तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
काठमाण्डू नगरप्रहरीको व्यवहारका कारण बालेनविरुद्ध प्रदर्शन
आफ्नो क्षेत्रभित्र ठेलागाडा, साइकल तथा फुटपाथमा व्यापार गर्नेहरूलाई व्यवस्थित गर्ने नाममा काठमाण्डू महानगरपालिका र नगरप्रहरीले “अमानवीय व्यवहार गरेको” भन्दै केही व्यक्तिहरूले बुधवार प्रदर्शन गरेका छन्।
बुधवार बिहान पानी परिरहेका बेला महानगरपालिकाको मूलद्वारमा पुगेका उनीहरूले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाउँदै महानगरको कदमको व्यवहारको विरोध गरेका थिए।
सामाजिक सञ्जालमा उक्त प्रदर्शनका तस्बिर तथा भिडिओहरू पनि आएको देखिएको छ।
काठमाण्डूको मेयर बन्नुअघि बालेन्द्र शाहले उक्त गीत र्याप शैलीमा ढालेर गाएका थिए।
सामाजिक सञ्जालमा काठमाण्डू महानगरका नगर प्रहरीले साइकलमा डुलाएर आँप बेचिरहेका एक व्यक्तिलाई लछारपछार गर्दै आँप पोखिदिएको भिडिओ ‘भाइरल' भएको पृष्ठभूमिमा उक्त विरोध प्रदर्शन भएको हो।
उक्त भिडिओलाई लिएर सामाजिक सञ्जालमा पनि मेयर शाहलाई जोडी पक्ष र विपक्षमा टिप्पणीहरू भइरहेका छन्।
महानगरका नगरप्रहरी प्रमुखले चाहिँ “पुरानो भिडिओ भाइरल बनाएर आलोचना गरिएको र त्यस्ता गतिविधिमा संलग्न नगर प्रहरीहरूलाई पहिले नै कारबाही गरिसकिएको” बताएका छन्।
आन्दोलनकारी के भन्छन्?
बुधवार पानी परिरहेका बेला महानगरपालिको मुख्यद्वारअघि छाता ओडेर केही व्यक्तिहरू विरोधका लागि पुगेका थिए।
सामाजिक सञ्जालबाट सार्वजनिक भएका उक्त विरोध प्रदर्शनका तस्बिरहरूमा उनीहरूले ‘गरिखान देऊ’, ‘बालेन-सुनिता कृपया समानुभूति राख’, ‘मेयर बालेन मानवअधिकार हननकर्ता हुन्’ आदि लेखिएका प्लाकार्ड बोकेको देखिन्छ।
आन्दोलनमा सहभागीमध्येका एक बृहत् नागरिक आन्दोलनका प्राध्यापक सञ्जीव उप्रेतीले “महानगरपालिकाले देखाएको अमानवीय व्यवहारप्रति असहमति व्यक्त गर्न विरोध प्रदर्शनमा सामेल भएको” बताए।
कतिपयले उक्त प्रदर्शनलाई राजनीतिप्रेरित भनिरहेकोबारे सोधिएको प्रश्नमा उनले भने, “कसले आन्दोलन गर्छ भन्ने भन्दा पनि हाम्रो समर्थन भनेको मुद्दामा मात्र हो।”
उनले केपी शर्मा ओलीले संसद् विघटन गरेका बेला त्यसको विरोध गर्दा एमालेविरोधी, रुबी खानको समर्थन गर्दा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाविरोधी र अहिले कतिपय मुद्दामा विरोध गर्दा प्रचण्डविरोधी भन्ने आरोप आफूहरूलाई लागेको बताए।
तर आफूहरूले मुद्दाका आधारमा मात्र समर्थन वा विरोध गर्ने गरेको र अहिले देखिएका गतिविधि "अमानवीय भएकाले" त्यसको विरोध गरेको उनको भनाइ छ।
उप्रेतीले भने, “सहरको सुन्दरताको मापन चिल्ला सडकले मात्र हुँदैन। गरिबप्रति सहरले कस्तो व्यवहार गर्छ भन्ने आधारमा पनि हुन्छ।”
“हामीले बालेनजीको विरोध मात्र गरेका छैनौँ। उहाँले मिटरब्याज पीडितलाई शान्तिवाटिकामा बस्न दिनुभयो। त्यसको हामीले कदर नै गरेका छौँ।”
उप्रेतीले सहर सुन्दर बनाउनुपर्छ भन्ने कुरामा सबैको सहमति भए पनि त्यसका लागि गरिएका गलत कार्यको मात्र विरोध गरिएको बताए।
“सहर गरिबहरूको पनि हो भन्ने बोध हुनुपर्यो र त्यो व्यवहारमा झल्कनुपर्यो,” उनले भने।
सञ्जालमा पनि विरोध र समर्थन
नगरप्रहरीले साइकलमा आँप बेच्न गर्न हिँडेका व्यक्तिलाई नियन्त्रणमा लिएर साइकल लडाइदिएको र आफँ छरिदिएको भिडिओ भाइरल भएपछि कैयौँले मेयर शाहलाई सामाजिक सञ्जालबाटै प्रश्न गरेका छन्।
कतिपयले शाहले चुनावअघि टेलिभिजनहरूमा दिएका अन्तर्वार्ताका क्रममा साना व्यापारीलाई व्यवस्थापन गर्ने विषयमा दिएका अभिव्यक्तिका भिडिओलाई जोडेर पनि सामाजिक सञ्जालमा राखेका छन्।
चुनावअघि उनले सञ्चारमाध्यमसँग नगरप्रहरीको काम कुनै पनि साना व्यापारीको सामान “फाल्दिने” नभएको बताएका थिए।
अहिले मानिसहरूले उनको उक्त अभिव्यक्ति र भाइरल भएको नगर प्रहरीले आँप व्यापारीलाई लछारपछार गरेको भिडिओ जोडेर प्रश्न उठाइरहेका छन्।
चुनावअघि एउटा टेलिभिजन अन्तर्वातर्तामा शाहले भनेका छन्, “…नगरवासीसँग कसरी बोल्ने? आदरपूर्वक कसरी काम गर्ने? सबै कुरालाई परिवर्तन गर्नुपर्छ किनभने नगरप्रहरीको काम त्यो होइन, नगरप्रहरीको काम व्यवस्थापन गर्नु हो नि!”
उक्त अन्तर्वार्तामा उनले मेयरको काम पनि साना व्यापारलाई सीमित क्षेत्र घोषणा गरेर फुटपाथभन्दा बाहेक चलाउनुपर्ने बताएका छन्।
उनले त्यस्ता व्यवसायका लागि निश्चित समय तोक्न पनि सक्ने उनको धारणा रहेको थियो।
हालै हिन्दी भाषाको भारतीय पत्रिमा दैनिक भाष्करमा प्रकाशित एउटा अन्तर्वार्तामा चाहिँ उनले फुटपाथ व्यवसायलाई निसाना बनाएर कारबाही नगरिएको तर “कानुन कार्यान्वयन” गराउन खोजिएको बताएका छन्।
त्यसमा उनले व्यापार 'वैध' र 'अवैध' दुईखाले हुने भन्दै अवैध व्यापारलाई वैध बनाउन खोजिएको दाबी गरेका छन्।
अहिले चर्चामा रहेको प्रकरणबारे महानगर प्रहरी के भन्छ?
काठमाण्डू महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले पछिल्लो प्रकरणमा भाइरल भएको भिडिओ पुरानो भएको दाबी गरेका छन्।
उनले भने, “यो दुई महिनाअघिको घटना हो। अहिले तत्काल भएको होइन। त्यो दुई महिनाअगाडिको भिडिओलाई टिकटकमा फेरि हालिएको रहेछ।”
यद्यपि उनले नगरप्रहरीबाट त्यस्ता केही गतिविधि भएको पाइएको र संलग्नहरूलाई कारबाही गरिसकिएको जानकारी दिए।
पाण्डेले बीबीसीसँग भने, “काम गर्ने सिलसिलामा राम्रोसँग काम नगर्ने प्रहरीलाई त हामी कारबाही गरिहाल्छौँ। कारबाही भनेको विभागीय गर्ने हो। उसलाई कारबाही गर्ने स्पष्टीकरण गर्ने र काउन्सिलिङ गर्ने गरिरहेका छौँ।”
“यो कुरा आइसकेपछि पनि हामीले हेर्यौँ। यो भिडिओ दुई महिनाअघिको हो। त्यसै बेला त्यसमा संलग्नहरूलाई कारबाही भएको थियो।”
उनले नगर प्रहरीलेकार्यशैली पनि सुधार गरिसकेको दाबी गरे।
कति जनालाई भयो कारबाही?
पाण्डेका अनुसार महानगरपालिकाले अभद्र व्यवहार गर्ने नगरप्रहरीहरूलाई कारबाही गर्ने गरेको छ।
त्यस क्रममा आफूले पद सम्हालेपछि पटकपटक गरेर १२ जनालाई कारबाही गरिसकेको उनले बताए।
उनका अनुसार तीमध्ये सेवा करारमा रहेका सात जनालाई सेवाबाटै हटाएको र अन्य पाँच जनालाई विभागीय कारबाही गरिएको छ।
महानगरपालिकाले हाल सेवा करारमा ११७ जना नगरप्रहरी राखेको छ।
महानगरमा नियमित दरबन्दीमा रहेका समेत गरेर कुल ३१९ नगरप्रहरी कार्यरत भएको उनले बताए।