सन्दीप लामिछानेको मुद्दा अन्तिम चरणमा, अब कति दिनमा टुङ्गिएला?

काठमाण्डू जिल्ला अदालत

तस्बिर स्रोत, FB/KATHMANDU DISTRICT COURT

काठमाण्डू जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बहस नोट मगाउन आदेश दिएको छ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एक महिनाभित्र बहस नोट पेस गर्न जाहेरवाला, बादी र प्रतिवादीका नाममा आदेश दिएको जिल्ला अदालतका रजिस्ट्रार रामु शर्माले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

“मङ्सिर २२ गतेसम्ममा बहस मिसिल पेस गर्न र २४ गते सुनुवाइको लागि पेसी तोक्न आदेश भएको छ,” उनले भने।

बहस नोट मगाउने निर्णयसँगै लामिछानेविरुद्धको मुद्दाको फैसला आउन थप समय लाग्ने कानुन व्यवसायीहरूले बताएका छन्।

रजिस्ट्रार शर्माका अनुसार बहस नोट कानुन व्यवसायीहरूले इजलासमा बहसका क्रममा पेस गरेका तर्कहरूको विस्तृत विवरण हो।

"आफूले दिएका तर्कहरूलाई सहयोग गर्ने आधारहरू विस्तृत रूपमा पेस गरेका हुन्छन्। इजलासमा बहस हुँदा न्यायाशीले सुनेर कति टिप्न भ्याउनुहुन्छ कति भ्याउनुहुन्न तर बहस नोटमा विस्तृत भएकाले सुन्न नभ्याएको कुरा पनि पढ्न पाउनुहुन्छ,” उनले भने।

बहस नोट प्राप्त भएपछि अदालतले यो मुद्दामा अन्तिम फैसला गर्ने ठानिएको छ।

तर २४ गते अहिलेकै न्यायाधीशले हेर्छन् वा अन्य न्यायाधीशकोमा इजलासमा पर्छ भन्ने निश्चित छैन।

“गोलाप्रथाबाट हुने हुनाले जुनसुकै न्यायाधीशको इजलासमा पनि पर्न सक्छ। सबै न्यायाधीश उपस्थित नभएको अवस्थामा गोलामा स्थगितमा पर्‍यो भने भन्न सकिन्न नभए सुनुवाइ त हुन्छ,” उनले भने।

लामिछाने विरुद्धको मुद्दा के हो?

सन्दिप लामिछाने

लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा १७ वर्षकी किशोरीले उजुरी दिएकी थिइन्।

नेपालमा उजुरी दर्ता हुँदा लामिछाने क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए। केही समयपछि मात्रै नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ गरेका थिए।

जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि केही समय नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।

तर लामिछाने धरौटीमा रिहा भएपछि क्यानले उनलाई राष्ट्रिय टोलीमा फर्कायो र अहिले उनले राष्ट्रिय टोलीबाट खेल खेलिरहेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो।

सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई सशर्त विदेश जान दिने अनुमति दिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।