हेपाटाइटिस के हो र यसबाट कसरी जोगिन सकिन्छ

संसारका लाखौँ मानिसले थाहै नपाई हेपाटाइटिस रोग बोकेर हिँडिराखेको ठानिएको छ। त्यसैले स्वास्थ्य निकाय र दातृसंस्थाहरूले धेरैभन्दा धेरै मानिसहरूलाई हेपाटाइटिसको परीक्षण गराउन भनेका छन्।

सधैँ झैँ यो वर्ष पनि २८ जुलाईमा विश्व हेपाटाइटिस दिवस मनाइएको छ। यस अवसरमा यो क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको मूल सन्देश नै हेपाटाइटिसको परीक्षण गराऔँ भन्ने थियो।

यो रोग बर्सेनि दश लाखभन्दा धेरै मानिसको मृत्युको कारक बन्दै आएको तथ्याङ्क छ। पछिल्ला वर्षहरूमा यो सङ्ख्या झन् बढ्दैछ।

हेपाटाइटिस के हो र यो किन खतरनाक छ?

हेपाटाइटिस भनेको कलेजोमा समस्या हुनु हो। यो समस्या हुँदा कलेजो सुन्निन्छ। यो प्रायस: भाइरल सङ्क्रमणको कारक पनि हो।

यसले कलेजोको क्यान्सर गराउन सक्ने मात्रै होइन कलोजोले कामै गर्न नगर्ने अवस्था निम्त्याउन वा अन्य कलोजोसम्बन्धी रोग पनि पैदा गर्न सक्छ।

हेपाटाइटिस भाइरसलाई 'ए'देखि 'ई'सम्म पाँच प्रकारमा वर्गीकरण गरिएको छ।

हेपाटाइटिस 'बी' र 'सी' सबैभन्दा क्षति पुर्‍याउन सक्ने प्रकृतिका मानिन्छन्। विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)को अनुमानमा यसबाट संसारभर प्रतिवर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको छ। यसको अर्थ प्रत्येक ३० सेकेन्डमा एक जनाको मृत्यु हुन्छ भन्ने हो।

हेपाटाइटिस कति फैलिएको छ?

डब्ल्यूएचओको अनुमानमा पच्चीस करोड चालीस लाख मानिस दीर्घकालीन हेपाटाइटिस 'बी' र पाँच करोड मानिस दीर्घकालीन हेपाटाइटिस 'सी'सहित बाँचिरहेका छन्। उसका अनुसार प्रत्येक वर्ष यो रोगका २० लाख नयाँ बिरामी थपिइराखेका छन्।

हेपाटाइटिस 'बी'को असरबारे डब्ल्यूएचओ भन्छ :

  • डब्ल्यूएचओको पश्चिम प्यासिफिक क्षेत्र अन्तर्गत चीन, जापान र अस्ट्रेलियामा मात्रै ९ करोड ७० लाख मानिस दीर्घकालीन रूपमा सङ्क्रमित छन्
  • अफ्रिकामा ६ करोड पचास लाख मानिस सङ्क्रमित छन्
  • डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्र (भारत, थाइल्याण्ड र इन्डोनेसियासहितका) मा ६ करोड १० लाख मानिस सङ्क्रमित छन्

डब्ल्यूएचओका अनुसार हेपाटाइटिस 'ई'बाट विश्‍वभर प्रत्येक वर्ष २ करोड मानिस सङ्क्रमित हुने गरेका छन्। सन् २०१५ मा एक वर्षको अवधिमा यो रोगबाट ४४ हजारजनाको मृत्यु भएको थियो। दक्षिण तथा पूर्वी एसियामा यो रोग धेरैलाई लागेको छ।

तपाईँलाई कसरी हेपाटाइटिस हुन सक्छ?

हेपाटाइटिस 'ए' सामान्यतया: दिसाले दूषित बनेको खानेकुरा वा पिउने पानीबाट सर्ने गर्छ। यो सङ्क्रमित व्यक्तिसँगको सिधा सम्पर्कबाट पनि सर्न सक्छ।

निम्न र मध्यम आययुक्त देशहरूमा सरसफाइको स्थिति राम्रो नहुने भएकाले त्यहाँ यो सामान्य हो।

हेपाटाइटिस 'ए'का लक्षणहरू छिटै हराउँछन् र प्रायश: सबैजसो मानिस यसबाट निको हुन्छन्। तैपनि यसले कलेजोलाई निस्क्रिय बनाएर बिरामीको ज्यानै लिन सक्छ।

दूषित पानी र खानेकुरा प्रयोग हुने ठाउँमा यसले महामारीको रूप लिन सक्छ। सन् १९९८ मा चीनको साङ्घाईमा हेपाटाइटिस 'ए'को महामारी फैलिँदा तीन लाख मानिस सङ्क्रमित भएका थिए।

हेपाटाइटिस 'बी' सबैभन्दा धेरै सर्छ :

  • जन्म वा प्रसवका क्रममा आमाबाट शिशुलाई सर्छ
  • बालबालिकाको आपसी सम्पर्कबाट सर्छ
  • दूषित सियो वा सुई प्रयोग गर्दा, ट्याटू बनाउँदा, शरीरका अङ्गहरू छेड्दा वा सङ्क्रमणयुक्त रगत वा शरीरबाट निस्कने तरल पदार्थ (जस्तै शारीरिक सम्पर्क) बाट पनि यो रोग सर्छ

हेपाटाइटिस 'सी' र 'डी' पनि सङ्क्रमणयुक्त रगत (जस्तै सङ्क्रमणयुक्त रगत चढाउँदा वा सुई प्रयोग गर्दा) बाट फैलिन सक्छ।

हेपाटाइटिस 'बी'को सङ्क्रमण भएको व्यक्तिमात्रै हेपटाइटिस 'डी'बाट सङ्क्रमित हुन सक्छन्। खासगरी हेपाटाइटिस 'बी'को दीर्घकालिन सङ्क्रमण भएका र गम्भीर सङ्क्रमण भएका लगभग पाँच प्रतिशत मानिसलाई यस्तो हुन्छ।

हेपाटाइटिस 'ई'ले पनि दूषित खानेकुरा वा पानीकै माध्यमबाट सङक्रमित तुल्याउँछ। दक्षिण र पूर्वी एसियामा अति सामान्य रहेको यसले विशेषगरी गर्भवति महिलालाई क्षति गर्न सक्छ।

हेपाटाइटिस भएको कसरी थाहा पाउने?

डब्ल्यूएचओका अनुसार यसका लक्षणहरू यस्ता हुन्छन् :

  • ज्वरो
  • थकाइ लाग्ने
  • भोक नलाग्ने
  • पखाला लाग्ने
  • वाकवाकी लाग्ने
  • पेट वरपर दुख्ने
  • गाढा रङको पिसाब र पहेँलो दिसा आउने
  • जन्डिस देखा पर्ने (शरीर पहेँलो र आँखा सेतो हुने)

तथापि धेरैजसो मानिसहरूमा यसको सामान्य लक्षण मात्र देखिन्छ र कतिपयमा त्यो पनि देखिँदैन।

डब्ल्यूएचओको सन् २०२२ को ताजा तथ्याङ्कका अनुसार विश्‍वभरमा दीर्घकालीन हेपाटाइटिस 'बी'बाट सङ्क्रमितमध्ये १३ प्रतिशत र हेपाटाइटिस 'सी'बाट सङ्क्रमितमध्ये ३६ प्रतिशतको मात्रै निदान भएको छ।

मुख्य खतरा भनेकै थाहै नपाइकन यसको सङ्क्रमण बढ्न सक्नु हो। त्यसैले डब्ल्यूएचओ र स्वास्थ्यसम्बन्धी दातृसंस्थाले धेरैभन्दा धरै मानिसहरूलाई हेपाटाइटिसको परीक्षण गराउन अनुरोध गरिराखेका हुन्।

हेपाटाइटिसको परीक्षण र उपचार के के हुन्?

तपाईँ आफ्ना पारिवारिक चिकित्सक वा यौनस्वास्थ्य क्लिनिकमा गएर हेपाटाइटिस 'ए', 'बी' र 'सी'को जाँच गर्न सक्नु हुन्छ।

हेपाटाइटिस 'ए'को कुनै निश्चित उपचार छैन। तथापि अधिकांश मानिसहरू छिटै यसबाट निको हुने गर्छन् र प्रतिरोधात्मक क्षमताको विकास गरिहाल्छन्।

दीर्घकालीन हेपाटाइटिस 'बी' र हेपाटाइटिस 'सी' दुबैको एन्टिभाटइरल एजेन्टमार्फत् उपचार गर्न सकिन्छ। त्यसले सिरोसिसको गतिलाई सुस्त बनाइदिन्छ र कलेजोको क्यान्सर हुने जोखिमलाई पनि घटाइदिन्छ।

हेपाटाइटिस 'ए' र 'बी'बाट जोगिन खोपहरू उपलब्ध छन्। नवजात शिशुलाई हेपाटाइटिस 'बी'को खोप दिँदा यसले आमाबाट सरेर आउन सक्ने रोगबाट जोगाउँछ र हेपाटाइटिस 'डी'का निम्तिसमेत रक्षाकवचको काम गर्छ।

हेपाटाइटिस 'सी'को खोप छैन भने हेपाटाइटिस 'ई'को खोप हाल सबैतिर उपलब्ध छैन।

हेपाटाइटिसबाट कसरी जोगिने?

डब्ल्यूएचओका अनुसार हेपाटाइटिस 'ए' फैलिन नदिन निम्नानुसारको कार्य गर्न सकिन्छ :

  • खाना खानुअघि र शौचालयको प्रयोग गरेपछि राम्ररी हात धुनु पर्छ
  • समुदायमा सुरक्षित पिउने पानीको पर्याप्त आपूर्ति हुनु पर्छ
  • ढलको उचित व्यवस्थापन हुनु पर्छ

डब्ल्यूएचओका अनुसार हेपाटाइटिस 'बी', 'सी' र 'डी'बाट जोगिन यसो गर्न सकिन्छ :

  • सुरक्षित यौन सम्पर्क गर्न, कन्डोमको प्रयोग गर्ने र सकेसम्म थोरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्ने
  • औषधी लिँदा, ट्याटू वा पिअर्सिङ(छेड्ने कार्य) गर्दा अर्काले प्रयोग गरेको सुई वा सियो प्रयोग नगर्ने
  • हेपाटाइटिस 'बी'को हकमा– रगत, शरीरबाट निस्कने तरल पदार्थ वा प्रदुषणयुक्त सतहको सम्पर्कमा आएको खण्डमा राम्ररी हात धुने
  • हेपाटाइटिस 'बी'का हकमा– तपाईँ वयस्क र स्वास्थ्यकर्मी हुनुहुन्छ भने खोप लगाउने, किनकि जन्मको समयमा दिइने खोपको प्रभाव २० वर्षसम्म मात्रै रहन सक्छ

सरसफाइको राम्रो अभ्यास गरेर पनि हेपाटाइटिस 'ई' बाट जोगिन सकिन्छ। त्यस्तै जनावरका कलेजोलाई राम्ररी पकाएर मात्रै खाने गर्नुपर्छ। खासगरी बङ्गुरको कलेजो खाँदा पकाउनमा अधिक ध्यान दिनुपर्छ।

यसबाट पार पाउन स्वास्थ्य अधिकारीहरू के गर्दैछन्?

विश्‍व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा हेपाटाइटिस 'बी' र 'सी'बाट मानिसहरू सङ्क्रमित हुने दर ९० प्रतिशतले र यसबाट हुने मृत्युको सङ्ख्या ६५ प्रतिशतले घटाउन चाहेको बताएको छ।

तथापि उसका अनुसार हेपाटाइटिस भाइरसबाट हुने मृत्युको सङ्ख्या बढिरहेको छ। डब्ल्यूएचओको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ मा ११ लाख रहेको मृत्युसङ्ख्या सन् २०२२ मा बढेर १३ लाख पुगेको छ।

उसका अनुसार विश्‍वका ६० प्रतिशत देशहरूले मात्रै नि:शुल्क परीक्षण वा छुटको सुविधा दिन्छन्। त्यसैले अहिले पनि लाखौँ मानिहरू हेपाटाइटिस परीक्षण गराउन अप्ठ्यारो मान्छन्। डब्ल्यूएचओका अनुसार अफ्रिकामा एक तिहाइ देशले मात्रै यो सेवा उपलब्ध गराएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।