तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के हात्तीहरूले शोक प्रकट गर्छन्?
- Author, सुनेथ परेरा
- Role, बीबीसी न्यूज
भालु वा बाघ प्रजातिका कतिपय स्तनधारी जनावरहरूले प्रकृतिमा घुमिरहँदा आफ्ना बच्चाहरू मुखले च्यापेर सुरक्षित स्थानमा पुर्याएको दृश्य नौलो होइन। तर एउटा हात्तीले अझ उसको मरिसकेको छावालाई त्यस्तो गर्नुलाई ज्यादै असामान्य मानिएको छ।
जुन महिनाको अन्त्यमा एक जना स्थानीय वन्यजन्तु फोटोग्राफरले श्रीलङ्काको काउदुल्ल राष्ट्रिय निकुञ्जमा एउटा ढोईले मरेको आफ्नो छावालाई कैयौँ दिनसम्म आफूसँगै लिएर हिँडेको सो हृदयविदारक दृश्य खिचेका थिए।
"उनी त्यसलाई छाड्न तयार नै थिइनन्। त्यो हेर्नु कठिन थियो," फोटोग्राफर सञ्जय मधुसूदनले भने।
उनले आफूले गर्भमा दुई वर्ष राखेको उक्त छावालाई त्यो मरिसकेपछि छोटो समयका लागि मात्रै आफूसँग नराखेको उनले बताए।
"माउ हात्तीले त्यसलाई तीन दिनसम्म आफूसँगै लिएर हिँडिरहिन्," मधुसूदनले बीबीसीसँग भने।
उक्त अवधिमा सो ढोईले करिब १० किलोमिटर यात्रा गर्दा उनले त्यसलाई पछ्याएका थिए।
"पार्कका अधिकारीहरूले मलाई अघिल्लो दिन जन्मिने बित्तिकै उक्त छावाको ज्यान गएको बताएका थिए।"
के जनावरहरूले मृत्युलाई बुझ्छन्?
सन् २०११ को एउटा गणनाले उक्त दक्षिण एशीयाली प्रायद्वीपमा झन्डै ७ हजार हात्तीहरूको बसोबास रहेको देखाएको थियो। यसको अर्थ सानो आकार भएको श्रीलङ्कामा हात्तीको सङ्ख्याको घनत्व संसारकै उच्च मध्येमा पर्छ।
'एलिफास म्याक्सीमस म्याक्सीमस' श्रीलङ्काको रैथाने हात्ती उपप्रजाति हो र यो एशियाली हात्तीहरूमध्ये सबैभन्दा ठूलो र कालो खालको हात्ती हो।
काउदुल्ल राष्ट्रिय निकुञ्ज यी विशाल हात्तीहरूका लागि प्रख्यात रहेको छ।
"मैले यहाँ ३०० वटाभन्दा बढी हात्तीहरू भेला भएको देखेको छु। नियमित रूपमा यस्तो भीडहरू देखिएपनि मैले यस्तो भावनात्मक दृश्य देखेको यो पहिलो पटक हो।"
"तर उक्त ढोईले किन यस्तो व्यवहार देखाइ? के उसले शोक व्यक्त गरिरहेकी थिई? वा यो एउटा संयोग मात्रै थियो?," उनी भन्छन्। सामाजिक सञ्जालमा धेरै जनाले यस्तो धारणा राखिराख्दा उक्त हात्तीले छावालाई तानिरहेको दृश्य भाइरल भएको थियो।
लिएन प्रोप्स यूकेस्थित पोर्ट्समाउथ विश्वविद्यालयको जनवार व्यवहार सम्बन्धी विषयकी एशोसिअट प्रोफेसर हुन्। उनी उक्त प्रश्नको जवाफ दिन कठिन रहेको र यस्तो दृश्य संसारका विभिन्न ठाउँमा विगतमा पनि देखिएको बताउँछिन्।
उनले भनिन्, "अरू जनावरहरूको दिमागमा के खेलिरहेको हुन्छ र उनीहरूले मृत्युलाई कुन हदसम्म बुझ्न सक्छन् र मृत्यु शाश्वत रहेको र यसलाई उल्टाउन नसकिने विशेषताबारे उनीहरू के सोच्छन् भनेर बुझ्नु वास्तवमै चुनौतीपूर्ण छ।"
श्रीलङ्काको युनिभर्सिटी अफ पेराडेनिया भेटेरिनरी फ्याक्लटीका हात्ती विज्ञ प्राध्यापक अशोक डङ्गोल्लाले उनले यस्तो व्यवहार स्थानीय स्तरमा पहिलो पटक देखेपनि आफूलाई आश्चर्य नलागेको बताए।
"किनभने त्यहाँ भावना हुन्छ र हात्तीहरूले भावना व्यक्त गर्छन्। माउ र छावाबीचको सम्बन्ध घनिष्ठ हुन्छ," उनले बीबीसीसँग भने।
"मैले विशेष गरी बाँदरका विभिन्न प्रजातिमा बेला बेलामा यस्तो देखेको छु। तर विकासक्रमको हिसाबले नै आदिम खालको मानिने हात्तीले यस्तो व्यवहार देखाउनु अलिकति अचम्म पार्ने कुरा हो।"
डाक्टर प्रोप्स उक्त जनावर झुक्किएको हुनसक्ने बताउँछिन्।
"तर उक्त छावालाई त्यसरी तानेर लैजाने जस्तो काम आम रूपमा हात्तीहरूले जीवितै रहेका आफ्ना बच्चाहरूलाई गर्दैनन्। त्यही भएर मलाई लाग्छ त्यसमा केही भावनात्मक सम्बन्ध जोडिएको छ।"
यस्तो खालका जनावरहरूका प्रतिक्रियाहरूलाई मृत्युको तुलनात्मक अध्ययन गर्ने एउटा नयाँ वैज्ञानिक क्षेत्र अन्तर्गत अध्ययन गर्ने गरिएका भन्दै उनले त्यो व्यवहारमा केन्द्रित हुने गरेको बताइन्।
उनी थप्छिन्, "उनीहरूले यस्तो खालका खबरहरू र घटनाहरूलाई ल्याएर व्यवस्थित रूपमा अध्ययन गरेर जनवारहरूले मृत्युबारे के थाहा पाएका हुन्छन् भनेर बुझ्ने प्रयास गरिरहेका छन्।"
अरू जनावरमा यस्तै घटना के के छन्
यस्तो व्यवहार देखाउने जनावरमा हात्ती एक्लो होइन। बाँदर, ह्वेल र डल्फिनहरू पनि आफ्ना मृत साथीहरूसँगै बसिरहेको देखिएका छन्।
सन् २०१८ मा तालेक्ह नामक एउटा किलर ह्वेलले १७ दिनसम्म प्रशान्त महासागरमा आफ्ना बच्चाहरूलाई तानिरहेको दृश्य देखा परेपछि त्यसले संसारको ध्यान खिचेको थियो।
यसै वर्षको सुरुमा त्यही ह्वेल आफ्नो अर्को बच्चा गुमाएपछि शोकमा पुगेको जस्तो देखिएको अमेरिकास्थित सेन्टर फर ह्वेल रिसर्चले जनाएको छ।
"त्यसको अर्थ उनले खान छोडिन् किनभने उनले बच्चालाई आफ्नो नाकमा रोष्ट्रम पनि भनिने चुच्चोमा मिलाएर राखेको जस्तो देखिन्थ्यो। उसको शरीरको तौलको कम भयो तर उसले त्यो बच्चालाई केही हप्तासम्म राखिरहिन्।"
सन् २०२४ मा गरिएको एउटा अध्ययनमा भारतमा हात्तीहरूको बथानले माटोको प्रयोग गरेर छावालाई पुरिरहेको देखिएको थियो। त्यसलाई कतिपयले छावालाई जमिनमा गाडिएको अर्थमा व्याख्या गरेका थिए।
डाक्टर प्रोप्स भन्छिन्, "हात्ती पुरिएको यो विवरण मेरो विचारमा व्याख्या गर्नका लागि कठिन हो। विशेष गरी, यसमा अरू प्रजातिहरू पनि छन्।जसमा कमिला र मुसाका प्रजातिहरू पर्छन् तिनले पनि आफ्ना मृतकलाई नियमित रूपमा माटोमा पुर्छन्।"
श्रीलङ्कामा वन फडानी र हाल चलिरहेका विकासका कामहरूले गर्दा मानव र हात्तीबीचको द्वन्द्व तीव्र गतिमा बढिरहेको छ। त्यसले प्रत्येक वर्ष दर्जनौँ हात्तीहरूको ज्यान लिएको छ र कैयौँ बच्चा हात्तीहरू माउ बिनाका टुहुरा भएका छन्।
हात्तीहरूले आफ्नो ज्ञान एउटा पुस्ताबाट अर्कोमा हस्तान्तरण गर्ने प्रक्रियामा ढोईको महत्त्वपूर्ण भूमिका हुन्छ र छावाहरूले ठूला हात्तीबाट सिक्ने गर्छन्।
"अधिकांश अवस्थामा बढी उमेर भएकाहरूले समूहमा नै ज्यान गुमाउने गर्छन्। जब त्यस्तो हुन्छ, मानवहरू जस्तै हात्तीहरूसँग कसैबाट सिक्ने कुरा हुँदैन र उनीहरूले सही रूपमा कसरी व्यवहार गर्ने बुझ्न सक्दैनन्। त्यही भएर परिवार टुट्दा त्यसले निक्कै धेरै चोट दिन सक्छ," डाक्टर प्रोप्स भन्छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।