नेपाली र अङ्ग्रेजी भाषामै किन कमजोर छन् विद्यार्थी

कक्षा १२ को परीक्षाफल
तस्बिरको क्याप्शन, कक्षा १२ को परीक्षाफल हेर्दै १२ कक्षाकी विद्यार्थी

कक्षा १२ को परीक्षामा झन्डै आधा विद्यार्थी अनुत्तीर्ण भएकामा अनिवार्य अङ्ग्रेजीविषयमा धेरै विद्यार्थी कमजोर रहेको देखिएको छ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा केही दिन अघि सार्वजनिक नतिजाअनुसार परीक्षा दिएका कुल ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये अङ्ग्रेजी विषयमा एक लाख १,११३ जनाले ननग्रेडेड ल्याएका छन्।

अनुत्तीर्ण हुनेमा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा अनि त्यसपछि लेखा, सामाजिक शिक्षा र चौथोमा नेपाली भाषामा रहेका छन्।

अनिवार्य विषयमा पर्ने अङ्ग्रेजी र नेपाली भाषामा ठूलो सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुमा शिक्षा पद्धति, नयाँ ढाँचाको पाठ्यक्रम, विषयप्रति विद्यार्थी एवं अभिभावकको गम्भीरता नहुनु, कोरोनाभाइरसलगायत कारण रहेको शिक्षकले बताएका छन्।

समस्या कहाँ?

पछिल्ला वर्षमा अङ्ग्रेजी भाषामा विद्यालयहरूले जोड दिएको देखिए पनि माथिल्ला कक्षा उक्लिँदै जाँदा अनुत्तीर्ण हुनेको सङ्ख्या बढेको जानकारहरू बताउँछन्।

विद्यार्थीको पढ्ने शैली र शिक्षकको पढाउने शैली प्राथमिक तहदेखि नै नमिल्दा त्यसको असर १२ कक्षाको परीक्षाफलमा परेको र नतिजामा सुधार ल्याउन नसकिएको उनीहरूको ठम्याइ छ।

यो वर्ष अङ्ग्रेजी वा अन्य विषयमा राम्रो अङ्क ल्याउन नसक्नुमा ती विद्यार्थीहरू ९ र १० कक्षामा हुँदा कोरोनाभाइरसको महामारीका कारण शिक्षा क्षेत्र प्रभावित हुनु पनि रहेको काभ्रपलाञ्चोकस्थित चौँरीदेउरालीको श्रीप्रभा माध्यामिक विद्यालयका शिक्षक मोहन घिमिरे बताउँछन्।

बीबीसीसँग उनले भने, “कोभिड महामारीका कारण उनीहरूले १० कक्षामा पनि बोर्ड परीक्षा दिन पाएनन्। स्वत: पास भएका विद्यार्थीले परीक्षालाई गम्भीररूपमा नलिँदा र खासगरी अङ्ग्रेजी र नेपालीमा मेहनत नगर्दा पनि परीक्षाफल राम्रो आएन।”

पद्मकन्या क्याम्पसमा अङ्ग्रेजी विषय प्राध्यापन गर्दै आएकी कुमारी लामा चाहिँ अङ्ग्रेजी विषयलाई लिएर शहरी क्षेत्रका विद्यार्थीमा ‘अतिआत्मविश्वास’ का कारण पनि मेहनत नगर्दा परीक्षामा अनुत्तीर्ण हुने गरेको बताउँछिन्।

अङ्ग्रेजी बोल्न जानेका कारण भाषा आइहाल्छ भन्ने सोचका कारण उनीहरूले व्याकरणलगायत शुद्धतालाई ध्यान नदिँदा धेरै कम अङ्क आउने गरेको उनी ठान्छिन्।

१२ कक्षाको परीक्षाफल
तस्बिरको क्याप्शन, आफ्नो परीक्षाफल अनलाइनमार्फत् हेर्दै १२ कक्षाको परीक्षा दिएकी एक विद्यार्थी

‘पाठ्यक्रम परिवर्तन भयो, तालिम त्यो अनुसार भएन’

अङ्ग्रेजी विषयमा दुई वर्षअगाडि परिवर्तन भएको पाठ्यक्रमका कारण पनि धेरै विद्यार्थीलाई अहिले विषय कठिन भएको शिक्षकहरू बताउँछन्।

“लगभग २० वर्ष एउटै पाठ्यक्रम पढाइयो अनि दुई वर्षयता नयाँ पाठ्यक्रम आयो जसमा सुन्ने, बोल्ने, लेख्नेजस्ता प्रयोगात्मक अवधारणा ल्याउँदा त्यसैअनुसार पढाउन दक्ष जनशक्ति वा शिक्षक/शिक्षिकालाई तालिम नहुँदा पनि राम्ररी पढाइ हुनसकेको छैन,” लामो समय ११/१२ कक्षालाई पढाएकी शिक्षिका लामाले बताइन्।

२०७८ सालको मङ्सिरबाट लागु गरिएको लेटर ग्रेडिङ निर्देशिकाले प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको छ।

प्रयोगात्मक र सैद्धान्तिकमा फरक मूल्याङ्कन गर्दा धेरै विद्यार्थीको ननग्रेड आएको देखिएको उनीहरूले बताएका छन्।

पछिल्लो नतिजाअनुसार अङ्ग्रेजीमा १,५६७ जनाले मात्र ए प्लस ल्याएका छन्।

सैद्धान्तिकमा १,५६७ ले ए प्लस ल्याउँदा प्रयोगात्मकमा एक लाख ५३ हजार ९०७ जनाले ए प्लस ल्याएका छन्।

खासगरी शहरी भेगमा विद्यार्थीले बोल्न जानेको भरमा अङ्ग्रेजी भाषा जति सजिलो छ भन्ने सोच्छन् उनीहरूले परीक्षा दिँदा उनीहरू ननग्रेडमा पर्ने गरेको उनले बताइन्।

“अङ्ग्रेजी भाषा भनेपछि कक्षामा विद्यार्थीहरू ध्यान दिएर बस्दैनन्, कहिल्यै नोट बनाउँदैनन् अनि जाँचको अगाडि गेसपेपरहरू पढेर जाँच दिँदा व्याकरण मिलेको हुँदैन। त्यसले गर्दा नम्बर कम आउँछ,” उनले भनिन्।

‘अङ्ग्रेजीमा जग नै बलियो छैन’

राष्ट्रिय परीक्षा बोर्ड

तस्बिर स्रोत, Examination Board

ग्रामीण भेगमा त शिक्षकहरूको अनुपस्थिति, विद्यार्थीको जग कमजोर हुनु, शिक्षक/शिक्षिका नै परिमार्जित पाठ्यक्रम अनुसार तालिमप्राप्त नहुनु जस्ता समस्या रहेको उनी ठान्छिन्।

ग्रामीण भेगमा त्यसबाहेक पनि थुप्रै समस्या रहेकाले विद्यार्थीले राम्रो अङ्क ल्याउन नसकेको शिक्षक घिमिरे बताउँछन्।

धेरैजसो विद्यार्थीहरू आफ्नै मातृभाषामात्रै बुझ्ने हुँदा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाउन कठिन हुने गरेको उनको अनुभव छ।

त्यसबाहेक विद्यार्थीहरूले अनौपचारिक कुराकानीमा वैदेशिक रोजगारीमा श्रम गर्न जाने मनसाय राख्दा पनि पढाइमा ध्यान दिने नगरेको घिमिरेले बताए।

नेपाली भाषामा पनि किन कम अङ्क?

अङ्ग्रेजीमा मात्रै नभई नेपाली भाषामा पनि ठूलो सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण भएका छन्।

नेपालीको सैद्धान्तिकमा ३२ हजार ४९५ जनाको ननग्रेड आएको छ। त्यस्तै ऐच्छिक नेपालीमा १७ हजार ७५४ जना अनुत्तीर्ण भएका छन्।

नेपाली भाषामा पनि विद्यार्थीले राम्रो अङ्क ल्याउन नसक्नुमा अभिभावकदेखि विद्यार्थीसम्मले यो विषयलाई बेवास्ता गर्नु रहेको शिक्षकहरू बताउँछन्।

“नेपाली भाषा जान्नैपर्छ भनेर न अभिभावकले सोच्छन् न विद्यार्थीले। हामीले नेपाली भाषाप्रति विद्यार्थी र अभिभावकमा भोक जगाउनै सकेका छैनौँ,” ललितपुरस्थित टीका विद्याश्रम माध्यामिक विद्यालयमा कक्षा ११ र १२ मा नेपाली भाषा पढाउने शिक्षिका विमला लामिछानेले बताइन्।

“भाषाको विकास पहिला घर भित्रबाट गराउनुपर्छ। नेपाली पुस्तक पढ्ने भनेपछि बालबालिका पढ्नै मान्दैनन्।”

बालबालिकाको भाषा कमजोर हुनुमा शिक्षकहरू पनि उत्तिकै दोषी हुने उनी ठान्छिन्।

“हामी शिक्षक/शिक्षिकामा पनि कमजोरी होला। किनभने भाषिक सीपको विकास गराउन सकेका छैनौँ। सुनाइ, बोलाइ, लेखाइ, पढाइ जति कक्षामा गराउन सक्दैनौँ उनीहरूको भाषा त्यति नै कमजोर हुन्छ,” उनले भनिन्।

विद्यार्थीलाई भाषामा कसरी आकर्षित गर्ने?

फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

अङ्ग्रेजी विषय सम्पूर्ण रूपमा अङ्ग्रेजी भाषामा मात्रै पढाउँदा विद्यार्थीलाई बुझ्नै गाह्रो हुने गरेको एउटा सर्वेक्षणले देखाएको त्रिभुवन विश्वविद्यालयका अङ्ग्रेजी भाषाका अवकाशप्राप्त प्राध्यापक अभि सुवेदी बताउँछन्।

“अङ्ग्रेजी विषयमा पाठ्यक्रम र पढाउने तरिकामा समन्वय हुनुपर्छ। पढाउने बेलामा शिक्षकले विद्यार्थीसँग अलिकति सम्झौता पनि गर्नुपर्‍यो र कसरी बुझ्छन् त्यसलाई ध्यान दिनुपर्‍यो,” सुवेदीले बीबीसीसँग भने।

अङ्ग्रेजीमा मात्रै पढाउँदा विद्यार्थीले नबुझ्ने अवस्थामा शिक्षकले आवश्यकताअनुसार अङ्ग्रेजीलाई मुख्य भाषा राखेर नेपालीमै पनि पढाउनुपर्ने सुवेदीले बताए।

त्रिभुवन विश्वविद्यालयकी स्नातकोत्तर तहकी अङ्ग्रेजी विषयकी एक विद्यार्थीले गरेको सर्वेक्षणमा पनि विद्यालयले अङ्ग्रेजी पढाउने नाममा विद्यार्थीलाई नेपाली बोल्नै नदिने गरेको, जरिवाना तिराउने, कक्षाबाहिर उभ्याउने गरेको र त्यो अभ्यास ठीक नभएको पाएको सुवेदीले बताए।

थुप्रै विद्यालयसँग गरिएको उक्त सर्वेक्षण आफूलाई आधिकारिक लागेको सुवेदी बताउँछन्।

नेपाली विषयमा पनि पाठ्यक्रम जटिल हुँदा र मातृभाषा नेपाली हुने विद्यार्थीलाई व्याकरण र लेखाइमा समस्या हुने प्राविधिक पक्षले विद्यार्थीले राम्रो अङ्क ल्याउन नसकेको सुवेदी ठान्छन्।

ननग्रेड ल्याउने विद्यार्थीलाई पुन: परीक्षाको मौका

दुई विषयमा ननग्रेड (एनजी) ल्याउनेले तत्कालै ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् भने बाँकीले अर्को वर्ष कुर्नुपर्ने छ।

यो वर्ष दुई विषयमा ननग्रेड ल्याउने ननग्रेड एक लाख २३ हजार ३९६ विद्यार्थीले आउँदो असोज ६ र ७ गते दिन पाउनेछन्।

सरकारले कक्षा १२ मा ननग्रेडिङ प्रणाली लागु गरेकाले जुन विषयमा अनुत्तीर्ण वा ननग्रेड (एनजी) छ, त्यही विषयको मात्रै परीक्षा दिए पुग्नेछ ।

रेखा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।