नेपाल टी-२० विश्वकप एशिया छनोटमा समूह उपविजेता, यूएईसँग सेमिफाइनल खेल्ने

नेपाल ओमान क्रिकेट
तस्बिरको क्याप्शन, हारपछि नेपालले अब यूएईसँग सेमिफाइनल खेल्नेछ
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

श्वास रोकिने एउटा नाटकीय क्षण बनेको अन्तिम बलमा करण केसीले छक्का प्रहार गर्न नसकेपछि नेपाल २० ओभरको विश्वकप एशिया छनोटमा ओमानसँग पाँच रनले पराजित भएको छ।

कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरूले करणबाट त्यो जादुको आशा गरेका थिए। तर विलाल खानको बलमा ब्याट घुमाएका करणको शक्ति पुगेन र उनी लङ अनमा क्याचआउट हुन पुगे।

हारको अर्थ नेपाल समूह 'ए'को उपविजेतामा खुम्चिनुपर्‍यो भने अब टोलीले सेमिफाइनलमा यूएईलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ।

सेमिफाइनल शुक्रवार हुनेछ।

नाटकीय अन्तिम ओभर

नेपाललाई जितका लागि अन्तिम छ बलमा २६ रन आवश्यक परेपछि यो ओभर निकै नाटकीय बन्न पुग्यो।

नेपालले प्रत्येक बललाई बाउन्ड्रीबाहिर पठाउनुपर्ने थियो र क्रिजमा थिए विवेक यादव।

विवेकले पहिलो बलमा छक्का प्रहार गरे।

अर्को बल वाइड भयो।

उनले दोस्रो बलमा पनि छक्का हाने।

तेस्रो बलमा पनि छक्का प्रहार गरेपछि खेलको माहोल एकाएक रोमाञ्चित बन्न पुगेको थियो।

अन्तिम बलमा छक्का प्रहार गर्न नसकेपछि निराश करण केसी
तस्बिरको क्याप्शन, करण केसी अन्तिम बलमा छक्का प्रहार गर्नबाट चुके

तीन बलमा एक वाइडसहित १९ रन बनेपछि अब बाँकी तीन बलमा सात रन चाहिने भयो।

तर चौथो बलमा छक्का हान्ने धुनमा विवेक 'टप एज' लागेर क्याच आउट हुन पुगे।

अब दुई बलमा सात रन बनाउनुपर्ने भयो।

क्रिजमा आएका अविनाश बोहोराले पाँचौ बलमा एक रन जोड्दै क्रीज करण केसीलाई दिए।

अब अन्तिम बलमा जितको लागि करणले छक्का प्रहार गर्नुपर्ने भयो, जहाँ उनी चुक्न पुगे।

सङ्घर्षपूर्ण ब्याटिङ

टस हारेर ब्याटिङ गरेको ओमानले दिएको १४६ रनको लक्ष्य नेपालको लागि कीर्तिपुर मैदानमा ठूलो मानिएको थिएन।

पछिल्लो वर्ष नेपालको ब्याटिङ निकै लयमा थियो। तर बिहीवार धेरै समयपछि नेपालले ब्याटिङमा नमज्जाले सङ्घर्ष गरेको देखियो।

ओमानको आक्रामक बलिङसामु नेपाली खेलाडीहरू टिक्न सकेनन् र नेपालले लगातार विकेट गुमाउन पुग्यो। कुनै पनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्।

आशिफ शेख तेस्रो ओभरको पहिलो बलमा बिलाल खानको बलमा कट एन्ड बोल्ड भएपछि नेपालको विकेट पतन सुरु भएको थियो।

तीन नम्बरमा पठाइएका सोमपाल कामी पाँचौ ओभरमा १२ रन बनाएर आउट भए।

त्यसपछि २६ रन बनाएर खेलिरहेका ओपनर कुशल भुर्तेल छैटौँ ओभरमा मेहरन खानबाट बोल्ड भएपछि नेपाल समस्यामा पर्न थाल्यो।

कप्तान रोहित पौडेल ८.१ ओभरमा बोल्ड भएपछि नेपाल ५४-४ को खराब स्थितिमा पुगेको थियो।

आक्रामक कुशल मल्ल नेपालको आशाको रूपमा क्रिजमा थिए। तर उनी पनि ११.१ ओभरमा छक्का हान्ने धुनमा क्याच आउट हुन पुगे।

घाइते दीपेन्द्र सिंह ऐरीको अभाव खट्कियो।

विवेक यादव आउट भएपछि ओमानको खुशी
तस्बिरको क्याप्शन, विवेक यादव आउट भएपछि ओमानका खेलाडी खुसी भए

त्यसपछि गुलशन झा (३ रन) , सन्दीप जोरा (१२ रन), सन्दीप लामिछाने(२ रन) आउट भए।

सन्दीप लामिछाने आठौँ खेलाडीका रूपमा आउट हुँदा खेल ८५/८ को स्थितिमा थियो र जित नेपालबाट टाढा गइसकेको देखिएको थियो।

तर विवेक यादव र करण केसीले खेललाई झन्डैझन्डै जितसम्म डोहोर्‍याएका थिए।

नवौँ विकेटका लागि यो जोडीले ५४ रनको साझेदारी गरे।

विवेकले आउट हुनुअगाडि २४ बलमा ३९ रन जोडे। करणले १५ रन बनाए।

दीपेन्द्र सिंह ऐरी घाइते भएपछि मौका पाएका विवेकले अन्तिम ओभरमा आफ्नो क्षमता देखाउने मौका पाए।

नेपालको बलिङ

नेपाल ओमान क्रिकेट
तस्बिरको क्याप्शन, बलिङमा राम्रो गरेपनि नेपाल ब्याटिङमा कमजोर रह्यो

टस जितेर फिल्डिङ रोजेको नेपालले पावरप्लेको भरपुर फाइदा उठायो।

करण केसीले पहिलो ओभरको पाँचौ बलमा ओपनर कश्यप प्रजापतिलाई आउट गरेर विकेट लिने क्रम सुरु गरेका थिए।

कश्यप करणको तेज गतिको बलमा एज लाग्दा विकेटकिपर आशिफ शेखबाट समातिएका थिए।

त्यसपछि सोमपाल कामीले आफ्नो जादु देखाए।

उनले चौथो ओभरको पहिलो बलमा खतरनाक ब्याटर अकिब इलियासलाई बोल्ड गरिदिएका थिए।

तर सोही ओभरमा ओमानका प्रतीक अथाभालेले दुई पटक जीवनदान पाए।

तेस्रो बलमा प्रतीकले गरेको प्रहार मिड अनमा कप्तान रोहित पौडेलको हातमा पुगेर फुत्किन पुग्यो। त्यो मुस्किलको क्याच अवसर थियो।

ओभरको अन्तिम बलमा प्रतीक फेरि जोगिए। यति बेला लङ अनमा प्रतीश जिसीले उनको सजिलो क्याच फुत्काउन पुगेका थिए।

पाँचौ ओभरमा भने गुलशन झाको बलमा रोहितले प्रतीकको क्याच छोडेनन्।

त्यसपछि कप्तान जिशन मकसुदले ओमानको इनिङ्स उकास्दै तीन छक्का प्रहार गरेर ३२ रन बनाए।

चौधौँ ओभरको पहिलो दुई बलमा सन्दीप लामिछानेले आयान खान र मेहरन खानको विकेट लिँदै नेपाललाई खेलमा फर्काएका थिए।

यद्यपि नसिम खुशी (२५ रन) र सकिल अहमद (२२ रन)ले रन जोड्दै ओमानको स्कोरबोर्डमा रन थपिदिए।

करणले सकिल र कलिमुल्लाहको विकेट लिएर कुल तीन विकेट लिए। सोमपाल र सन्दीपले २/२ विकेट लिए।

नेपालविरुद्ध यूएई

कुशल मल्ल

तस्बिर स्रोत, BBC Sport

तस्बिरको क्याप्शन, कुशल मल्ल आउट भएपछि स्तब्ध देखिए

हारसँगै नेपालले अब सेमिफाइनलमा यूएईलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ।

समुह 'बी' को आजै भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको छ। अर्को सेमिफाइनलमा ओमानले हङकङ वा बहराइनसँग खेल्नेछ।

भर्खरै नेपालमा खेलिएको टी-२० शृङ्खलामा नेपालले लिगका दुई खेलमा यूएईलाई पराजित गरेको थियो भने फाइनल प्रतिस्पर्धा भने गुमाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।