ट्रम्प गाजामा सफल तर युक्रेन युद्धमा किन अझै खाली हात

तस्बिर स्रोत, EPA
- Author, एन्थनी जर्कर
- Role, उत्तर अमेरिका संवाददाता
संयुक्त राज्य अमेरिका र रुसका शीर्ष नेताबीच भेटवार्ता हुन सक्ने विषयमा धेरै बढाइचढाइ भए जस्तो देखिन्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "दुई साताजतिमा" रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा भेट गर्ने भनेको केही दिनमै उक्त वार्ता अनिश्चितकालका लागि स्थगित भयो। त्यसअघि दुई देशका कूटनीतिज्ञहरूबीच हुने भनिएको प्रारम्भिक भेट पनि स्थगित भएको छ।
"म परिणाम नदिने बैठकमा बस्न मन पराउँदिनँ," अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलवार ह्वाइट हाउसमा संवाददाताहरूसँग भने। "म समय खेर फाल्न चाहन्नँ। हेरौँ के हुन्छ।"
कहिले हुँदै र कहिले रोकिँदै आएको वार्ता ट्रम्पले युक्रेन युद्ध अन्त्य गराउनका गरिरहेको मध्यस्थताको पहलमा एउटा अर्को मोड मात्रै हो। गाजामा युद्धविराम र बन्धक रिहाइको बाटो खोलिदिन सफल भएका अमेरिकी राष्ट्रपतिको ध्यान अब युक्रेन युद्धतिर मोडिएको छ।
गाजामा सङ्घर्षविराम भएको उपलक्ष्यमा गत साता इजिप्टमा भएको कार्यक्रममा बोल्दै ट्रम्पले आफ्ना प्रमुख कूटनीतिक मध्यस्थकर्ता स्टीभ विट्कफतर्फ फर्किएर नयाँ आग्रह गरेका थिए। "हामीले रुसको काम पनि फत्ते गर्नु पर्छ," उनले भने।
जेजस्तो परिस्थितिका कारण ट्रम्प र उनको टोली गाजामा सफल भएको भए पनि चार वर्षदेखि चल्दै आएको रुस र युक्रेनमा युद्धमा त्यही कुरा लागु गराउन कठिन हुन सक्छ।
युक्रेन र गाजाको फरक पृष्ठभूमि

तस्बिर स्रोत, Getty Images
विट्कफका अनुसार कतारको वार्तामा सहभागी भएका हमासका मध्यस्थकर्ताहरूलाई आक्रमण गर्ने इजरेलको निर्णयले सम्झौताका लागि इजरेलमाथि दबाव बढाउने पृष्ठभूमि तयार गर्यो।
इजरेलको यो कदमले अरबस्थित अमेरिकाका सहयोगी देशहरूलाई क्रुद्ध बनायो। तर अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूमाथि सम्झौताका लागि दबाव बढाउने अवसर पनि पाए।
विगतदेखि नै इजरेलको पक्ष लिएको फाइदा पनि ट्रम्पले यो पटक लिए। अमेरिकी दूतावास जेरुसलेममा सार्नेदेखि वेस्ट ब्याङ्कमा इजरेलले बसाउने बस्तीलाई कानुनी मान्यता दिने अनि सबैभन्दा पछिल्लो पटक इरानमा इजरेलले सुरु गरेको सैन्य अभियानलाई समर्थनको विषयसम्म अमेरिकाले इजरेललाई साथ दिएको थियो।
ट्रम्पका लागि एउटा अर्को लाभदायक परस्थिति थियो - इजरेलीहरूमाझ प्रधानमन्त्री नेतन्याहूभन्दा अमेरिकी राष्ट्रपति लोकप्रिय भइसकेका थिए। यो अनौठो अवस्थाले उनलाई इजरेली नेताहरूमाथि प्रभाव बढाउन सके।
यो क्षेत्रका प्रभावशाली अरब देशहरूसँग ट्रम्पको राजनीतिक र आर्थिक सम्बन्धका साथै सम्झौताका लागि दबाव दिने कूटनीतिक बल पनि ट्रम्पसँग थियो।
गाजाभन्दा ठिक विपरीत युक्रेन युद्धमा ट्रम्पलाई निकै कम मात्र यस्तो परिस्थिति छ। विगत नौ महिनामा ट्रम्प कहिले पुटिनसँग त कहिले जेलेन्स्कीसँग नजिक देखिएका छन्। तर त्यसको प्रभाव खासै देखाउन सकेका छैनन्।
ट्रम्पले रुसको ऊर्जा निर्यातमा थप प्रतिबन्ध लगाउने र युक्रेनलाई नयाँ लामो दूरीमा मार हान्न सक्ने अस्त्र दिने चेतावनी दिएका छन्। तर यो कदमले वैश्विक अर्थतन्त्रलाई असर पार्न सक्ने र युद्ध अझै चर्किने उनी आफैँले स्वीकार गरेका पनि छन्।
अर्कोतर्फ राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सार्वजनिक आलोचना पनि गरेका छन्। उनले युक्रेनसँग गुप्त सूचना आदानप्रदान गर्ने अभ्यास पनि केही समय रोकिदिए। उनले युक्रेनमा हतियारहरू पठाउने काम पनि केही समय स्थगित गरे। तर त्यो कदममा टिक्न सकेनन्। अमेरिकाका युरोपेली सहयोगी देशहरूले यस्तो कदमले पूरै क्षेत्रमा अस्थिरता ल्याउन सक्ने चेतावनी दिएपछि ट्रम्प पछि हट्न बाध्य भए।
ट्रम्प के चाहन्छन्

तस्बिर स्रोत, Getty Images
ट्रम्प वार्तामा बसेर सम्झौताका लागि मनाउन सक्ने आफ्नो क्षमतामा विश्वास गर्छन्। तर पुटिन र जेलेन्स्की दुवैजनासँगका उनका प्रत्यक्ष भेटवार्ताहरूले युद्ध अन्त्यतिर लैजाने छाँट देखाएको छैन।
कुनै न कुनै सम्झौता गर्ने ट्रम्पको चाहना र आफैँ संलग्न भएर त्यसो गर्नुपर्छ भन्ने मान्यतालाई पुटिनले उनलाई प्रभावित पार्ने माध्यम बनाउन सक्छन्।
रिपब्लिकन सांसदहरूले समर्थन गरेको रुसमाथि प्रतिबन्ध लगाउने प्रस्तावित कानुनलाई ट्रम्पले स्वीकृति दिने सङ्केत देखेपछि पुटिन जुलाईमा अलास्कामा ट्रम्पसँग शिखरवार्ता गर्न सहमत भए। फलतः उक्त योजना रोकियो।
गत साता अमेरिकाले युक्रेनलाई विभिन्न क्षेप्यास्त्र पठाउनेबारे विचार गरेको विवरण सार्वजनिक भएपछि पुटिनले ट्रम्पलाई फोन गरे। त्यसपछि ट्रम्पले बुडापेस्टमा शिखरवार्ता हुन सक्ने भन्न थाले।
त्यसको भोलिपल्ट ट्रम्पले जेलेन्स्कीसँग ह्वाइट हाउसमा भेटे। तर निकै तनावपूर्ण भयो भनिएको उक्त भेटबाट कुनै परिणाम निस्किएन।
ट्रम्पले आफूलाई पुटिनले नझुक्क्याएको दाबी गरे।
"तपाईँलाई थाहै छ मलाई जीवनभरि उनीहरूले झुक्क्याएका छन् तर म जोगिएको छु," उनले भने।
जेलेन्स्कीले के भने
तर पछि युक्रेनी राष्ट्रपतिले उक्त घटनाक्रमबारे टिप्पणी गरे।
"लामो दूरीमा प्रहार गर्ने क्षमताको विषय हाम्रा लागि टाढिनासाथ रुसको रुचि स्वतः कूटनीतिबाट कम भयो," उनले भने।
केही दिनमै ट्रम्पले युक्रेनलाई क्षेप्यास्त्रहरू पठाउने सम्भावनाबाट फड्किएर पुटिनसँग बुडापेस्टमा शिखर वार्ता गर्ने योजना बनाउन अनि जेलेन्स्कीलाई पूरै डोन्बास क्षेत्र र रुसले नियन्त्रणमा लिन नसकेको भूभाग पनि त्याग्न दबाव दिनसम्म भ्याएका छन्।
अहिले आएर उनले अहिले लडाइँ चलेको स्थानमा सङ्घर्षविराम गर्ने आह्वान गरेका छन्। तर रुसले त्यसो गर्न मानेको छैन।
गत वर्ष राष्ट्रपतीय निर्वाचनको अभियानका क्रममा ट्रम्पले केही घण्टामै युक्रेन युद्ध अन्त्य गराइदिने उद्घोष गरेका थिए। तर पछि उनले युद्ध अन्त्य गराउनु सोचेभन्दा कठिन भएको स्वीकार गरे।
आफ्नो सामर्थ्य सीमित छ भन्ने कुराको र दुवै पक्षले लडाइँ रोक्न नचाहेको अवस्थामा शान्ति स्थापना गर्ने आधार खोज्न कठिन हुन्छ भन्ने कुराको त्यो दुर्लभ स्वीकारोक्ति हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








