युद्धविराम परिपक्व नहुँदै किन हजारौँ विस्थापित लेबननीहरू घर फर्किन थाले

- Author, ह्युगो बशेगा
- Role, मध्यपूर्व संवाददाता, दक्षिणी लेबनन
एकाबिहानै उनीहरू लुगाफाटो भएका झोला, ओढ्ने र ओछ्याउने जेजे सकिन्छ आफूसँग लिएर दक्षिणतर्फ लागे।
लडाइँका कारण गाउँ छोडेर भाग्न बाध्य भएका लेबननीहरू इजरेल र हिज्बुल्लाहबीच भएको युद्धविराममा व्यवधान आउँछ कि आउँदैन भनेर अलमलिएनन्।
युद्धविराम सुरु भएको केही घण्टाभित्रै उनीहरू बेइरुतको मुख्य सडक हुँदै आफ्नो घरतर्फ फर्किन थाले।
कसैले हिज्बुल्लाहको पहेँलो र हरियो झण्डा फर्फराए भने कसैले दुई महिनाअघि इजरेली हवाई आक्रमणमा मारिएका हिज्बुल्लाह नेता हसन नस्रल्लाहको तस्बिर सहितको पोस्टर बोके। धेरैका लागि यो उत्सवको क्षण थियो।
“जे भयो एकदमै राम्रो भएको छ। यो प्रतिरोधको जित हो,” अमेरिका र फ्रान्सको पहलमा भएको युद्धविरामबारे अबु अलिले भने।
“ईश्वरले हाम्रा शहीदहरूप्रति कृपा गरून्। प्रतिवाद हाम्रो गौरव र सम्मानको स्रोत हो। त्यो नभए हाम्रो अस्तित्व, गृहनगर केही पनि रहँदैनथ्यो।”
उनी सीमानजिकैको आफ्नो गाउँ हौला फर्कने योजनामा छन्। तर उनका अनुसार त्यहाँ अझै इजरेली सैनिकहरू छन्।
“हाम्रो घर अझै बाँकी छ कि नष्ट भइसक्यो हामीलाई केही पनि थाहा छैन,” अलिले भने। “तर हामी त्यहीँ जान्छौँ।”
दक्षिण लेबननको परिस्थिति फेरिँदै

तस्बिर स्रोत, Reuters
साठी दिनको युद्धविरामको अवधिमा लेबननको दक्षिणी क्षेत्रबाट चरणबद्ध रूपमा इजरेली सैनिकहरू फिर्ता हुने छन्। साथै हिज्बुल्लाहका लडाकु र हतियार पनि त्यहाँबाट हट्ने छन्।
लेबननको सेनाले त्यहाँ आफ्नो उपस्थिति बढाउँदै लगिएको बताएको छ।
सम्झौताअनुसार लेबननी सेनाले अब ५,००० थप सैनिक त्यस क्षेत्रमा खटाउने छ। युद्धविरामका सर्तहरूको उल्लङ्घन भए आफू जबाफ दिन तयार रहेको इजरेल र हिज्बुल्लाह दुवैले बताएका छन्।
गत सेप्टेम्बरमा इजरेलले व्यापक हवाई हमला, हिज्बुल्लाहका प्रमुख नेताको हत्या र स्थल आक्रमण सुरु गरेपछि द्वन्द्व उत्कर्षमा पुगेको थियो। युद्धविरामले मात्र एक वर्ष लामो द्वन्द्व मत्थर पार्न सक्ने ठानिएको छ।
इजरेलले हिज्बुल्लाहलाई सीमा क्षेत्रबाट टाढा धकेलेर आफ्नो देशको उत्तरी क्षेत्रमा बस्ने नागरिकहरूमाथि हुने आक्रमण रोक्ने उद्देश्यले कारबाही गरिएको दाबी गरेको थियो।
द्वन्द्वका कारण लेबननमा १० लाखभन्दा धेरै मानिसहरू विस्थापित भएका थिए।
त्यसरी विस्थापित हुनेहरूमध्ये अधिकांश मानिस इरानबाट समर्थनप्राप्त शक्तिशाली लडाकु समूह एवं राजनीतिक दल समेत रहेको हिज्बुल्लाहको पकड क्षेत्र रहेको लेबननको दक्षिणी क्षेत्रका शिया मुस्लिम बहुल क्षेत्रका बासिन्दा हुन्।
सुरक्षित नहुँदै घर फर्किए

तस्बिर स्रोत, Reuters
इजरेल र लेबननका अधिकारीहरूले सर्वसाधारण मानिसहरू सुरक्षाका दृष्टिकोणमा घर फर्कन अझै अनुकूल नभएको चेतावनी दिएका थिए। तर युद्धविराम लागु भएपछि मानिसहरूले हतारिए।
“हाम्रो घर सग्लो छ वा छैन भन्ने कुराले केही फरक पर्दैन। हामी घर फर्कने कुरा नै महत्त्वपूर्ण हो। हाम्रा शहीद नस्रल्लाहको बलिदानलाई धन्यवाद,” आफ्नो गाउँ सिद्दिकिन फर्कन लागेकी फतमा बलहासले भनिन्।
हिज्बुल्लाह पक्षधर सञ्चारमाध्यमहरूले पनि युद्धविरामलाई हिज्बुल्लाहको जितका रूपमा प्रस्तुत गरेका छन्।
बेइरुतभन्दा दक्षिणको पहिलो सबैभन्दा ठूलो तटीय सहर साइदननजिकै सैन्य जाँचचौकीमा गाडीहरूको भिड देखिन्छ।
सैनिकहरूले मानिसहरूलाई विस्फोटन नभएका अस्त्रहरू नछुन, नजिक नपर्न र त्यस्तो केही सन्दिग्ध वस्तु देखिए खबर गर्न अनुरोध गरिएका पर्चाहरू बाँडिरहेका छन्।
बुधवार रातिसम्म युद्धविराममा कुनै व्यवधान उत्पन्न भएन। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले त्यसलाई “पछिल्ला महिनाहरूको अन्धकारमाझ आशाको पहिलो किरण” भनेका छन्।
युद्धले यो देशलाई ध्वस्त बनाएको छ र पुनर्निर्माणको काम कठिन हुने र लामो समय लाग्ने देखिन्छ। अब के हुन्छ भन्नेमा हिज्बुल्लाह अझै स्पष्ट छैन।
केही खुम्चिएको भए पनि उक्त समूहले उल्लेख्य समर्थन पाइरहेको छ।
लेबननका लागि यो सङ्कट अझै पार भइसकेको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








