याउनका निम्ति निर्देशित छन्," अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएसलाई भनेका छन्।
पुटिनले वाशिङ्टनको पछिल्लो कदमको आलोचना गर्दै ती आर्थिक प्रतिबन्ध "द्विपक्षीय सम्बन्धका लागि हानिकारक" भनेका छन्। उनले रुसले दबावमा आएर आफ्ना नीति परिवर्तन नगर्ने पनि बताए।
ती टिप्पणी गरिएका केही दिनपश्चात् मस्कोले परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको परीक्षण गर्यो - वार्ताको साटो अब अर्को चरणको वाकयुद्धको छनक दिने गरी।
बीबीसी विश्वसेवाका एन्ड्रु वेबद्वारा सम्पादित
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




