'तिहारका लागि साँचेको फूलको माला अब आफन्तको शवमा'

शोकमा पूरै गाउँ

तस्बिर स्रोत, PRAKASH PANT/BBC

    • Author, प्रकाश पन्त
    • Role, जाजरकोट, बीबीसी न्यूज नेपाली

भूकम्पको तेस्रो दिन म जाजरकोटको अति प्रभावित क्षेत्र नलगाड नगरपालिका वडा नम्बर १ को चिउरी भन्ने ठाउँमा छु।

भूकम्पका कारण यहाँ मृत्यु भएका १३ जनाको सामूहिक दाहसंस्कार गर्ने तयारी भइरहेको थियो।

२५ जनाको ज्यान गएको यो गाउँ पूरै शोकमा डुबेको छ।

गाउँभरिका मानिसहरू लास वरपर कुरेर बसेको देखिरहेको छु।

कोही लासमा झिँगा नलागोस् भनेर तीतेपातीले हम्किरहेका छन् त केही आफन्तको शवमा लगाइदिन माला गाँसिरहेका छन्।

त्यसै गरी माला गाँसिरहेकी कमला रसाइलीसँग मैले कुरा गर्न खोज्दा उनी भूकम्पमा गुमाएकी बहिनी सम्झिएर भक्कानिइन्।

“बहिनीलाई बचाउन सकिएन। अब उसले के लिने थिई र, यही माला लिने भई,” उनले आँसु थाम्न सकिनन्।

कमला मात्रै होइन धेरै महिलाहरू यहाँ एकै ठाउँ पालमुनि बसेर माला गाँसिरहेका छन्।

बालबालिका र वृद्धवृद्धा पनि लास वरपर बसेका छन्। धेरैले यही ठाउँमा रात बिताए।

कोही निदाए। केहीले परकम्पको त्रासमा आँखा नझिम्काइ रात छिचोले।

तिहारलाई फुलेका सयपत्रीको माला आफन्तको शवमा

तिहारको मुखमा गाउँभरि फुलेका सयपत्री पक्कै पनि लक्ष्मीपूजाको दिन घर सजाउन र भाइटिकाको दिन दाजुभाइको गला सजाउन फुलाइएका थिए।

तर अहिले उनीहरू ती फूलका माला आफन्तको शवमा चढाउन गाँसिरहेका छन्। पूरै गाउँ वियोग र डरको दोहोरो मारमा बाँचिरहेको छ।

कसैको एकै परिवारमा चार जनासम्म गुमेका छन् त कसैको घरमा तीन, कसैको घरमा दुई।

तर यहाँ प्रत्येक मानिस शोकमा छन्। कोही परिवारका सदस्य गुमाएर, कोही आफन्त गुमाएर त कोही छिमेकी गुमाएर।

मैले कुरा गर्न खोज्दा धेरैले भक्कानिएर बोली पुर्‍याउन सकेनन्।

खुला ठाउँमा पुरुषहरू हरियो बाँस काट्न व्यस्त देखिन्छन्।

दाहसंस्कार गर्ने ठाउँसम्म लासहरू पुर्‍याउन उनीहरू बाँस काट्ने काम गरिरहेका छन्।

अनि साना नानी भएका आमाहरू बारीमा चुलो बनाएर केही पकाइरहेका छन्।

“हाम्रो घरमा खाने अन्न सबै पुरियो। धेरै घरमा त्यस्तै भएको छ। जसको घरमा अन्न जोगियो त्यही घरको बाँडेर खाइरहेका छौँ,” एक स्थानीयले मसँग भनिन्।

यो चिउरी भन्ने गाउँ वरपर घुम्दा मैले मुस्किलले सग्ला घर देख्न सकेको छु।

केही घर पूर्ण रूपमा भत्किएका छन्। केही आंशिक रूपमा क्षति पुगेको छ भने केहीमा चिरा परेको छ।

बजार वरपर केही सग्ला घर देखिए पनि पूरै गाउँमा अधिकांश घर भत्किएका छन्।

राहतको पर्खाइमा बसेका यहाँका गाउँलेहरू अझै पनि गाँस र बाँसको आशामा बसेका छन्।

माला गाँस्दै गाउँले

तस्बिर स्रोत, PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन, तिहारका लागि फुलेका सयपत्रीको फूल आफन्तको शवमा लगाइदिन माला गाँस्दै गाउँले

हिजो अपराह्न १२ बजे सुर्खेतको वीरेन्द्रनगरबाट केही गाडी राहत सामग्री बोकेर म प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि आएको थिएँ।

६ बजेतिर सदरमुकाम आइपुग्दा खलङ्गामा सडक आसपासका बजार खुलेका थिए। धेरै मानिसहरू सडक छेउछाउमा थिए। त्यहाँबाट जिल्ला अस्पताल पुगेँ।

भूकम्पपीडित चार जनाको उपचार भइरहेको थियो। ५५ जना बिरामीलाई सुर्खेत र नेपालगन्ज पठाइएको चिकित्सकहरूले जानकारी दिए।

अस्पतालबाहिर एम्बुलेन्स र स्वास्थ्यकर्मीहरू परिचालित नै थिए।

जति भूकम्प प्रभावित क्षेत्र नजिकिँदै आयो मानिसहरू त्यति नै भूकम्पले दिएको पीडा र परकम्पको डरबाट झस्किरहेका देखिन्थे।

अलि अगाडि रहेको त्रिभुवन माध्यमिक विद्यालयमा राहत सामग्रीहरू थुप्रिएको थियो।

बिजुली नभएका कारण मानिसहरू अँध्यारोमा टर्च बालेर ती सामाग्रीको थान्कोमुन्को गरिरहेका थिए।

एक द्वार प्रणालीबाट राहत सामग्री सङ्कलन गर्ने र त्यसपछि बाँड्ने भन्ने देखियो जसका कारण भूकम्पले क्षति पुर्‍याएको गाउँमा राहत आइपुग्न सकेको छैन।

राहत थन्कियो, अभावमा रहेकाले पाएनन्

खानाको जोहो

तस्बिर स्रोत, PRAKASH PANT/BBC

भूकम्पले सबैभन्दा धेरै क्षति जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा पुर्‍याएको छ। नलगाड नगरपालिकामा मात्रै ५६ जनाको मृत्यु भएको छ।

यहाँ आउने क्रममा बाटोमा रुकुम पश्चिमको छेपारे भन्ने ठाउँमा घर भत्किएको र पशुहरू मरेको देखेँ। क्षतिपूर्ति नपाइएला भनेर राहतको आशामा ती मरेका भैँसीहरू मानिसहरूले त्यतिकै छोडेका छन्।

छेपारे गाउँमा पाँच जनाको मानिस मरेको भन्ने विवरण पाएँ। बाटोमा आफन्तको दाहसंस्कार गरेर फर्किएका किरिया पुत्री आइरहेको देखेँ।

त्यहाँ १४/१५ जना मानिसहरू खुला आकाशमै रात बिताइरहेका थिए।

गाउँलेले जसको घरबाट अन्न झिक्न सकियो त्यही बाँडेर खाएको बताए। महिला, बालबालिका र वृद्धाहरू पहाडको चिसो सिरेटोमा जाडोबाट जोगिन आगो बालेर बसिरहेका थिए।

मलाई आश्चर्य के लाग्यो भने एक द्वार प्रणालीबाट राहत बाँड्ने भन्दा अत्यधिक अभावमा रहेका गाउँलेहरूलाई राहत सामाग्री पाउन समय लाग्नेछ।

बरु कुनै ठाउँ तोकेर सामग्री बाँड्न थाले उनीहरूलाई पीडाका माझ केही राहत हुने थियो।

प्रभावित जाजरकोट र पश्चिम रुकुममा मानिसहरू आफन्त गुमाएको पीडामा मात्रै होइन फेरि परकम्पहरू आउँछ भन्ने त्रासमा छन्।

राति पनि भूकम्पको धक्का गइरहेका कारण सुत्न नसकेको उनीहरू बताउँछन्।

जिल्ला प्रशासन कार्यालयले मानिसहरूलाई घर बाहिरै बस्न निर्देशन दिएको थियो।

पीडित गाउँलेहरूसँग म पनि एउटा टिनले बारेको विद्यालयमा राति सुतेको थिएँ।

भूकम्पको धक्का गइरहँदा सुख्खा पहिरो अहिले पनि आइरहेको देख्न सकिन्छ।

“फेरि भूकम्प गयो भने गाउँ नै भासिने वा बगाउने हो कि?,” एक स्थानीय बासिन्दा प्रदीप विकले भने।

“मर्ने त मरेर गए। तर हामी जतिन्जेल बाँचौला डर डरमा बाँच्ने भयौँ। बाचुन्जेल राम्ररी बाँच्न पाए हुन्थ्यो। कति दिन हो कष्ट बेहोर्नुपर्ने?”

भूकम्प गएको भोलिपल्ट प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म प्रभावित क्षेत्रको अवलोकन गर्न आएका थिए। तर उनीहरू आएको क्षेत्र नजिकै गाउँका मानिसहरूले राहत पाएका छैनन्।

कतिपय ठाउँमा भने सुरक्षाकर्मीहरू प्रधानमन्त्री र मन्त्रीको सुरक्षामा खटिँदा उद्धार र राहतमा भन्दा उनीहरूको सुरक्षामा धेरै समय बितेको भन्दै गाउँलेले गुनासो गरेको देखियो।

गाउँलेको गुनासो र आशा

भूकम्पको क्षति

तस्बिर स्रोत, PRAKASH PANT/BBC

तस्बिरको क्याप्शन, भत्किएको घरअगाडि एक स्थानीय महिला

समयमै उद्धार हुन सकेको भए धेरैको ज्यान जोगाउन सकिने भन्दै गाउँलेहरूले गुनासो गरेका छन्।

सरकारले अब भूकम्पबाट नढल्ने सुरक्षित घरहरू बनाइदिए हुन्थ्यो भन्ने आशा गाउँलेहरूको रहेको छ। आफन्त गुमाएको पीडा र भूकम्पको धक्काको त्रासमा रहेका गाउँलेहरूलाई परामर्श दिनुपर्ने आवश्यकता रहेको पनि मैले देखेँ।

स्थानीय सरकार र जनप्रतिनिधि पनि राहत बाँड्ने विषयमा अलमलमा परेको देखियो। घरको क्षतिको विवरण अब सङ्कलन गर्न सुरु हुन लागेको छ।

केही ठाउँमा भने सञ्चार हुन नसक्दा मानिसहरू आफन्त गुमाएको भन्ने झुटा विवरणका कारण पनि पीडामा छन्। मैले भेटेकी सम्झना विक भूकम्प जाँदा माइतीमा थिइन्। भूकम्पले माइतीघर भत्किँदा उनको फोन माटोमै पुरियो।

उनलाई घरका मानिसहरू भूकम्पमा परे कि भन्ने डर लाग्यो। कसैले सबै जनाको ज्यान गएको भन्दिएछन्। जुन साँचो थिएन। यसरी पनि मानिसहरू झुटा विवरणका कारण पनि चिन्तामा छन्।