विश्वकप फाइनलमा पुग्न मेस्सी र मोड्रिचबीच अन्तिम प्रतिस्पर्धा

तस्बिर स्रोत, BBC Sport
बालोन डि'ओर बाट सम्मानित, १० नम्बरको जर्सी लगाउने, विश्वकपको फाइनलमा पुगेर पराजय भोगेका, आ-आफ्ना टोलीका कप्तान र खेलजीवनबाट अवकाश लिनुअघि विश्वकप उचाल्ने अन्तिम अवसर।
मङ्गलवार मध्यरातपछि हुने फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आमुन्नेसामुन्ने हुन लागेका आर्जेन्टिनाका लियोनेल मेस्सी र क्रोएशियाका लुका मोड्रिचबीच तुलना हुने यस्ता कैयौँ विषय छन्।
पीएसजीबाट खेल्ने ३५ वर्षीय मेस्सी अनि रेआयल मड्रिडका ३७ वर्षे मोड्रिचका लागि यो विश्वकप फुटबलको अन्तिम प्रतियोगिता हो।
यो खेल जित्ने टोली फाइनमा पुग्नेछ भने हार्ने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
आइतवार मोरक्को वा फ्रान्ससँग हुने फाइनल खेलको यात्रामा कसले बाजी मार्ला त?
यो विश्वकपमा कसको अवस्था कस्तो?

तस्बिर स्रोत, Getty Images
विश्वकपको यात्रामा यी दुई खेलाडी आ-आफ्ना टोलीका लागि निकै महत्त्वपूर्ण छन्। दुवैले क्वार्टरफाइनलमा भएको 'पेनाल्टी शूट-आउट'मा गोल गरेका छन्।
नेदरल्यान्ड्ससँगको खेलमा मेस्सीले पहिले प्रहार गर्दै पेनाल्टीमार्फत् गोल गरे। मोड्रिचले ब्रजिलसँगको खेलमा आफ्नो टोलीको तर्फबाट तेस्रो नम्बरमा आएर गोल गरे।
विश्वकपमा 'पेनाल्टी शूट-आउट'मा तीन पटक गोल गर्ने उनी पहिलो खेलाडी हुन्। सन् २०१८ मा उनले डेन्मार्क र रुसविरुद्ध पेनाल्टीमा गोल गरेका थिए।
निर्धारित ९० मिनेटको समय वा ३० मिनेट थप गरी हुने १२० मिनेटको समयमा मेस्सीको प्रदर्शन उत्कृष्ट छ। उनले चार गोल गरेका छन् भने दुई गोलका लागि पास दिएका छन्।
मोड्रिचले भने अहिलेसम्म यो प्रतियोगितामा उक्त समयमा गोल गरेको वा पास मिलाएका छैनन्।
तर मेस्सी 'फर्वार्ड'का रूपमा खेल्छन् भने मोड्रिच 'मिडफील्डर' हुन्।
यो विश्वकपमा मेस्सीले २५ वटा शट प्रहार गरेका छन्। तीमध्ये १२ वटा लक्ष्यमा पुगेका थिए। त्यसपछिको स्थानमा फ्रान्सका किलियान एम्बाप्पे छन्। गोल्डन बुटको दाबेदारीमा भने पाँच गोल गरेका एम्बाप्पे मेस्सीभन्दा अगाडि छन्। मेस्सीले अहिलेसम्म कुल चार गोल गरेका छन्।
फाइनल थर्ड (विपक्षी टोलीको गोल पोस्ट नजिक) मा मोड्रिचले २०१ सफल पास मिलाएका छन्। त्यस्ता सफल पास मिलाउने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन्। मेस्सी भने १७१ पास मिलाएर आठौँ स्थानमा छन्।
अन्तर्राष्ट्रिय स्तरमा को अघि?

तस्बिर स्रोत, Getty Images
अघिल्ला दुई विश्वकप प्रतियोगिताको फाइनलमा यी दुवै खेलाडीका टोलीले पराजय सामना गर्नुपर्यो।
सन् २०१४ मा आर्जेन्टिनाले अतिरिक्त समयमा धकेलिएको खेलमा जर्मनीसँग १-० को हार बेहोरेको थियो। क्रोएशिया चार वर्षअघि ४-२ अन्तरले फ्रान्ससँग पराजित भएको थियो।
मेस्सी र मोड्रिच दुवैले प्रतियोगिताका 'उत्कृष्ट खेलाडी 'ले प्राप्त गर्ने गोल्डन बल जितेका थिए। मङ्गलवारको खेलमा पनि दुवै खेलाडी महत्त्वपूर्ण कीर्तिमान बनाउन सफल हुनेछन्।
मेस्सीले २५ खेल खेल्दै विश्वकपमा सर्वाधिक खेल्ने जर्मनीका लोथार माथौसको कीर्तिमानसँग बराबरी गर्नेछन्। सप्ताहान्तमा फाइनल वा तेस्रो स्थानका लागि हुने खेल खेल्दै उनले जर्मन खेलाडीको नाममा रहेको उक्त कीर्तिमान भङ्ग गर्नेछन्।
मेस्सीले विश्वकपमा १० गोल गरेका छन्।
उनीभन्दा बढी गोल गर्ने खेलाडी सात जना मात्रै छन् जसमा सबैभन्दा अघिल्लो स्थानमा १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोज छन्।
ब्रजिलका प्रख्यात खेलाडी पेलेको चार वटा पासको कीर्तिमान पार गर्दै विश्वकपको नकआउट चरणको खेलमा सबैभन्दा बढी पास मिलाउने खेलाडीको कीर्तिमान पनि मेस्सीको नाममा छ।
यो वर्ष दुईसहित उनले तीनवटा विश्वकप प्रतियोगितामा गोल अनि गोलका लागि पास मिलाएका छन्।
अन्तर्राष्ट्रिय स्तरमा १७० खेल खेल्दै मेस्सीले ९५ गोल गरेका छन्। यी दुवै राष्ट्रिय स्तरमा सर्वाधिक हुन्।
मोड्रिचले भने क्रोएशियाका लागि १६० अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन्।

तस्बिर स्रोत, Getty Images
उनी विश्वकपमा छवटा खेलको आरम्भमै खेल्ने उमेरले सबैभन्दा पुराना आउटफील्ड खेलाडी (गोलरक्षकबाहेक अरूू खेलाडी) बन्नेछन्। सन् १९६२ मा ३७ वर्ष पुगेका ब्रजिलका निल्टन सान्टोसलाई पछि पार्दै उनले नयाँ कीर्तिमान कायम गर्नेछन्।
सेमिफाइनल खेलअघिसम्मको तथ्याङ्क हेर्दा क्रोएशियाका लागि उनले विश्वकपमा सर्वाधिक १७ खेल खेलेका छन् भने ३० पटक प्रमुख अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका छन्।
अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले एक पटक कोपा अमेरिका प्रतियोगिता जितेका छन्। मोड्रिचले भने कुनै पनि त्यस्तो प्रतियोगिता जितेका छैनन्।
यी दुई खेलाडीको एउटा रोचक प्रसङ्ग छ। आर्जेन्टिनाका लागि मेस्सीको पहिलो गोल अनि क्रोएशियाको टोलीबाट मोड्रिचको पहिलो खेल सन् २००६ को मार्चमा आर्जेन्टिना र क्रोएशियाबीच भएको मैत्रीपूर्ण खेलमा भएको थियो।
उक्त खेल क्रोएशियाले ३-२ अन्तरले जितेको थियो।
मेस्सी र मोड्रिचको खेलजीवन कस्तो देखिन्छ?
मङ्गलवार मध्यरातपछि हुने सेमिफाइनल खेल देश र क्लबका लागि मेस्सीले खेलेको १,००२औँ खेल हुनेछ। अहिलेसम्म उनले ७९० वटा गोल गरेका छन् भने ३३९ पटक गोलका लागि पास मिलाएका छन्।
क्रोएशिय बाहेक विभिन्न क्लबसँग खेलेका खेलको राम्रोसँग अभिलेख नराखिएकाले मोड्रिचसँग सम्बन्धित यस्तो तथ्याङ्कबारे निश्चित हुन गाह्रो छ।
मेस्सीले सर्वाधिक सात पटक बालोन डि'ओर सम्मान प्राप्त गरेका छन् भने मोड्रिचले सन् २०१८ मा यो उपाधि प्राप्त गरेका थिए।
सन् २००७ यता पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अनि फ्रान्सका करिम बेन्जेमाले मात्रै यो उपाधि जितेका छन्।
मोड्रिचले पाँच पटक च्याम्पीअन्स लीग जितेका छन् भने मेस्सीले चार पटक।
फुटबल मैदानमा यी दुई खेलाडीबीचको यो २७औँ प्रतिस्पर्धा हुनेछ।
त्यसमध्ये २२ पटक उनीहरू बार्सिलोना र रेआल मड्रिडका लागि खेल्दा एकअर्काको विपक्षमा उभिएका थिए।








