अमेरिका भेनेजुएलासँग युद्धमा छैनः रुबिओ

तस्बिर स्रोत, Reuters
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भेनेजुएलासँग अमेरिका युद्धमा नरहेको बताएका छन्। भेनेजुएलामा अमेरिकाले हमला गरेको भोलिपल्ट उनले यस्तो बताएका हुन्।
अमेरिकाले कब्जामा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेस सोमवार अदालतमा उपस्थित हुने अधिकारीहरूले बताएका छन्।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले अमेरिकी कारबाहीका क्रममा मदुरोको सुरक्षा टोलीको ठूलो हिस्सा र "निर्दोष सर्वसाधारण" मारिएको बताएका छन्।
भेनेजुएलाले "सैन्य आक्रमणको" को निन्दा गरेको छ र सेनाले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेसलाई समर्थन गर्ने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द एट्लान्टिकसँग बोल्दै यदि रोड्रिगेसले "जे सही हो त्यो गरिनन् भने उनले ठूलो मूल्य चुकाउनुपर्ने" चेतावनी दिएका छन्।
भेनेजुएलाका जनताले सत्ताको शान्तिपूर्ण सङ्क्रमणको सम्भाव्यताबारेको अनिश्चिततालाई लिएर चिन्ता व्यक्त गरेका छन्।
"अपरेशन एब्सोल्यूट रिजल्भ" पृथ्वीमा शान्तिका लागि
एअर फोर्स वानबाट बोल्दै, एक पत्रकारले राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, भेनेजुएलामा गरिएको कारबाही वास्तवमा के का निम्ति थियो: तेल वा सत्ता परिवर्तन?
ट्रम्पले त्यसको प्रतिक्रियामा त्यो "पृथ्वीमा शान्तिका लागि" रहेको भनेका छन्।
"जुनबेला बनाइयो त्यो बेला मन्रो डक्ट्रिन एकदमै महत्त्वपूर्ण थियो र अन्य राष्ट्रपतिहरूमध्ये धेरैले त्यसलाई बिर्से," उनले भने।
"तर मैले बिर्सिन। मैले दृष्टि गुमाएको छैन।"
सम्झनाका लागि मन्रो डक्ट्रिन १९ औँ शताब्दीको अमेरिकी विदेश नीति हो जसले पश्चिमी गोलार्द्ध युरोपेली शक्तिहरूको प्रभावबाट मुक्त हुनुपर्छ भनेर जोड दिन्छ।
राष्ट्रपति थियाडोर रुज्बेल्टले पछि उक्त नीतिलाई विस्तार गर्दै यदि देशहरूले आफ्नो स्थायित्व व्यवस्थापन गर्न नसके अमेरिकाले हस्तक्षेप गर्ने बताएका थिए।
ट्रम्पका आलोचक बोल्टन मदुरोलाई कब्जामा लिनु उचित भएको ठान्छन्

तस्बिर स्रोत, Reuters
ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी सम्हालेका जन बोल्टनले बीबीसीसँग बोल्दै मदुरोलाई अपदस्थ गर्नु सही काम भएको बताएका छन्। उनी पछि ट्रम्पका कट्टर आलोचक बनेका थिए।
"हामीले सन् २०१८ र २०१९ मा यसको असफल प्रयास गरेका थियौँ। अहिले हामीले मदुरोलाई ल्याएका छौँ तर हामीले सत्ता उल्ट्याएका छैनौँ।"
बोल्टनले कराकासमा कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेसले "अमेरिकासँग घुँडा टेक्ने सम्भावना कम रहेको" बताएका छन्। तर भेनेजुएलामा अमेरिकी सेनाको विशाल उपस्थितिले ट्रम्पलाई सहजता दिएको बताएका छन्।
"यहाँ गर्नुपर्ने कुरा के हो भने मदुरो शासनको बाँकी रहेको कुरालाई तल पार्न स्वतन्त्र र निष्पक्ष चुनावको लागि विपक्षीलाई सत्तामा राख्नु हो। उनीहरूसँग चुनाव तय हुँदासम्म अन्तरिम प्रशासन चलाउन सक्षम व्यक्तिहरू छन्।"
अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा नोबेल पुरस्कार विजेता मारिआ कोरिना मचाडोसँग देशको नेतृत्व गर्न "समर्थन र सम्मान" नभएको बताएका थिए।
बोल्टनका अनुसार ह्वाइट हाउसमा काम गर्दा त्यति बेलाको योजना भेनेजुएलालाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्ने थियो। केही हदसम्म अमेरिकामा भेनेजुएलाको सम्पत्ति रोक्का गर्ने र युरोपेली सङ्घका देशहरूले पनि त्यसै गर्ने थियो।
आउँदा दिनहरूमा हेर्नुपर्ने मुख्य कुरा उनका अनुसार "रुस, चीन, क्युबा र इरानले सत्तालाई समर्थन गर्न के गर्छन् भन्ने ठूलो प्रश्न हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








