तेल बोकेका भेनेजुएलाको दुई वटा ट्याङ्कर पानीजहाज अमेरिकाको नियन्त्रणमा

पानी जहाज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकी तटरक्षकले धेरै सातादेखि यो पानीजहाजलाई पछ्याउँदै आएको थियो
    • Author, यारोस्लाभ युकिभ
    • Author, आना फागी
    • Role, क्यापिटोल हिल वाशिङ्टन

अमेरिकाले नर्थ एट्लान्टिक र क्यारेबियनमा गरेको "एकपछि अर्को" कारबाहीमा भेनेजुएलाको तेल निर्यातसँग सम्बन्धित दुई वटा ट्याङ्करहरू नियन्त्रणमा लिएको जनाएको छ।

आइसल्यान्ड र स्कटल्यान्डको बीचमा पर्ने समुद्री क्षेत्रमा करिब दुई साता पछ्याएर अमेरिकी सैनिकहरू रुसी ध्वजावाहक मरिनेरा पानीजहाजमा प्रवेश गरेका थिए। यूके रोएल नेभीले हवाई र समुद्री सहयोग गरेको थियो।

दोस्रो ट्याङ्कर एम/टी सोफियालाई अमेरिकाले "अवैध गतिविधि" गरेको आरोप लगाएको थियो र क्यारेबियन जलक्षेत्रमा त्यसमा प्रवेश गरेको थियो।

अमेरिकाले भेनेजुएलाको कच्चा तेलको अधिकांश निर्यात रोक्न खोज्दा र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई कराकसस्थित निवासमा सैन्य कार्वाही गरेर कब्जामा लिएको केही दिनपछि यो कदम चालिएको हो।

अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले एक्समा लेखेका छन्: "प्रतिबन्धित र अवैध भेनेजुएलाको तेलमाथिको प्रतिवबन्ध संसारको कुनै पनि ठाउँमा पूर्णस्तरमा कायम छ।"

मस्कोले आफ्नो झन्डामुनि यात्रा गरिरहेको ट्याङ्कर जफत गरिएको घटनाको निन्दा गरेको छ र अमेरिकाले जहाजमा रहेका रुसीहरूलाई उचित व्यवहार गर्न र उनीहरूलाई चाँडै रुस फर्किन अनुमति दिन माग गरेको छ।

रुसी यातायात मन्त्रालयले उक्त पानीजहाजलाई रुसी झन्डा प्रयोग गर्न "अस्थायी अनुमति" दिइएको जनाएको छ। उसले कुनै पनि देशलाई अन्य देशको क्षेत्राधिकार अनुसार उचित तरिकाले दर्ता गरिएका पानीजहाजहरू विरुद्ध बल प्रयोग गर्ने अधिकार नभएको पनि बताएको छ।

रुसले जहाजको सुरक्षाका लागि पनडुब्बी पठाएको विवरणहरूमा जनाइएको छ। तर अमेरिकी सेनाले कुनै प्रतिरोधको सामना नगरी ट्याङ्करमा प्रवेश गरेको देखिन्छ।

ह्वाइट हाउसले उक्त पानीजहाजलाई "भेनेजुएलाको स्याडो फ्लीट जहाजले झुटो झन्डा फहराएपछि त्यसलाई देशविहीन ठानिएको र त्यस विरुद्ध न्यायिक आदेश दिइएको" बताएको छ।

अमेरिकी विदेश मन्त्री मार्को रुबिओले भेनेजुएलाको नेतृत्वले क्यारेबियनमा कब्जामा लिएको दोस्रो ट्याङ्करका सम्बन्धमा अमेरिकालाई सहयोग गरिरहेको बताएका छन्।

"उनीहरूले बुझेका छन् कि उनीहरूले तेल पठाउन र राजस्व उठाउन अनि आर्थिक रूपमा धराशायी हुने अवस्थाबाट जोगिन अमेरिकासँग सहकार्य र काम गर्नुपर्छ," उनले पत्रकारहरूसँग भने।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाले २.८ अर्ब डलर बराबरको ५ करोड ब्यारल तेल अमेरिकालाई दिने बताएका छन्। भेनेजुएलासँग संसारकै सबैभन्दा ठूलो तेल भण्डार रहेको छ।

बुधवार भेनेजुएलामा भइरहेको कारबाहीबारे अमेरिकी सांसदहरूलाई जानकारी दिएका रुबिओले अमेरिकाले भेनेजुएलामा रहेको तेल "बजार भाउमा बजारमा" विक्रि गर्ने र "भेनेजुएलाका जनतालाई फाइदा पुग्ने तरिकाले" वितरण गर्न प्रणालीमा अमेरिकाले नियन्त्रण गर्ने बताएका थिए।

उनले भेनेजुएलाको भविष्यका लागि अमेरिकाले सोचबिचार गरेर योजना बनाएको र प्रशासनले यसलाई "हचुवाको भरमा" अघि सारेको होइन भनेका छन्।

एक अमेरिकी गार्ड दूरबिनमार्फत पानीजहाजमा हेर्दै

तस्बिर स्रोत, US European Command

रुबिओले भेनेजुएलामा ट्रम्प प्रशासनको योजना स्थायित्व, पुनरुत्थान र त्यसपछिको परिवर्तन रहेको बताए।

सिनेटका मेजरिटि लिडर चक शुमरले भेनेजुएलामा कति अमेरिकी संलग्न हुन सक्छन् र अमेरिकी संलग्नताका लागि कति पैसा खर्च हुनेछ भन्ने प्रश्नको जवाफ सांसदहरूलाई चाहिएको बताएका छन्।

रिपब्लिकनहरूले यो क्षेत्रमा प्रशासनको कदमलाई समर्थन गरेको देखिन्छ। तर केहीले भने संसद्को कस्तो प्रकारको भूमिका यसमा रहनेछ भन्नेमा चासो पनि व्यक्त गरेका छन्।

भेनेजुएलामा जारी सैन्य कारबाहीलाई रोक्ने प्रयासमा सिनेटले अर्को साता बहुपक्षिय युद्ध अधिकारहरू सम्बन्धि प्रस्तावमा मतदान गर्ने ठानिएको छ।

भियतनाम युद्धपछि तयार पारिएको त्यसतो 'वार पावर्स रिजोलुसन' ले कंग्रेसको स्वीकृतिबिना नै अमेरिकी सेनालाई युद्धमा संलग्न गराउन सक्ने राष्ट्रपतिको शक्तिलाई सीमित तुल्याउँदछ।

यसैबीच हालैका वर्षहरूमा भेनेजुएलाको तेलको सबैभन्दा ठूलो खरिदकर्ता रहेको चीनले अमेरिकी कदमको निन्दा गरेको छ र यसले विश्वव्यापी ऊर्जा सुरक्षालाई खतरामा पारेको आरोप पनि लगाएको छ।

बुधवार अमेरिकी सेनाले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्ट गर्दै ती दुई ट्याङ्करहरू कब्जामा लिइएको घोषणा गरेको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।