तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'भरियाले बोकेर व्यापार': चीनतर्फका नाकामा निरन्तर समस्याले नेपाली अर्थतन्त्रमा परेको असर
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
चीनतर्फका दुवै मुख्य नाका लामो समयसम्म राम्रोसँग सञ्चालन नभएपछि यस वर्षको 'नाडा अटो शो'मा प्रदर्शनमा राख्नका लागि व्यवसायीहरूले भरियालाई बोकाएरै एक 'उड्ने कार' (फ्लाइङ कार) नेपाल भित्र्याए।
त्यसले धेरैलाई करिब नौ दशकअघि राणा शासकहरूले मकवानपुरस्थित भीमफेदीको बाटो बोकाएर भित्र्याएको कारको झल्को दिलाएको व्यवसायीहरू बताउँछन्।
"त्यो निकै पीडादायी अवस्था हो। विवशताले त्यसो गरिए तापनि त्यसरी व्यापार हुँदैन भन्ने साङ्केतिक दृश्यका रूपमा त्यसलाई बुझ्नुपर्छ," नेपाल समुद्रपार निकासी पैठारी सङ्घका महासचिव जयन्तकुमार अग्रवाल भन्छन्।
'उड्ने कार' मात्र नभइ १०० भन्दा बढ्ता ट्रकबराबरका कुहिने सामान पछिल्ला केही दिनमा त्यसै गरी भरियालाई बोकाएर नेपाल कटाइए।
नेपालको दोस्रो ठूलो व्यापार साझेदार चीनसँग सञ्चालनमा रहेका दुई मुख्य नाका चाडबाडको मुखैमा धेरै दिनसम्म ठप्प भएपछि व्यवसायीहरूले तेस्रो मुख्य नाका छिट्टै सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
सबैभन्दा सहज विकल्प कोरला
हाल द्विपक्षीय व्यापारको दुई तिहाईभन्दा धेरै कारोबार हुने रसुवा नाका गत असार २४ गते सीमावर्ती ल्हेन्देखोलामा अकस्मात् आएको बाढीले मितेरी पुल बगाएपछि ठप्प छ।
त्यसले गर्दा मर्मतसम्भार एवं स्तरोन्नतिका कारण सञ्चालनमा आउनका लागि 'राम्रोसँग तयार नै नरहेको' पुरानो तातोपानी नाकामा थेगिनसक्नुको भार परेको अधिकारीहरूले बताएका छन्। केही समय अघि मात्र यो नाका पुनः सञ्चालनमा आएको समाचार आएको छ।
तत्काल विकल्पको रूपमा मुस्ताङको कोरला नाकालाई सञ्चालनमा ल्याउन र एक दशकअघि नै एक संसदीय समितिको अध्ययनले सम्भाव्य देखाएका नाकातर्फ पूर्वाधार विकास गर्नमा व्यावसायीहरूको जोड छ।
बाह्रैमास चल्न सक्ने सो कोरला नाकाका लागि चीनतर्फ पूर्वाधारहरू तम्तयार अवस्थामा रहे तापनि नेपालतर्फ एकीकृत प्रशासनिक काम सक्न बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत बताउँछन्।
"सबै मन्त्रालयहरूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर कर्मचारी खटाउनदेखि संरचनाहरू विस्तार गर्न भर्खर जग्गा प्राप्तिलगायतका कामहरू सकेर अघि बढिएको छ," प्रवक्ता बस्नेत भन्छन्। "चीनतर्फबाट त सबैकुरा क्लिअर छ।"
व्यवसायीहरूले बर्सेनिको यस्तो सकसले समयमै सामान नआइपुग्ने, सामान बिग्रने वा फेरि भारततर्फका पुरानै समुद्री मार्ग प्रयोग गर्नुपर्ने अवस्था आए त्यसले बजारभाउमै असर देखिन सक्ने चेतावनी दिएका छन्।
पूर्वीदेखि पश्चिम नेपालबीचका विभिन्न ठाउँमा रहेका ओलाङचुङगोला, किमाथाङ्का, लामाबगर, आम्जापास, यारी हिल्सा र लार्केजस्ता नाकाहरू समेत उत्तरतर्फ व्यापार गर्न सकिने नाकाका रूपमा पहिचान भए तापनि त्यसतर्फ पूर्वाधारकै उल्लेख्य काम गर्न बाँकी रहेको बताइने गरेको छ।
चीन-नेपालबीचका एक दर्जनभन्दा धेरै नाकाहरू सञ्चालनमा रहे तापनि ती स्थानीय जिल्लावासीका लागि ससाना व्यापारका लागि मात्र प्रयोगमा रहेको अधिकारीहरू बताउँछन्।
मन्त्रालयका प्रवक्ता बस्नेत भन्छन्, "अब व्यावसायिक प्रयोजनमा अन्तर्राष्ट्रिय नाकाका रूपमा खुल्ने तत्कालको सम्भावना भएको कोरला मात्रै हो।"
जोमसोमबाट कालीगण्डकी नदीको किनारैकिनार ११६ किलोमिटरको यात्रा गरेपछि समुद्र सतहबाट ४,६०० मिटरको उचाइमा रहेको कोरला नाका पुगिन्छ।
कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतस्थित बजार क्षेत्र पुगिने बताइन्छ।
वर्षमा दुई पटक मात्रै व्यापारिक मेलाका लागि खुला गरिने यो नाका अन्य समय बन्दै रहने गरेकामा नेपालतर्फका प्रशासनिक काम पूरा हुन नसक्नाले यसअघि नै पूर्णरूपमा सञ्चालनमा ल्याउने भनिए तापनि अझै त्यसो हुन सकेको छैन।
सधैँको सास्ती
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की गत असारको घटना भवितव्य भए पनि हाल प्रयोगमा रहेका दुवै मुख्य नाका वर्षभरि चल्ने अनुभव गर्न कुनै वर्ष पनि नपाएको बताउँछन्।
"भरपर्दा बाटो नहुँदा दुईचार दिनको बर्खामै मुख्य नाका ठप्प हुन्छन्," त्यसले ढुक्कले उत्तरतर्फबाट व्यापार गर्ने अवस्था कहिल्यै बन्न नसकेको बताउँदै कार्की भन्छन्।
"उत्तरी नाका चल्दा दुई साताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाण्डू सामान भित्र्याउने अवस्था बनेको थियो। नत्र समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा ४५ दिनसम्म लाग्ने अवस्था छ।"
नेपाल समुद्रपार निकासी पैठारी सङ्घका महासचिव जयन्तकुमार अग्रवाल पूर्वाधार अभावमा व्यवसाय सञ्चालन नै महँगो पर्ने अवस्थाले समग्र बजारचक्र बिथोलिरहेको बताउँछन्।
"यो समस्या अहिलेको मात्र होइन। वर्षौँदेखि सधैँ यस्तै भइरहेको छ। नयाँ नाकाहरू प्रयोगमा ल्याउन ढिला भइसकेको छ। चालु नाकाको स्तरोन्नति अत्यावश्यक छ। नत्र फेरि उही समुद्री मार्गबाट कोलकाता, विशाखपटनम हुँदै चीनतर्फको व्यापार गर्ने अवस्था आयो भने बजारमा सामानको अभाव र महँगी दुवै बढ्छ," अग्रवाल भन्छन्।
"त्यो कल्पना गर्न सकिने अवस्था होइन किनकि चीनतिरबाट एकदुईखाले होइन अनेकखाले दर्जनौँ सामान आइरहेका छन्।"
भूकम्पपछिका वर्षमा र कोभिड महामारीका बेला दुई तिहाइभन्दा धेरै चिनियाँ व्यापार भारततिरबाटै हुने गरेको बताउँदै सङ्घले पछिल्लो समय त्यो पाँच भागको एक भागमा मात्र सीमित हुन थालेको जनाएको छ।
"हाल धेरैजसो कच्चा पदार्थहरूहरू मात्र भारततिरबाट आउँछन्। त्यसबाहेक फलफूल, खाद्यान्न, इलेक्ट्रोनिक्सदेखि ईभी गाडीहरूसम्म उत्तरी सीमा नाकाबाटै आउने गरेका छन्।"
रसुवा नाका नखुल्दाको सकस
चीन सरकारले भदौ ३१ गतेसम्म रसुवागढीको सीमावर्ती पुल बनाइसक्ने आश्वासन दिएको र नेपालतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिग्रिएका बाटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेको बताइएको छ।
बाढीले नेपालतर्फको सडकमा कतिपय ठाउँमा पूरै बाटो बगाएकासहित करिब एक दर्जन ठाउँमा गम्भीर क्षति पुर्याएको अधिकारीहरूले बताएका छन्।
त्यसैले पनि पुल बनेकै अवस्थामा समेत व्यवसायीहरू दसैँतिहारलक्ष्यित सामान समयमै ल्याउन सकिने-नसकिने भन्नेमा ढुक्क छैनन्।
उनीहरूका अनुसार यतिखेर तातोपानी नाकातर्फ खासामा करिब १,३०० कन्टेनर र रसुवातर्फ केरुङमा ६०० कन्टेनर रोकिएको अवस्था छ।
"जम्मा १२० वटा फलफूल कन्टेनर कुहिने अवस्था भएपछि तातोपानीतिर भरियालाई बोकाएर नेपालतर्फ कटाइएको थियो। बोकाउँदा पनि बाटो क्लिअर गर्न गाह्रो हुने हुँदा समय मिलाएर गाह्रोसँग गर्नु परेको थियो," नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका रामहरि कार्की भन्छन्।
खासगरी चिनियाँ स्याउ, आँप, लसुन, अङ्गुरजस्ता फलफूत तथा तरकारी कुहिने अवस्था आउन लागेपछि व्यवसायीहरूले तातोपानीतर्फ भरिया परिचालन गरेका हुन्।
त्यसतर्फ सीमावर्ती पुलबाट करिब दुई किलोमिटर नेपालतर्फ एउटा ठूलो पहिरो जाँदा दुई साताभन्दा बढी समय सडक अवरुद्ध भयो।
पुराना कन्टेनरकै चाप उच्च हुँदा छिट्टै रसुवा नाका नखुलेसम्म धरापमा रहेको तातोपानीतर्फबाट नयाँपुराना सामान कटाउने सम्भावना नरहेको व्यावसायीहरू बताउँछन्।
गत आर्थिक वर्षमा रसुवा नाकाबाट झन्डै ८५ अर्ब रुपैयाँ र तातोपानी नाकाबाट करिब ५० अर्ब रूपैयाँ बराबरका सामान आयात भएको भन्सार विभागको तथ्याङ्क छ।
पुरानामा बलियो पुर्वाधारसँगै नयाँ नाका आवश्यक
हाल धेरैजसो सामान ल्हासासम्म रेलमा ल्याएर त्यहाँबाट कन्टेनरमार्फत् नेपाल पठाइने र केही सामान सिगात्सेसम्मै रेलमा आउने गरेको छ।
"बाटो मात्र राम्रो हुँदा अब सबैजसो सामान उत्तरी नाकाबाटै नेपाल आउने अवस्था बनिसकेको छ। तर बाटो सुधारको काम निकै सुस्त भयो। हिउँदैमा पनि राम्ररी ठेक्का लगाएर काम हुँदैन। बर्खामा त अहिलेजस्तो पुल बगाएको भवितव्यको घटनाबाहेक पनि कहिल्यै पूरा समय चलेको छैन," कार्कीको गुनासो छ।
नेपाल र चीनले सन् २०१७ मा रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेका थिए। त्यसयता दुवै देशले तातोपानीको तुलनामा रसुवागढी भएर आफ्ना व्यापारिक गतिविधि केन्द्रित गर्दै आएका थिए।
यी नाका हुँदै हजारौँ नेपाली तथा भारतीय पर्यटक कैलास मानसरोवर यात्रामा समेत जाने गर्छन्।
एक दशकअघि व्यवस्थापिका संसद्को विकास समितिले उत्तरी नाकाहरूको अवस्था अध्ययन गर्ने क्रममा मुस्ताङको कोरला र ताप्लेजुङको ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने भन्दै त्यसतर्फ छिटो काम गर्न सुझाव दिएको थियो।
"सरकारी तवरबाटै त्यसरी पहिचान गरिएको विषयमा अहिलेसम्म काम भइसक्नुपर्नेमा फेरि भरियालाई बोकाउनुपर्ने अवस्था आउनु निकै दु:खदायी अवस्था हो। यसरी व्यापार हुँदैन। यसले नेपाल-चीन व्यापारमै प्रश्न उठाइरहेको छ," अग्रवाल भन्छन्।
"झन् यतिखेर नेपालमा विद्युतीय गाडीहरू अघिकांश चीनमा निर्भर रहेको र त्यसको बजार नेपालमा बढिरहेको अवस्थामा यस्तो परिस्थिति आउनु दुवै देशका लागि राम्रो होइन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।