ग्वाटेमालाको ७२ वर्ष पुरानो कथाले ग्रीनल्यान्ड र भेनेजुएलासम्बन्धी ट्रम्पको नीतिबारे गरेको खुलासा

सीआईएको आर्मी अफ लिबरेशनले ग्वाटेमालाका राष्ट्रपति हाकोबो अर्बेन्जलाई नियन्त्रणमा लिएको सङ्केत गर्ने चित्र

तस्बिर स्रोत, Bettmann Archive/Getty Images

तस्बिरको क्याप्शन, सीआईएको आर्मी अफ लिबरेशनले ग्वाटेमालाका राष्ट्रपति हाकोबो अर्बेन्जलाई सोभियत कठपुतलीको रूपमा चित्रण गरेको थियो
पढ्ने समय: ६ मिनेट

सन् १९५४ मा जब यूनाइटेड फ्रूट कम्पनी (यूएफसी) ले अमेरिकी राष्ट्रपति ड्वाइट डी आइजेन्हावरलाई ग्वाटेमालाका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति हाकोबो अर्बेन्जलाई सत्ताच्युत गर्न सहमत गरायो, त्यसले ल्याटिन अमेरिकालाई दशकौँसम्म तरङ्गित तुल्यायो।

अब विज्ञहरू भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई नियन्त्रणमा लिनुको औचित्य पुष्टि गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रयोग गरेको 'डोन-रो' सिद्धान्तको जरा पहिल्याउँछन् र यो एउटा शक्तिशाली अमेरिकी बहुराष्ट्रिय कम्पनीले सीआईएको समर्थनमा गरेको कुसँग जोडिन्छ, जुन कम्पनीले आफ्नो अधिकांश आम्दानी केरा बेचेर गर्थ्यो।

यूनिभर्सिटी अफ केम्ब्रिजकी डा. ग्रेस लिभिङ्स्टोन भन्छिन्, "ग्वाटेमाला र छिमेकी देशमा यो कम्पनी यति शक्तिशाली थियो कि यसलाई 'अक्टोपस' उपनाम दिइएको थियो किनभने यसको प्रतिनिधित्व जताततै थियो।"

बोस्टन, म्याासचूसिट्समा मुख्यालय रहेको यूएफसीको एजेन्हावर प्रशासनसँग कुनै आधिकारिक सम्बन्ध थिएन।

तर जब अर्बेन्जले दीर्घकालीन गरिबी सम्बोधन गर्न खेती नगरिएका ठूला बगानहरूका जमिन अधिग्रहण र पुनर्वितरण गर्ने प्रस्ताव गरे, कम्पनीले शीतयुद्धको त्रासको फाइदा उठाउँदै सोभियत प्रभावका निम्ति ग्वाटेमाला संवेदनशील रहेको चित्रण गर्दै वाशिङ्टनसँग व्यापक रूपमा वकालत गर्‍यो।

"अर्बेन्जले निकै उदार ढङ्गले क्षतिपूर्ति दिन गइरहेका थिए – यूनाइटेड फ्रूटले पनि तिरेको भन्दा दोब्बर मूल्य – तर कम्पनी... उक्त रकमबाट खुसी भएन," लिभिङ्स्टोन भन्छिन्।

जब अर्बेन्ज सन् १९५० मा सत्तामा आए, उनले ग्वाटेमालालाई सामन्ती समाजबाट आधुनिक पुँजीवादी अर्थतन्त्रमा बदल्न चाहेको बताए पनि आइजेन्हावर हस्तक्षेप गर्न सहमत भए।

मुनरोदेखि 'डोन-रो' सिद्धान्तसम्म

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

तस्बिर स्रोत, Chip Somodevilla/Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'डोन–रो' सिद्धान्त बुझ्नका लागि विश्वबारे उनको विश्वास बुझ्नु जरुरी छ

आइजेन्हावरको तर्क 'मुनरो' सिद्धान्तमा आधारित थियो।

उन्नाइसौँ शताब्दीको प्रारम्भमा अमेरिकी राष्ट्रपति जेम्स मुनरोको पश्चिमी गोलार्द्ध युरोपेली शक्तिहरूको प्रभावबाट मुक्त हुनुपर्छ भन्ने घोषणा एक रक्षात्मक चेतावनी थियो, जसले अमेरिकाले ठान्ने उसको क्षेत्रीय मामिलाबाट अन्य देशहरूलाई टाढा रहन भनेको थियो।

लिभिङ्स्टोनका भनाइमा सन् १९०४ मा राष्ट्रपति थीओडोर रूजभेल्टले उक्त नीतिलाई 'यस क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप स्पष्टतः औचित्यपूर्ण' बनाउन त्यसको समीक्षा गर्दै अद्यावधिक गरेका थिए। अनि, भेनेजुएला, ग्रीनल्यान्ड र इरानमाथिको धम्कीको औचित्य सिद्ध गर्न ट्रम्पको 'डोन-रो' सिद्धान्त पनि त्यसमै निर्भर छ।

"मदुरोको कब्जाअघि... ट्रम्पले उक्त गोलार्द्धमा हामीलाई पहिल्यै थाहा भएको अमेरिकी हस्तक्षेपको हरेक सैद्धान्तिक औचित्य पुनः स्थापित गर्दै ट्रम्पको प्रस्ताव आरम्भ गर्ने घोषणा गरेका थिए," द न्यू योर्कर पत्रिकाका जोन ली एन्डर्सन भन्छन्।

यूनाइटेड फ्रूट कम्पनी

तस्बिर स्रोत, Bettmann Archive/Getty Images

तस्बिरको क्याप्शन, यूनाइटेड फ्रूट कम्पनीले १९५० को दशकमा ग्वाटेमालाको उद्योग र श्रम शक्तिमा प्रभुत्व जमाएको थियो

कार्नेगी एन्डाओमन्ट फर इन्टर्न्याश्नल पीसको ग्लोबल अर्डर एन्ड इन्स्टिट्यूशन्स् प्रोग्र्यामका वरिष्ठ फेलो तथा निर्देशक स्टेवार्ट प्याट्रिकका भनाइमा यो तर्क विश्व व्यवस्थाका लागि (ट्रम्पको) दृष्टिकोणको मूल हो... (र) विश्वव्यापीकरण, बहुपक्षीयता, जेलिएको गठबन्धन र टाढाका देशहरूमा सदाबहार युद्धहरूप्रति उनको लामो समयदेखिको वितृष्णाको अंश पनि हो।

राष्ट्रपति ट्रम्पले गत वर्ष नयाँ न्याश्नल सेक्युरिटी स्ट्राटेजीको लक्ष्य "राष्ट्रिय सुरक्षाका मूल तत्त्व वाणिज्य, भूभाग र स्रोतको रक्षा गर्नु" रहेको बताएका थिए। त्यसपछि उनले "अमेरिकी प्रभुत्व" नै मुख्य रहेकोमा जोड दिएका छन् – र अमेरिकी हित रक्षा गर्न अधिकतम वैचारिक, मनोवैज्ञानिक र सैन्य दबाव लागु गरिने बताएका छन्।

एन्डर्सनको विश्लेषणमा भेनेजुएला र इरानमा ती चासोहरू तेलको आसपासमा घुमेका छन् र चीनले यसलाई पहिले पछ्याउने खतरा छ।

ग्रीनल्यान्डसँग बहुमूल्य स्रोतहरू पनि छन् जसमा वाशिङ्टनका विरोधीहरूले नियन्त्रण जमाउनुअघि ट्रम्प सुरक्षित पार्न चाहन्छन्।

यस्ता स्रोतहरूमा ग्वाटेमालामा रहेको विचारधारा, रुससँग शीतयुद्धको प्रतिद्वन्द्विता र केरा रहेको बुझाइ थियो – तर त्यसको तर्कझैँ रणनीति पनि उस्तै रह्यो।

लिभिङ्स्टोन भन्छन्, "हामीले हालसालै भेनेजुएलामा जे देख्यौँ, ग्वाटेमाला त्यस्तै सैन्य उपस्थितिको घेराउमा थियो।"

"आइजेन्हावरले दक्षिणमा दुईवटा पनडुब्बीहरू पठाउन लागेको घोषणा गरेका थिए, र नजिकैको निकारागुआमा बमवर्षक विमानहरू पठाए, र तीनले ग्वाटेमालावरपरको समुद्रमा ग्वाटेमालाका जहाजहरूको रोक्न थाले। त्यसैले भेनेजुएलासँग धेरै समानता छन्।"

निर्वाचित राष्ट्रपति सत्ताच्युत गरिएको घटना

ग्वाटेमालाका राष्ट्रपति हाकोबो अर्बेन्ज (बायाँ)

तस्बिर स्रोत, Bettmann Archive/Getty Images

तस्बिरको क्याप्शन, ग्वाटेमालाका राष्ट्रपति हाकोबो अर्बेन्ज (बायाँ)लाई सीआईएले सत्ताच्युत गरेपछि उनी मेक्सिकोमा निर्वासनमा जान बाध्य भएका थिए

अमेरिकी सरकारको सेन्ट्रल इन्टेलिजन्स एजन्सी (सीआईए) ले ग्वाटेमालामा ठूलो आक्रमणको चेतावनी दिँदै पर्चा खसाल्यो। ठूलो मात्रामा निरक्षर रहेको जनसङ्ख्यासम्म पुग्न उसले कार्टूनको प्रयोग गरेको थियो।

उसले एउटा रेडिओ सञ्जाल स्थापना गरेको थियो, त्यसको माध्यमबाट उसले देशभित्रबाट प्रसारण गरिरहेको बताएको थियो - यद्यपि विज्ञहरूका अनुसार त्यसका धेरै सिग्नल सिमानाबाहिरबाट त्यहाँ पुगेका थिए।

"सीआईए रेडिओ स्टेशनमा, उनीहरूले हजारौँ मानिसहरू भाडाको सेनामा समावेश भएको दाबी गरेका थिए," लिभिङ्स्टोन भन्छन्, "तर जब उनीहरूले सीमा पार गरे, त्यहाँ कुनै स्वतःस्फूर्त विद्रोह भएन।"

उनका अनुसार यस आक्रमणलाई समर्थन गरिरहेको सीआईएले ग्वाटेमाला र राजधानीका रणनीतिक स्थानहरूमा बमबारी गर्न सुरु गर्‍यो।

सेनाको ब्यारेकमा ठूलो धुवाँ-बम फ्याँकियो र रेडियोमा बम विस्फोटको आवाज सुनाइयो। यसको उद्देश्य जनता र सेनालाई हतोत्साहित पार्नु थियो।

परिणामस्वरूप सैन्य नेतृत्वले आक्रमणलाई पराजित गर्न नसक्ने विश्वासका साथ अर्बेन्जलाई राजीनामा दिन आग्रह गर्‍यो र अन्ततः मनायो।

वर्तमान सन्दर्भ

ग्रीनल्यान्डमा सम्भाव्य अमेरिकी हस्तक्षेपको विरोधमा भएको प्रदर्शन

तस्बिर स्रोत, Sean Gallup/Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'डोन–रो' सिद्धान्तको मुख्य निसाना ग्रीनल्यान्ड रहेको कतिपयको भनाइ छ

एक्काइसौँ शताब्दीमा पुग्दा ग्रीनल्यान्ड र त्यसको स्वामित्व लिइरहेको देश डेन्मार्कले ट्रम्पबाट सामाजिक सञ्जालमार्फत प्रत्यक्ष धम्की पाएका छन्, जसमा उक्त भूभाग कब्जा गर्ने र कुनै पनि प्रतिरोधको लागि आर्थिक सजाय दिइने चेतावनी दिइएको छ।

आदेश अनुसरण गराउन, डर उत्पन्न गर्न र अमेरिकी हितहरूको रक्षा गर्न कडा सैन्य कारबाहीको धम्कीका साथ इरानमा मनोवैज्ञानिक दबाव तीव्र छ।

"व्यापक सैन्य शक्ति इरानतर्फ जाँदै छ," ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, "भेनेजुएलामा जस्तै यो पनि तयार छ, इच्छुक छ र आवश्यक परे द्रुत गतिमा हिंसाका साथ आफ्नो लक्ष्य द्रुत गतिमा पूरा गर्न सक्षम छ।"

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकी सेनाले कब्जामा लिएपछि जबरजस्ती न्यूयोर्क लगिँदै

तस्बिर स्रोत, Michael Nagle/Bloomberg via Getty Images

तस्बिरको क्याप्शन, भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकी सेनाले कब्जामा लिएपछि जबरजस्ती न्यूयोर्क लगियो

पद छोडेको केही हप्तापछि अर्बेन्ज निर्वासनमा जान बाध्य भए।

लिभिङ्स्टोन भन्छन्, "नयाँ सत्ताले उनलाई एअरपोर्टमा जिस्काइरहेको भिडको सामुन्ने अन्डरवेअरसम्म खानतलासी गर्न बाध्य बनायो र त्यसपछि उनलाई विमानमा राखियो।"

त्यसको ७० वर्षभन्दा बढी समयपछि अमेरिकी सेनाले नियन्त्रणमा लिएका मदुरो न्यूयोर्क जान बाध्य भए।

"हामीले पहिलो पटक कराकासमा बमबारीको तस्बिर देख्यौँ," एन्डर्सन भन्छन्, "र, अर्को कुरा हामीले मदुरोलाई हतकडी लगाएको, सैनिकहरूले घेरेको र विनम्र देख्यौँ। यो एउटा ढाँचाको अङ्ग हो।"

सीबीसी न्यूजका माइक क्रोलीजस्ता विश्लेषकहरूका अनुसार ग्रीनल्यान्डप्रति ट्रम्पको दृष्टिकोण पनि सामाजिक सञ्जालमा गरिएका घोषणाहरू, रद्द गरिएका राजकीय भ्रमणहरू र उत्तेजक छविलगायत दृश्य राजनीतिमा निर्भर रहन्छ। त्यसमार्फत् उनी प्रभुत्व दर्साउन र साना राज्यहरूको स्वायत्तताको अवमूल्यन गर्ने प्रयास गर्छन्।

दीर्घकालीन खतरा

अमेरिकी हस्तक्षेपको समर्थन गर्ने केहीले तानाशाहहरू र प्रजातन्त्र वा अमेरिकी सुरक्षाको अवहेलना गर्नेहरू मात्र डराउनुपर्ने तर्क गर्छन् तर धेरै पर्यवेक्षकहरू यसमा सहमत छैनन्।

लिभिङ्स्टोन भन्छन्, "ग्वाटेमालाले अमेरिका प्रजातान्त्रिक तवरबाट निर्वाचित सरकारलाई अपदस्थ गर्न इच्छुक रहेको देखाएको छ र मुनरो सिद्धान्तको घोषणायता अमेरिकाले ल्याटिन अमेरिकामा ८० पटकभन्दा बढी हस्तक्षेप गरिसकेको छ।"

"ट्रम्पले उक्त सिद्धान्तलाई यसको सबैभन्दा सीधा रूपमा लागू गरिरहेका छन्।"

ग्वाटेमालामा त्यो हस्तक्षेपपछि जे भयो, त्यसबाट राष्ट्रपतिलाई चिन्ताको कारण मिल्न सक्छ।

अधिनायकवादी सरकारहरूका बेला दशकौँसम्म हिंसा र अस्थिरताको क्रम चल्यो, त्यसपछि लागुऔषध कारोबारीहरूको सञ्जालले राजनीतिक रिक्तताको फाइदा उठाए, गहिरो ढङ्गले पकड जमाए र व्यग्र शरणार्थी र लागुपदार्थ दुवैलाई अमेरिकी सिमानासम्म पुर्‍याए।

पर्यवेक्षकहरू भन्छन्, यसले भूमिसुधार वा हस्तक्षेपको औचित्य पुष्टि गर्न प्रयोग गरिएको कम्युनिस्ट प्रभावको डरभन्दा अमेरिकी हितका लागि धेरै दीर्घकालीन खतरा निम्त्याएको छ।

बीबीसी रेडियो ४ को 'द लङ भ्यू' कार्यक्रमको एउटा एपिसोडमा आधारित, बीबीसी ग्लोबल जर्नलिजमको थप रिपोर्टिङका साथ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।