क्रिकेटको बलले लागेर अस्ट्रेलियामा किशोरको मृत्यु

अस्ट्रेलियामा क्रिकेटको बलले लागेर मृत्यु भएका किशोर

तस्बिर स्रोत, Supplied

अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट अभ्यास गर्ने क्रममा बलले लागेर एक जना किशोरको मृत्यु भएको छ।

सत्र वर्षका बेन अस्टिनलाई फर्नट्री गली क्रिकेट प्रशिक्षण केन्द्रमा जालीभित्र अभ्यास गर्ने क्रममा अटोमेटिक बलिङ मशिनले प्रहार गरेको बलले टाउको वा घाँटीमा लागेको थियो। उनले सुरक्षाका लागि हेलमेट पनि लगाएको ठानिएको छ।

साँझ पाँच बजे उनलाई बलले लागे लगत्तै आपत्कालिन सेवालाई खबर गरिएको थियो। गम्भीर अवस्थामा स्थानीय मोनाशस्थित बाल अस्पतालमा पुर्‍याइएका ती किशोरको उपचारको क्रममा बुधवार मृत्यु भएको हो।

फर्नट्री गली क्रिकेट क्लबले आफ्ना खेलाडीको दु:खद निधनबाट स्तब्ध भएको जनाएको छ।

फर्नट्री गnL क्रिकेट असोसिएसनका अध्यक्ष अर्नी वाल्टर्सले बेन "स्थानीय क्रिकेटमा निकै लोकप्रिय र प्रतिभाशाली" रहेको बताएका छन्।

"यो समाचार थाहा पाउँदा हाम्रो समुदायको मन कति भारी हुन्छ भन्ने मलाई थाहा छ। हामीले हाम्रा क्लब र क्रिकेट परिवारलाई सक्दो सहयोग गर्ने छौँ," उनले भने।

दशकअघि पनि भएको थियो उस्तै घटना

अस्ट्रेलियाका क्रिकेटर फिलिप ह्युज

तस्बिर स्रोत, Reuters

सामाजिक सञ्जालमा पोस्ट गर्दै बेन आबद्ध क्रिकेट क्लबले उनको परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेको छ। "बेन र उनले ल्याउने गरेका खुसीबारे जानकार सबैप्रति" उक्त क्लबले समवेदना दिएको छ।

"यो समयमा बेनको परिवारको गोपनीयताको सम्मान गर्न पनि हामी आग्रह गर्दछौँ," क्लबको सामाजिक सञ्जाल पोस्टमा भनिएको छ।

ती किशोरको परिवारको तर्फबाट क्लबले एम्बुलेन्स भिक्टोरिया, प्रहरी र अस्पतालका कर्मचारीलाई उनीहरूको सेवाप्रति आभार व्यक्त गरेको छ।

बीबीसीले क्रिकेट अस्ट्रेलिया र क्रिकेट भिक्टोरियासँग प्रतिक्रिया मागेको छ।

सन् २०१४ मा अस्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको ब्याटिङ गर्दा क्रिकेटको बलले घाँटीमा लागेर मृत्यु भएको एक दशकपछि अर्का किशोरको मृत्यु भएको हो।

फिलिपको मृत्युमा कसैको पनि दोष नदेखिएपछि क्रिकेट खेलाडीहरूले प्रयोग गर्ने सुरक्षा उपकरणमा सुधार गर्नुपर्ने विषय उठेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।