रुसद्वारा 'नयाँ क्षेप्यास्त्र' प्रहार, युक्रेनलाई अस्त्र दिने देशका सैन्य संरचना पनि नछोड्ने चेतावनी

    • Author, रोबर्ट ग्रीनल
    • Role, बीबीसी न्यूज

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय बलिस्टिक मिसाइल (आईसीबीएम) नभएको दाबी गरेका छन्। उनका अनुसार रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बिहीवार बिहान “नयाँ परम्परागत मध्यम दूरीको क्षेप्यास्त्र” प्रहार गरेको हो।

पुटिनका अनुसार युक्रेनले अमेरिका र यूकेले उपलब्ध गराएका हतियार प्रयोग गरेर आफ्नो भूमिमा आक्रमण गरेको जबाफ दिन रुसले 'ओरेश्निक' नामक क्षेप्यास्त्र प्रहार गरेको हो।

उनले युक्रेनलाई रुसी भूभागमा आक्रमण गर्न हतियार उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिका र यूकेले आफ्नो पुरानो नीतिमा परिवर्तन गर्दै यसै साता युक्रेनलाई अमेरिकी 'आर्मी ट्याक्टिकल मिसाइल सिस्टम' (एटीएसीएमएस) र यूकेको 'स्टोर्म श्याडो' क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नयाँ क्षेस्यास्त्र प्रहार गर्नु “अझ युद्ध चर्काउने” कदम भएको बताएका छन्।

“रुसलाई शान्तिमा कुनै रुचि छैन भन्ने यो अर्को प्रमाण हो,” उनले सामाजिक सञ्जाल 'एक्स'मा भनेका छन्।

“पुटिनले युद्ध लम्ब्याइरहेको मात्रै हैनन्, उनले वास्तवमै शान्ति चाहने विश्वका मानिसहरूका मुखमा थुकिरहेका पनि छन्।”

यसअघि जेलेन्स्कीले रुसी क्षेप्यास्त्रमा आईसीबीएमको विशेषता रहेको बताएका थिए। तर यसमा पश्चिमा अधिकारीहरूले संशय व्यक्त गरेका थिए।

'क्षेप्यास्त्रको परीक्षण'

अमेरिकी न्याश्नल सेक्युरिटी काउन्सिलले पनि “युक्रेनविरुद्ध परीक्षणकालीन मध्यम दूरीको क्षेप्यास्त्र” प्रहार भएको जनाएको छ। अमेरिकी निकायले रुससँग यस्ता हतियार "औँलामा गन्न सकिने सङ्ख्यामा मात्रै" रहेको र यसले युद्धमा ठूलो भिन्नता नल्याउने बताएको छ।

पेन्टागनकी प्रेस अधिकारी सब्रिना सिंहले यस्तो क्षेप्यास्त्र प्रहार गर्नुभन्दा केही समयअघि अमेरिकालाई यसबारे सूचित गरिएको बताएकी थिइन्।

पुटिनले “परीक्षण” सफल भएको र बलिस्टिक क्षेप्यास्त्रको गैरआणविक हाइपरसोनिक संस्करण"ले "लक्ष्यभेदन गरेको" बताए।

“अमेरिकी र ब्रिटिश लामो दूरीका अस्त्रको प्रयोगको प्रतिक्रियामा रुसी सशस्त्र फौजहरूले युक्रेनका सैन्य औद्योगिक भवनहरू भएको क्षेत्रमा संयुक्त हमला गरेका छन्,” पुटिनले भने।

उनका अनुसार उक्त क्षेप्यास्त्रले एक सेकेन्डमा झन्डै तीन किलोमिटर दूरी पार गर्ने उक्त क्षेप्यास्त्रलाई निस्तेज बनाउने कुनै उपाय छैन।

उनले पश्चिमा देशहरूमा पनि रुसले जबाफ दिनेमा "शङ्का नगर्न" चेतावनी दिए।

यूकेस्थित एक सैन्य थिङ्क-ट्याङ्कका निर्देशक म्याथ्यू साभिलले प्राप्त जानकारीका आधारमा बिहीवार प्रहार गरिएको अस्त्र यसअघि रुसले प्रयोग गरेको ५०० किलोमिटर दूरीमा प्रहार गर्न सक्ने ‘स्कान्डर्स’ भन्दा लामो दूरीमा मार हान्ने क्षमताको भएको बताए।

पुटिनले भने जस्ता मध्यम दूरीका बलिस्टिक क्षेप्यास्त्रले ३,००० देखि ५,५०० किलोमिटर टाढासम्मको दूरीमा प्रहार गर्न सक्छन्।

रुस-युक्रेन युद्ध सुरु भएको १,००० दिन पूरा

रुस र युक्रेनबीच युद्ध भएको मङ्गलवार १,००० दिन पूरा भयो। त्यसलगत्तै पुटिनले गरेको घोषणाले युद्ध अझै खतरनाक र नयाँ चरणमा प्रवेश गर्ने सङ्केत गरेको छ।

रुसले आफ्नो दक्षिण पश्चिमी छिमेकीमाथि सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरको आक्रमण गरेको थियो।

आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका राष्ट्रपति जो बाइडनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको एटीएसीएमएस प्रयोग गर्न गत आइतवार किएभलाई अनुमति दिएका थिए।

त्यसको दुई दिनपछि उक्त क्षेप्यास्त्र रुसको ब्रियान्स्क क्षेत्रमा प्रहार गरिएको थियो।

यूकेले उपलब्ध गराएका स्टोर्म श्याडो क्षेप्यास्त्र युक्रेनले बुधवार रुसी निसानामा प्रहार गरेको विवरण आएको थियो। रुसले उत्तर कोरियाली सैनिकहरू युद्धमा खटाएपछि पश्चिमा देशहरूले प्रतिक्रियास्वरूप आफूले युक्रेनलाई उपलब्ध गराएका अस्त्रहरू रुसी भूभागभित्र प्रहार गर्न अनुमति दिएका थिए।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प फर्कने तयारी गरिरहँदा पश्चिमा देशहरूले हतियार प्रयोगबारे पुरानो नीति परिवर्तन गरेका थिए।

ट्रम्पले युक्रेन र रुसबीच जारी युद्धमा अमेरिकी संलग्नतालाई निरन्तरता नदिने र आफू पदमा आएको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने वाचा गरेका छन्।

रुसले परमाणुअस्त्रसम्बन्धी आफ्नो मार्गदर्शक सिद्धान्त संशोधन गर्दै आफूमाथि अरू देशबाट आक्रमण हुँदा परमाणुअस्त्र प्रयोग गर्ने बाटो खोलेको छ।

अमेरिकाले युक्रेनलाई आफूले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको भोलिपल्ट तथा युक्रेन युद्ध सुरु भएको १,००० दिन पुगेकै दिन पुटिनले उक्त सिद्धान्तमा गरिएका परिवर्तनहरूलाई मङ्गलवार अनुमोदन गरे।

अब रुसले परमाणुशक्ति भएको अरू राष्ट्रको समर्थन लिएको देशले आफूमाथि हमला गरे त्यसलाई संयुक्त आक्रमण मान्ने छ। अनि आफूमाथि परम्परागत क्षेप्यास्त्र, ड्रोन वा विमान प्रयोग गरी हुने ठूलो आक्रमणको जबाफ परमाणुअस्त्र प्रयोग गरेर दिन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।