तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जङ्गली हात्तीहरू बारम्बार बाहिर निस्किनुका कारण
- Author, ईश्वर जोशी
- Role, चितवन
चितवन-पर्सा क्षेत्रमा लगभग ६० वटा जङ्गली हात्ती रहेको अनुमान छ जसमध्ये केहीले मानवबस्तीमा छिरेर बारम्बार दु:ख दिने गरेका छन्।
चितवनमा हात्तीको इतिहास निकै पुरानो भए पनि यी जङ्गली हात्तीहरू कहाँ र कहिलेबाट यहाँ आए भन्ने यकिन छैन। जङ्गली हात्तीहरू भारतको आसामबाट झापासम्म आइपुग्ने गरेको पाइन्छ।
हात्तीका केही समूह बाहुनडाँगी हुँदै कोशी टप्पुसम्म आउने गरेका हात्तीका विषयमा विद्यावारिधि गरेका बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले बताए।
अहिले पनि नेपालका पूर्वी क्षेत्रमा समूह-समूहमा जङ्गली हात्तीहरू रहेका उनी बताउँछन्। तीनैमध्ये समूहबाट छुट्टिएका केही भाले हात्ती बाहुनडाँगीबाट चितवन-पर्सा क्षेत्रसम्म आउने गरेका हुन्।
कति अनुशासित हुन्छन्?
हात्तीहरू समूहमा बस्छन्। हात्तीको समूहमा अनौठा नियमहरू हुने गरेका वार्डेन राम बताउँछन्।
उनका अनुसार जङ्गली हात्तीहरू सबैभन्दा पाको ढोईको नेतृत्वमा हिँड्ने गर्छन्। निर्देशनको पालना नगर्ने भाले हात्तीलाई समूहबाट खेदिन्छ।
त्यसरी खेदिएका हात्ती एक्लै हिँड्छन् र लामो दूरी तय गर्ने क्रममा मानवबस्तीमा छिर्छन् वा मान्छेहरूसँग जम्काभेट हुने गरेको देखिन्छ।
वार्डेन रामका अनुसार हात्तीको समूहमा बलियो भाले हात्तीले मात्रै सन्तानोत्पादन गर्न पाउँछ। अनुशासनमा नबस्ने भाले हात्ती समूहमा बस्न पाउँदैन।
समूह छाडेका हात्तीले लामो दूरी तय गर्नुका पछाडि तीनवटा कारण देखिने गरेको राम बताउँछन्। खाना तथा ढोईको खोजीका साथै समूह छाडेर पुर्खाले हिँडेको बाटो पछ्याउन खोज्दा ती हात्तीहरू समस्यामा पर्ने गरेका छन्।
कति खाना आवश्यक पर्छ?
जानकारहरूका अनुसार एउटा हात्तीलाई दैनिक झन्डै दुई सय किलोग्राम खाना र त्यति नै पानी चाहिन्छ। हात्तीहरू स्वादिलो बाली, घरेलु जाँड र नुन खोज्दै गाउँ छिर्ने गरेको पाइन्छ।
हात्तीहरूले घरेलु जाँडको गन्ध मन पराउने गरेको देखिन्छ। त्यसैले तिनीहरू जाँड भएको घरमा जाने गरेको जानकारहरू बताउँछन्।
पर्सा आसपास समूहबाट छुट्टिएका सात वटाजति भाले हात्ती रहेकामा तीमध्ये चारवटाले अलि दु:ख दिने गरेका छन्।
मानव बस्तीमा छिरेर धेरै दु:ख दिने ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनामध्ये स्वीप अपरेशनका क्रममा आक्रामक भएपछि बचाउका क्रममा चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको थियो।
किन आक्रामक हुन्छन्?
जङ्गली जनावरमध्येकै ठूलो शरीर हुने भएकाले हात्तीलाई धेरै खानाको आवश्यकता पर्छ।
खानाको लोभमा हात्तीहरू रातको समयमा मानिसका घरमा पस्दा दुर्घटना हुने गरेको वार्डेन राम बताउँछन्।
गाउँमा हात्ती छिरेपछि गाउँलेहरूले होहल्ला गर्नुका साथै कतिपय बेला घेरेर ढुङ्गामुढा गर्ने वा पटाका पड्काउनेजस्ता कार्य गर्दा हात्तीहरू उल्टै आक्रामक हुने गरेका छन्।
मानिसले त्यसो नगरी फर्केर जङ्गलतर्फ जाने बाटो छाडिदिएको अवस्थामा उनीहरू आक्रामक नहुने विज्ञहरू बताउँछन्।
उनीहरूका अनुसार दु:ख दिने व्यक्तिलाई हात्तीहरूले पहिचान गर्ने र पछि भेट्टाएको खण्डमा पनि आक्रमण गर्ने गर्छन्।
यद्यपि समूह बाहिर रहेका ध्रुवे, रोनाल्डो र गोविन्देबाहेकका अन्य चारवटा हात्ती भने शान्त रहने गरेको वार्डेन रामले बताए।
गाउँ-गाउँमा त्रास
जङ्गली हात्तीले चितवनको माडी, मेघौली, जगतपुर र सौराहा क्षेत्रमा बढी समस्या उत्पन्न गराउने गरेका छन्। मान्छेलाई आक्रमण गर्ने तथा घर भत्काइदिनुका साथै उनीहरू घरपालुवा हात्ती भएको ठाउँमा जाने गरेका छन्।
रोनाल्डो र गोविन्दे दिनहुँ सौराहाका बस्तीमा छिर्ने गर्दा जोखिम बढेको स्थानीय बताउँछन्।
जङ्गली हात्तीले केही समयअघि सौराहामा मानवीय क्षतिसमेत पुर्याएको थियो। त्यसका साथै बाली खाइदिने र भौतिक संरचनामा क्षति पुर्याउने गरेका बाघमारा मध्यवर्ती सामुदायिक वनका निवर्तमान अध्यक्ष जीतु तामाङ्गले बताए।
सौराहामा बेलाबेला देखिने गरेका दुईवटा जङ्गली हात्ती सौराहाका होटल व्यवसायीहरूले पालेका पोथी हात्ती भएका ठाउँमा पनि जाने गरेको उनले बताए।
जङ्गली हात्तीको आक्रमणबाट ;सात वर्षयता २१ जनाको ज्यान जानुका साथै ३७ जना घाइते भएका छन्।
त्यस्तै १५ वटा घरगोठमा क्षति पुर्याएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए। कसरा वरपर ध्रुवेले दु:ख दिने गरेको छ भने सौराहा आसपास रोनाल्डो र गोविन्दे तथा गबई क्षेत्रमा थप एउटा भाले हात्ती देखापर्ने गरेका निकुञ्जका वार्डेन गणेश पन्तले बताए।
नियन्त्रण र व्यवस्थापनका प्रयास
जङ्गली हात्ती गाउँ छिर्ने क्रम बढेसँगै निकुञ्जले नियन्त्रणका लागि विभिन्न काम गर्दै आएको वार्डेन पन्त बताउँछन्।
उनका अनुसार दु:ख दिने हात्तीमा 'रेडियो कलर यन्त्र' जडान गरेर निगरानी राख्ने, कहाँ छ र कता जाँदै छ भन्नेबारे स्थानीयलाई पूर्वसूचना दिने तथा हात्तीको दाह्रा काट्नेजस्ता काम भएका छन्।
त्यस्ता हात्ती धेरै उत्तेजित भएमा तिनका गतिविधि कम गर्न 'प्रफिनाजिन' नामको औषधि दिने गरिएको निकुञ्जका वन्यजन्तु प्राविधिक किरण रिजालले बताए।
सौराहाका व्यवसायीहरू पनि जङ्गली हात्तीहरूलाई व्यावसायिक प्रयोजनका निम्ति पालिएका ढोईहरूसम्म पुग्न नदिने उपायकाबारेमा छलफल गरिराखेका छन्।
पालिएका हात्तीहरूलाई होटेल आसपास नै राखिने गरेका कारण जोखिम बढेपछि सुरक्षित तरिकाले एकै स्थानमा राख्न सकिने सम्भावनाबारे छलफल भइरहेको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।