जोर्जामा पनि के रुसबाट खतरा बढेको हो

    • Author, काटेरिना खिन्कुलोभा
    • Role, बीबीसी विश्व सेवा

जोर्जामा "विदेशी प्रभाव"सम्बन्धी एउटा नयाँ कानुनविरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ। उक्त कानुनलाई "रुसी कानुन" भनिन्छ। त्यहाँ रुससँगको निकट सम्बन्धबाट युरोपतर्फ नजिकिने प्रयासले देशलाई युक्रेनको बाटोमा लैजान सक्ने चिन्ता बढेको छ। त्यस्तो भए उक्त देशमा पनि युक्रेनमा जस्तै रुसले अतिक्रमण गर्न सक्ने र युद्ध नै हुन सक्ने सम्भावना पनि हुन्छ।

जोर्जा ३७ लाख जनसङ्ख्या भएको देश हो। उक्त देश दक्षिण कोकसस क्षेत्रमा अवस्थित छ।

जोर्जा तात्कालिक सोभियत सङ्घमा पनि समाविष्ट थियो। लामो समयदेखि त्यसलाई रुसले आफ्नो प्रभाव क्षेत्रको देशका रूपमा लिँदै आएको छ।

धेरै सोभियत राज्यहरूलाई सन् १९९१ मा सोभियत सङ्घको पतन भएपछि कुन राजनीतिक प्रणाली छान्ने र कस्तो अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी हुने भन्ने सन्दर्भमा आत्मनिर्णयको ऐतिहासिक अवसर दिएको थियो।

बाल्टिकसहित कतिपय राज्यका हकमा भने रुसले तीन वटालाई युरोपेली सङ्घ र नेटोमा आबद्ध हुने कुरा स्वीकार गर्‍यो।

तर युक्रेन ती राज्यभन्दा ठूलो देश हो। रुसले युक्रेनलाई लामो समयदेखि आफ्नो प्रभाव क्षेत्रका रूपमा लिँदै आएको थियो।

सन् २०१४ मा युरोपको पक्षमा शृङ्खलाबद्ध प्रदर्शनपछि त्यो युक्रेनले रुससँगको निकट आर्थिक सम्बन्धबाट पछि हट्ने निर्णय लिएको थियो।

यसले मस्कोलाई क्राइमिया र युक्रेनको पूर्वी क्षेत्रका केही भागहरू आफूमा गाभ्ने अवस्थामा पुर्‍यायो।

दश वर्षपछि अहिले पूर्णस्तरको युद्ध भइरहेको छ र थप युक्रेनी भूभागहरू रुसी नियन्त्रणमा जान थालेका छन्।

जोर्जाले पनि त्यस्तै परिस्थिति सामना गर्नुपर्ने अवस्था कति छ कि छैन?

जोर्जामा अहिले किन प्रदर्शन भइरहेको छ

गत साता जोर्जाको संसद्ले एउटा कानुन अनुमोदन गर्‍यो।

उक्त कानुनले विदेशबाट उनीहरूको कोषमा २० प्रतिशतभन्दा बढी रकम भित्र्याउने कतिपय संस्थालाई "विदेशी प्रभाववाहक"का रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो।

त्यसबाहेक विवरणहरू सार्वजनिक गर्नुपर्ने र उल्लङ्घन गरिए जरिवाना लगाउन सकिने प्रावधान पनि त्यसमा राखिएको छ।

जोर्जामा गैरसरकारी संस्था र स्वतन्त्र सञ्चारमाध्यमहरूले विदेशबाट अनुदान वा अन्य सहयोग प्राप्त गर्दा आवेदन दिने चलन भएको राजधानी टिब्लिसीस्थित बीबीसीकी निना अख्मेतेली बताउँछिन्।

यी संस्थाहरूको काम उक्त मुलुकका नागरिक समाजको कामको अभिन्न अङ्ग बनेको छ।

उक्त कानुन संसद्‌मा प्रस्ताव गर्ने सत्तारूढ दल 'जोर्जन ड्रीम'ले सरकारको आलोचनालाई सङ्कुचित तुल्याउन मात्र आफूले नखोजेको जनाएको छ।

उसले बरु आफ्नो कदमले पारदर्शिता सुनिश्चित गर्ने र सर्वसाधारण मानिसहरूलाई विभिन्न संस्थामा पछाडि संलग्न व्यक्तिबारे जानकारी दिने उसको भनाइ छ।

तर टिब्लिसिस्थित इलिया यूनिभर्सिटीका पब्लिक पोलिसी विषयका प्राध्यापक हान्स गुटब्रोड उक्त विधेयकले "बाहिरबाट मात्रै" पारदर्शिताको कुरा गरेको बताए।

“यो केही समययता जोर्जामा नागरिक समाजमाथिको भएको एकपछि अर्को हमलाको अङ्ग हो। यो कानुन देखाएर तपाईँले आफूले दमन गर्न चाहेको जो सुकैलाई दबाउन सक्नुहुन्छ। आफूलाई मन नपर्ने कुनै पनि नागरिक समाजसम्बन्धी संस्थालाई तपाईँ यसलाई प्रयोग गरेर दबाउन सक्नुहुन्छ,” सन् १९९० देखि कोकसस क्षेत्रबारे लेख्दै आएका राजनीतिक विज्ञले भने।

उक्त कानुनको अन्तिम अनुमोदनमा युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाबाट चेतावनी आएको थियो।

“यो कानुनको अनुमोदनले ईयूतर्फको जोर्जाको बाटोलाई नकारात्मक ढङ्गले असर गर्छ,” ईयूकी विदेश मामिला प्रमुख जोसेप बोरेलले एउटा विज्ञप्तिमा भने।

दशौँ हजार प्रदर्शनकारीहरूले उक्त कानुनलाई अधिनायकवादी र रुसबाट प्रेरित भनेका छन्। उनीहरूले टिब्लिसीका सडकहरूमा प्रदर्शन गर्ने क्रममा दङ्गा प्रहरीसँग झडप पनि भयो।

“हामी भर्खरै बाहिर निस्किएको खाडलमा उनीहरूले हामीलाई फेरि नधकेलून् भन्ने सुनिश्चित गर्न हामी यहाँ आएका हौँ,” जोर्जाको अधिनायकवादी सोभियत विगतलाई सम्झँदै एक प्रदर्शनकारीले बीबीसीसँग भने।

प्रदर्शन र रुसको सम्बन्ध कस्तो?

जोर्जाको कानुन रुसले विरोधीलाई दमन गर्न प्रयोग गरेको कानुनसँग मिल्दोजुल्दो छ।

आगामी अक्टोबरमा हुने अर्को संसदीय चुनावअघि उक्त कानुन पारित भएको हो।

यो चुनावले मतदाताहरूलाई सन् २०१२ देखि देशमा प्रभुत्व कायम गरेको जोर्जन ड्रीम पार्टीलाई शक्तिबाट हटाउने अवसर दिन सक्थ्यो। कतिपयले उक्त दलले एउटा राजनीतिक समूहमा नै शक्ति केन्द्रित गर्ने मामिलामा क्रेम्लिनको अनुकरण गरेको आरोप लगाउने गरेका छन्।

जोर्जन ड्रीमका मानार्थ अध्यक्ष अर्बपति बिड्जिना इभानिश्भिली हुन्। उनको सम्पत्ति ४.९ अर्ब डलर भएको आकलन गरिएको छ।

उनको सम्पत्ति देशको कुल बजेटभन्दा धेरै छ र देशको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत हुन आउँछ। उनका अधिकांश व्यवसाय रुसभित्र वा रुससँग जोडिएका छन्।

सञ्चारसंस्था 'पोलिटिको'का दक्षिण कोकसस संवाददाता गेब्रिअल गेभिन भन्छन्, “मलाई लाग्छ जोर्जा सरकार अझ निरङ्कुश बनिरहेको छ र नागरिक समाजलाई दमन गर्ने रुसी शैलीको अनुकरण गरिरहेको छ।”

“मलाई पुटिनले फोन समाएर इभानिश्भिली (सँग कुरा) गर्नुपर्छ भन्ने मलाई लाग्दैन। इभानिश्भिलीलाई त्यसो गर्न प्रोत्साहन चाहिँदैन, उनी पनि पुटिनजस्तै सम्भावित बाह्य प्रभावबाट भयभीत अनुभव गर्छन्।”

जोर्जा रुस र अन्य शक्तिका लागि कति महत्त्वपूर्ण छ?

जोर्जा युरोप र एशियाबीचको प्रवेशद्वारका रूपमा मानिने दक्षिण कोकससमा पर्छ। अहिलेसम्म पनि कायम प्राचीन व्यापार मार्ग यो देश हुँदै अघि बढ्छ।

ऐतिहासिक रूपमा इरान, टर्की र रुसले यो क्षेत्रका लागि लडाइँ गरेका छन् र उनीहरू अहिले पनि यहाँ प्रभाव कायम राख्न प्रतिस्पर्धा गर्ने गर्छन्।

पछिल्लो समयमा चीन र पश्चिमा शक्तिहरूले पनि यहाँ चासो देखाउन थालेका हुन्।

जोर्जा १९औँ शताब्दीमा रुसी साम्राज्यको अङ्ग बनेको थियो। मस्को र टिब्लिसीबीचको सम्बन्ध सधैँ जटिल रहँदै आएको छ।

कुनै कालखण्डमा जोर्जाले रुससँग निकट सम्बन्ध खोजेको थियो। उसले अरू साझेदारसँगको सम्बन्धलाई पनि महत्त्व दियो। सन् १९१८ मा छोटो अवधिका लागि पुनः स्वतन्त्रता हासिल गरेको सो मुलुक रुसको प्रभुत्वमा रहेको सोभियत सङ्घमा सन् १९९१ सम्म रह्यो।

सन् १९८० को दशकमा राष्ट्रिय पहिचान पुनर्जागरण महसुस गर्ने जोर्जा पहिलो सोभियत गणराज्यमध्ये थियो।

विभिन्न देशहरूले अँगालेका उक्त प्रक्रियाअन्तर्गत भएका शृङ्खलाबद्ध घटनाक्रमले सोभियत सङ्घको विघटन निम्त्याएको थियो।

पहिलो पटक लोकतान्त्रिक रूपान्तरण अवलम्बन गर्ने सोभियत राज्यमध्ये जोर्जा पनि थियो।

सन् २००३ मा भएको 'रोज रेभलूशन'ले देश सोभियतकालीन निरङ्कुश विगतलाई हल्लाउने प्रयास गरेको थियो।

उक्त क्रान्तिपछि मस्कोको गर्ने नयाँ सरकार बनेको थियो। उक्त सरकारले जोर्जालाई ईयू र नेटोमा आबद्ध गराउने प्रयास गरेको थियो।

रुसले सन् २००८ मा जोर्जाका केही हिस्सा आफूमा गाभेको थियो र रुसी सेनाहरू टिब्लिसीभन्दा झन्डै १३० किलोमिटर पर बस्दै आएका छन्।

युक्रेनसँग तुलना गर्नु कतिको अर्थपूर्ण?

हालैका साताहरूमा निरङ्कुशतातर्फ उन्मुख सरकारहरूले देशलाई लोकतन्त्रको बाटोबाट विमुख गराउन खोजेको, प्रदर्शनहरू भएका र त्यसमा रुसले हस्तक्षेप गरेको आशङ्का कैयौँ विश्लेषकहरूले गरेको पाइन्छ।

युक्रेनमा सन् २०१३-२०१४ मा त्यस्तै भएको थियो र त्यो सन् २०२२ मा अझ खराब हुन पुग्यो। युरोपले सन् १९४५ यताकै सबैभन्दा ठूलो लडाइँ बेहोर्नुपर्‍यो। तर कैयौँ भिन्न परिस्थितिहरू पनि छन्।

सबैभन्दा पहिलो कुरा जोर्जामा सन् २००३ देखि सन् २००८ को बीचमा कैयौँ पटक युक्रेनको जस्तै शैलीका घटनाक्रम भयो।

प्रदर्शनहरूपछि त्यहाँ रुसी अतिक्रमण भयो। झन्डै २० प्रतिशत भूभाग रुसको कब्जामा छ र वास्तविक प्रश्न भनेको के जोर्जामा तनाव वृद्धि भयो र मस्कोसँग मित्रवत् सम्बन्ध भएको सरकारले नियन्त्रण गुमायो भने रुसले थप अतिक्रमण अघि बढाउँछ कि बढाउँदैन भन्ने नै हो।

यो सम्भावना नकार्न सकिँदैन। तर जोर्जन ड्रीमको पराजय र उसको वर्चस्व समाप्त हुने ठूलो आधार के भन्ने प्रश्न यथावत् छ।

बीबीसीकी निना अख्मेतेलीले जोड दिए जस्तै जोर्जा ध्रुवीकृत समाज हो र त्यहाँका धेरै मानिस बढ्दो तनावप्रति चिन्तित छन्।

कतिपयले साँच्चै सत्तारूढ दललाई समर्थन गर्छन्। कतिपय रुससँग नजिक बस्नु जोर्जाजस्ता देशका लागि व्यावहारिक भएको भन्ठान्छन्।

किनभने देशको अर्थतन्त्र उक्त विशाल छिमेकीसँगको व्यापारमा निर्भर छ र युक्रेनसँगको लडाइँका कारण जति कमजोर भएको हुन सक्ने भए पनि रुसी सेनासँग लड्ने उसको शक्ति छैन।

विवादास्पद "बाह्य हस्तक्षेप"सम्बन्धी कानुन अनुमोदन गर्ने बेलामा दिएको एउटा दुर्लभ सम्बोधनमा इभानिश्भिलीले पश्चिमा राज्यहरूले जोर्जाका मानिसहरूलाई रुससँगको मुठभेडका लागि "मोहरा" बनाउने प्रयास रोक्न यो कदम चाल्नुपरेको बताए।

टिब्लिसीका चोकहरूमा निरन्तर विरोधप्रदर्शन भइरहेको छ। त्यसमा भाग लिने ३५ वर्षभन्दा कम उमेरका मानिसहरू छन्।

जोर्जाको भविष्य के हुन्छ भन्ने अन्योल छ। धेरै जना रुसको जस्तो राजनीतिक वातावरण भएको देशमा बस्नुपर्ने सम्भावनापर्ति आक्रोशित छन्। कतिपय युक्रेनले बेहोरेको जनधनको क्षतिजस्तै नियति आफ्नो मुलुकले पनि भोग्नुपर्ने हो कि भनेर डराइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।