कक्षा १२ को परीक्षाफल प्रकाशित: ४८ प्रतिशतले सोझै विश्वविद्यालयमा भर्ना नपाउने

परीक्षाफल हेर्दै विद्यार्थी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

विश्वविद्यालय शिक्षाको प्रमुख ढोकाको रूपमा लिइने कक्षा १२ को यो वर्षको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ।

यस पटकको परीक्षामा ५१ प्रतिशत विद्यार्थीहरूले ग्रेडशिट प्राप्त गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।

यो अघिल्लो वर्षको भन्दा तीन प्रतिशत बढी हो। विद्यार्थीले डी वा त्यसभन्दा बढी ग्रेड ल्याएको अवस्थामा विश्वविद्यालयमा भर्ना पाउँछन्।

अध्यक्ष शर्माका अनुसार यो वर्ष ५०.९१ प्रतिशत विद्यार्थीले ए प्लस देखि डी सम्मको ग्रेड ल्याएर कक्षा १२को परीक्षा उत्तीर्ण गरेका छन्।

“नियमिततर्फ एक लाख ८९ हजार ४११ जसलाई कुल नियमित विद्यार्थी सङ्ख्यासँग तुलना गर्दा ५० दशमलव ९१ अर्थात् ५१ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको वा उत्तीर्ण अनुत्तीर्ण हेर्दा उत्तीर्णको रूपमा यी विद्यार्थीलाई लिन सक्छौँ,” अध्यक्ष शर्माले भने।

ननग्रेडेड विद्यार्थीहरूको सङ्ख्या ४९.०९ प्रतिशत छ।

परीक्षा बोर्डले परीक्षार्थीहरूले पाएको प्राप्ताङ्कलाई विभिन्न ८ वर्गमा वर्गीकरण गर्ने गर्छ।

उत्कृष्ट ग्रेड ल्याउने बढे

सबैभन्दा उत्कृष्ट प्राप्ताङ्कको रूपमा वर्गीकरण गरिएको जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या पनि अघिल्लो वर्षको भन्दा बढेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ६,९७६ जना छ।

जुन कुल परीक्षार्थीको १.८७ प्रतिशत हो। यस्तो नतिजा ल्याउने विद्यार्थीको सङ्ख्या गत वर्ष भन्दा०.७२ प्रतिशतले बढेको बोर्डले जनाएको छ।

कुल परीक्षार्थीमध्ये ३८,८९९ जनाले ३.२१ देखि ३.६ जीपीए, ६९,१७४ जनाले २.८१ देखि ३.२० जीपीए, ६३,०७७ जनाले २.४१ देखि २.८० जीपीए ल्याएको बोर्डले जनाएको छ।

त्यस्तै ११,४३८ जनाले १.०१ देखि २.४० जीपीए र ४७ जनाले १.६१ देखि २ जीपीए ल्याएको बोर्डले जनाएको छ।

यो वर्ष ननग्रेडेड विद्यार्थीहरूको सङ्ख्या १ लाख ८२ हजार ९२६ जना छ।

कति ल्याउने उत्तीर्ण हुन्छन्?

विद्यार्थी

तस्बिर स्रोत, RSS

विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षामा ३५ प्रतिशत भन्दा बढी अङ्क वा डी ग्रेडसम्म ल्याउने विद्यार्थीहरूले विश्वविद्यालयमा भर्ना पाउँछन्।

शिक्षा मन्त्रालयले गतवर्ष संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकमा ३५ र आन्तरिक मूल्याङ्कनका आधारमा हुने प्रयोगात्मक परीक्षामा ४० प्रतिशत प्राप्ताङ्क नगर्ने विद्यार्थीहरूलाई ननग्रेडेड वर्गमा राखिन्छ।

परीक्षामा निश्चित प्रतिशत अङ्क आउँदा ए प्लस, ए, बी, सी, डी जस्ता ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणालीलाई लेटर ग्रेडिङ भनिन्छ।

ननग्रेडेड प्राप्ताङ्क ल्याउने विद्यार्थीहरूले विद्यालय तह अनुत्तीर्ण मानिन्छ।

तर बोर्डले ३५ प्रतिशत अङ्क नल्याएकालाई अनुत्तीर्ण नभनेर ननग्रेडेड भन्ने गरेको छ।

तर कुनै विषयमा ३५% भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन-ग्रेडिङ हुन्छ। नन-ग्रेडिङ पाएका विद्यार्थीले पुनः बोर्ड परीक्षा दिनुपर्ने हुन्छ।

अङ्क वर्गीकरण

  • ९० प्रतिशत र सोभन्दा माथि (४.०) - ए प्लस (सर्वोत्तम)
  • ८०-८९.९ प्रतिशत (३.६) - ए (अत्युत्तम)
  • ७०-७९.९ प्रतिशत (३.२) - बी प्लस (उत्कृष्ट)
  • ६०-६९.९ प्रतिशत (२.८) - बी (उत्तम)
  • ५०-५९.९ प्रतिशत (२.४) - सी प्लस (सन्तोषजनक)
  • ४०-४९.९ प्रतिशत (२.०) - सी (ग्राह्य)
  • ३५-३९.९ प्रतिशत (१.६) - डी (आधारभूत)
  • ३५ भन्दा कम - एनजी (अवर्गीकृत)
परीक्षा बोर्ड

दुई विषयसम्म ननग्रेडेड भएका विद्यार्थीहरूले त्यही वर्ष ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउने व्यवस्था छ।

परीक्षाफल आएको डेढ महिनापछि त्यस्तो मौका परीक्षा दिन पाइन्छ। मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजी कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटा मात्र विषयमा जाँच दिन पाइन्छ। त्यो बेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको जाँच दिनुपर्छ।

दुई भन्दा धेरै विषयमा ननग्रेडेड आउने विद्यार्थीहरूले अर्को वर्ष उनीहरूले ननग्रेडेड आएका विषयको परीक्षा दिनुपर्छ।

तर त्यस्ता विद्यार्थीले तीन वर्षभित्रमा सबै विषयमा तोकिएको ग्रेड प्राप्त गर्नुपर्ने छ।

यसअघि एनजी दिने चलन थिएन। बरु ई ग्रेड दिइन्थ्यो।

बोर्डका अनुसार यो पटक परीक्षा दिएकामध्ये ४९ प्रतिशत विद्यार्थीहरूले विश्वविद्यालयमा भर्नाका लागि आवश्यक प्राप्ताङ्क पाएनन्।

कसरी हेर्ने परीक्षाफल

गत वैशाख २६ गते देखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा चार लाख ४८ हजार जना परीक्षार्थी सामेल भएका थिए। जसमध्ये ३ लाख ७२ हजार नियमित परीक्षार्थी थिए।

यो वर्ष जापानबाट पनि २७ जना परीक्षार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। बोर्डले विदेशबाट पनि विद्यालय तहको अन्तिम परीक्षा दिने व्यवस्था गरेको छ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मा र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np पनि हेर्न सकिने व्यवस्था गरिएको छ।

त्यसै गरी एसएमएस र टेलिफोनमार्फत पनि नतिजा थाहा पाउन सकिने व्यवस्था परीक्षा बोर्डले गरेको छ।