प्रधानमन्त्री तथा गृहमन्त्रीलगायतले गायिका समीक्षा अधिकारी र एलिना चौहानको प्रशंसा गर्नुका कारण र अर्थ

तस्बिर स्रोत, Samikhsya Adhikari/Eleena Chauhan/Facebook
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
आफूबारे सामाजिक सञ्जालमा 'घृणास्पद' टिप्पणी गर्नेहरूको परिचय सार्वजनिक गर्ने गायिका समीक्षा अधिकारी र एलिना चौहानको अभियानको प्रधानमन्त्रीसहितका व्यक्तिहरूले प्रशंसा गरिराखेका बेला मनोविद् तथा लैङ्गिक मामिलाका जानकारहरूले उक्त अभियानले समाजलाई 'घृणास्पद' अभिव्यक्तिबारे संवेदनशील बनाउन सघाउने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आफ्नो फेसबुक पेजमा गायिकाद्वयलाई 'साहसी छोरीहरू' को संज्ञा दिँदै 'उनीहरूको तरिका सही लागेको' उल्लेख गरेका थिए।
यद्यपि उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै कतिपयले प्रधानमन्त्री स्वयं आलोचकहरूमाथि असहिष्णु हुने गरेको भन्दै 'देखावटी सहानुभूति आफैँमा सीमित राख्न' भनेका छन्।
गृहमन्त्री लेखकले पनि दुई दिनअघि दुवै गायिकालाई आफ्नो कार्यालयमा डाकेर उक्त अभियानको प्रशंसा गरेका थिए।
"उहाँहरूले हिम्मत गर्नुभयो, यस्तो पीडामा धेरै मानिसहरू हुनुहुन्छ," गृहमन्त्री लेखकले बुधवार बीबीसीसँग भने, "समाजका बुझ्ने मानिसहरू त्यस्ता किसिमका गतिविधिविरुद्ध उभिन जरुरी छ। गलत कुराको विपक्षमा उभिने उहाँहरूको कार्य सराहनायोग्य छ।"
त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागकी प्राध्यापक नन्दिता शर्मा गायिकाद्वयको अभियानले समाजलाई त्यस्ता विषयमा संवेदनशील हुन सघाउने बताउँछिन्।
"त्यस्ता 'घृणास्पद' टिप्पणी गर्नेहरूमध्ये कतिपयले माफी मागेका घटनाहरू पनि सँगसँगै प्रकाशमा आइरहेका छन्," उनले भनिन्, "यसले गायिकाद्वय अधिकारी र चौहानले गरिरहेका कार्यले त्यस किसिमको प्रवृत्तिलाई निरुत्साहित गर्न सघाएको छ भन्ने देखाउँछ।"
समीक्षा र एलिनाको अनुभव

तस्बिर स्रोत, Eleena Chauhan/Facebook
चौहानले गृहमन्त्रीदेखि प्रहरी अधिकारीहरूलाई भेट्ने तथा 'ट्रोल' गर्नेहरूको पहिचान सार्वजनिक गर्नेसहितका कार्यका निम्ति आफ्नो नियमित कामबाट १० दिनको 'ब्रेक' लिएको बताइन्।
यो अभियान थालेयता 'घृणास्पद' कमेन्टहरूमा उल्लेख्य कमी आएको उनको अनुभव छ।
"आलोचनामाथि मेरो आपत्ति होइन। मेरो कामलाई लिएर आलोचना गर्न पाइन्छ र मैले त्यो सुन्नु पनि पर्छ तर निजी कुराहरूलाई लिएर जथाभाबी अभद्र टिप्पणी गर्ने कार्य सहन हुँदैन भन्ने लाग्यो," उनले भनिन्, "यो गर्न थालेसँगै नकारात्मक टिप्पणीहरू पहिलेझैँ देखिएका छैनन्, सँगसँगै कतिपयलाई कानुनी कारबाहीको चेतावनी पनि दिइरहेकी छु।"
गायिका अधिकारीको अनुभव पनि चौहानसँग मिल्दोजुल्दो छ।
"मैले मेरो पोस्टमा हालै आएका सबै कमेन्टहरू पढेकी त छैन," उनले भनिन्, "तर पहिलेको तुलनामा धेरै फरक परेको छ। पहिले एउटै पोस्टमा हजारौँको सङ्ख्यामा नकारात्मक कमेन्टहरू आउँथे।"
'ट्रोल' गर्नेमध्ये कतिपयले आफूहरूसँग माफी माग्न थालेको दुवैले सुनाए।
"हामीले जे गरिरहेका छौँ त्यसबाट हाम्रोजस्तो पीडा भोग्ने धेरैजना खुसी भएका छन्," अधिकारीले भनिन्, "उनीहरूलाई पनि हौसला मिलिराखेको महसुस गरेकी छु।"
कारण

तस्बिर स्रोत, Home Minister's Secretariat
अधिकारी र चौहानले आफूहरूमाथि 'घृणास्पद' टिप्पणी गरिनुको यकिन कारण थाहा नभएको तर धेरैले अरू सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिच्न त्यसो गरेको हुन सक्ने बताउँछन्।
"त्यस्ता कमेन्टहरूमा कैयौँले 'लाइक' र 'रिप्लाई' गर्ने गर्छन्," चौहान भन्छिन्, "त्यसकारण पनि त्यस्ता कमेन्ट गर्ने गरिएको हुन सक्छ।"
प्राध्यापक शर्मा त्यस्ता 'घृणास्पद' टिप्पणी गरिनुका दुइटा पाटा हुने बताउँछिन्।
"पहिलो कुरा नकारात्मक सोच भएका मानिसले त्यस्तै कुरा अभिव्यक्त गर्छन्, 'सेलिब्रिटी'हरूले उनीहरूलाई केही अप्ठेरो पारिदिएका हुँदैनन् तथापि नकारात्मक सोचका कारण उनीहरूले त्यसो गर्ने गर्छन्" उनले भनिन्, "कतिचाहिँ फेरि त्यस्तो गरेर चर्चामा आउन खोज्ने पनि हुन्छन्। समाजमा चलिआएको कुराभन्दा फरक तरिकाले अघि बढ्नेहरूलाई नकारात्मक तरिकाले हेर्ने कतिपयको दृष्टिकोण हुन्छ।"
"मान्छेको जीवनमा एकचोटि केही भयो भने जीवनभर त्यसलाई घोचेर वा कोपेर उसलाई पीडा दिनु मानवीय होइन।"
त्रिविकै लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्राध्यापक विन्दु पोखरेलका अनुसार महिला 'सेलिब्रिटी'हरूलाई मर्का पर्ने गरी ट्रोल गर्नेहरू धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ता पुरुष भएको देखिन्छ।
"कतिपय महिलामा पनि पितृसत्ताको केही न केही प्रभाव पर्ने हुँदा उनीहरूले पनि त्यसो नगर्ने होइनन्," उनले भनिन्, "मूल कुराचाहिँ पुरुषलाई हामीले कसरी हुर्काएका छौँ र महिलालाई कसरी हेर्न सिकाइएको छ भन्ने कुरा हो। उनीहरूले प्रायश: महिलालाई वस्तुका रूपमा हेर्ने गरेको देखिन्छ र सामाजिक सञ्जालमा प्रकट हुने त्यस किसिमका अभिव्यक्तिमा पनि त्यही मनोविज्ञानले काम गरेको हुन्छ।"
प्रभाव

तस्बिर स्रोत, PA
गायिका अधिकारीले जथाभाबी 'कमेन्ट' गर्नेहरूलाई "आफूलाई पर्दा कस्तो हुन्छ भन्ने महसुस गराउन पनि उनीहरूको परिचय सार्वजनिक गरेको र भोलि अरूले यस्तो नभोगून् भन्ने चाहेको" बताइन्।
विद्यालयदेखि नै बालबालिकालाई एकअर्काको भावनाको सम्मान गर्ने विषयमा पर्याप्त रूपमा नसिकाइएकाले र सञ्चारमाध्यमका कतिपय सामग्री पनि यसबारे संवेदनशील नदेखिने हुँदा सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले 'आपत्तिजनक' टिप्पणी गर्ने कुराहरूलाई सामान्य ठान्ने गरेको देखिएको प्राध्यापक पोखरेल बताउँछिन्।
"त्यसैले अहिले गायिकाद्वयले गरिराखेका कुराले अर्थ राख्छ। एकजनाले मात्र गर्दा फरक नपर्ला तर धेरै जनाले गर्न थाले भने निकै नै फरक पर्न सक्छ," उनले भनिन्, "अब यिनीहरू चुप लागेर बस्दैनन् भन्ने भयो भने आफूमाथि आक्षेप आउन सक्ने डरले सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूले सङ्कोच मान्न सक्छन् र यस्ता कुराहरू कम भएर जान सक्छ।"
त्रिवि केन्द्रीय मनोविज्ञान विभागकी प्राध्यापक शर्मा पनि त्यसमा सहमत छिन्। "सेलिब्रिटीले गरेका कुरा मान्छेहरूले पछ्याउँछन् पनि र त्यसले राम्रै सन्देश जान्छ जस्तो मलाई लाग्छ," उनले भनिन्।
"प्रहरीले गर्ने कारबाही आफ्नो ठाउँमा छ तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई संवेदनशील बनाउन यो बढी प्रभावकारी भएजस्तो मलाई लाग्छ। 'घृणास्पद' टिप्पणी गर्ने व्यक्तिलाई प्रहरीले कारबाही गरेको धेरैले थाहा पाउँदैनन् तर त्यस्ता व्यक्तिले अभिव्यक्त गरेका कुरा सामजिक सञ्जालबाट सार्वजनिक गरिँदिदा सबैतिर थाहा हुने भयो। त्यस्ता टिप्पणीकर्ताहरूलाई पनि उसका चिनजानका र हिजो वाहवाही गर्ने मानिसहरूले प्रश्न गर्न सक्ने हुँदा उनीहरू हच्किन सक्छन्।"
कानुन

तस्बिर स्रोत, Eleena Chauhan/Facebook
विदेशमा बस्नेहरू यस्ता किसिमका गतिविधिमा अधिक सरिक हुने पाइएको गृहमन्त्री लेखकको ठम्याइ छ।
"बाहिर बसेर घृणास्पद अभिव्यक्ति दिने र मानिसका चरित्रहत्या गर्ने किसिमका कुराहरू भइराखेका छन्," उनले भने, "त्यो कुरालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र कानुनबमोजिम अघि बढ्छौँ।"
मन्त्री लेखकले विद्यमान साइबर अपराधसम्बन्धी कानुनलाई कडा ढङ्गले कार्यान्वयन गर्ने र आवश्यक कानुनहरू बनाइने बताए।
यस्ता मामिलाहरू नेपाल प्रहरीको साइबर ब्यूरोले हेर्दै आएको छ।
चौहान र अधिकारीले दिएका कतिपय उजुरीहरूमाथि अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता दिपक अवस्थीले बताए।
जथाभाबी लेख्ने व्यक्तिको परिचय सार्वजनिक गर्ने कार्यको प्रशंसा भइरहँदा त्यसको कानुनी पक्ष पनि हुने उनी बताउँछन्।
"कहिलेकाहीँ अनुसन्धानमा त्यसले अप्ठेरो बनाउँछ। प्रमाणहरू नष्ट गर्ने बाटो पाउने भएकाले अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूको परिचय गोप्य राखिदिए हुन्थ्यो भन्ने हाम्रो कुरा हो," अवस्थीले भने।
"सामाजिक सञ्जालमा परिचय सार्वजनिक गरिदिँदा जथाभाबी लेख्नेले त्यस्ता सामग्री हटाइदिएर उजुरीकर्ताहरू सन्तुष्ट हुनुहुन्छ भने त्यो एउटा पक्ष भयो तर कानुनी कारबाही नै होस् भन्ने चाहनुहुन्छ भने (प्रमाणको अभावमा) त्यतिखेर हामीलाई गाह्रो पर्छ।"
"उहाँहरूले कसरी न्याय पाएको महसुस गर्नुहुन्छ भन्ने कुरा हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




