स्टार ड्यून : वैज्ञानिकले पृथ्वीकै ठूला बालुवाका ढिस्कोका रहस्य पत्ता लगाए

    • Author, जोर्जिना रेनार्ड
    • Role, विज्ञान संवाददाता

पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ।

विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ। बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन्।

यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मङ्गल ग्रहसम्म भेटिएका छन् तर विज्ञहरूले अहिलेसम्म ती ढिस्काहरू कहिले बनेका थिए भनेर पत्ता लगाउन सकेका थिएनन्।

अहिले भने वैज्ञानिकहरूले मोरोक्कोमा रहेको लाला लालिया नामको बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको पत्ता लगाएका छन्।

स्टार ड्यून्स विपरीत तर्फबाट आएको हावाका कारण बन्ने गर्छन्। बालुवाको ढिस्कोको उमेरले वैज्ञानिकलाई ती हावाबारे बुझ्न मद्दत गर्छ जसले त्यो समयको जलवायुबारे बुझ्न सहयोग गर्ने युनिभर्सिटी अफ अबरिस्टविथका प्राध्यापक जियोफ ड्यूलरले भने। उनले बर्कबेक युनिभर्सिटीस्थित प्राध्यापक चार्ल्स ब्रिस्टोसँग मिलेर आफ्नो अनुसन्धान प्रकाशित गरेका छन्।

लाला लालिया (रैथाने अमेजिया नाम जसको अर्थ पवित्र उच्च विन्दु हुन्छ) दक्षिण-पूर्वी मोरोक्कोस्थित एर्ग चेबी स्यान्ड सीमा अवस्थित छ। यो एक सय मिटर अग्लो र ७०० मिटर चौडा फैलिएको छ।

सुरुमा बनेपछि यो करिब ८००० वर्षसम्म वृद्धि हुन छोडेको थियो। त्यसपछिका पछिल्ला केही हजार वर्षहरूमा भने तीव्र रूपमा यसको आकार वृद्धि भएको छ।

सामान्यतः मरुभूमिहरूको पहिचान पृथ्वीको भौगर्भिक इतिहासमा गर्न सकिन्छ। हुन्छ तर अहिलेसम्म स्टार ड्यून्सबारे जानकारी भने पाइन्नथ्यो।

प्रोफेशर ड्यूलर भन्छन्, शायद यी ढिस्काहरू निकै ठूला हुने भएकाले विज्ञहरूले एउटा विशेष खालको ढिस्कोबारे अवलोकन गरिरहेका छन् भन्ने महसुस नै गरेका थिएनन्।

"यी अध्ययन परिणामले सम्भवतः धेरै मानिसलाई चकित पार्न सक्छ किनभने यी ढिस्काहरू कति छिट्टै बने भन्ने कुरा हामी देख्न सक्छौँ। यो मरुभूमिभरि प्रतिवर्ष करिब ५० सेन्टिमिटरले बढिहेको छ," उनले थपे।

वैज्ञानिकहरूले स्टार ड्यूनको उमेर पत्ता लगाउन लुमनेसेन्स प्रविधिको प्रयोग गरेका थिए।

यो विधिले बालुवाको कणमा पछिल्लो पटक कहिले दिनको उज्यालो परेको थियो भन्ने गणना गर्छ।

मोरोक्कोबाट अँध्यारोमा लिइएका बालुवाको नमुनाहरूलाई लिएर प्रयोगशालामा पुरानो शैलीको फोटोग्राफी कार्यशालामा जस्तै धमिलो रातो प्रकाशमा त्यसको विश्लेषण गरिएको थियो।

प्राध्यापक ड्यूलरले बालुवाको कणमा भएका खनिज तत्वहरूलाई "साना रिचार्ज गर्न मिल्ने ब्याट्रीजस्तै" भनेर व्याख्या गर्छन्।

त्यस्ता तत्वहरूले प्राकृतिक वातावरणमा भएको रेडियोएक्टिभिटीबाट आएको ऊर्जालाई बालुवाको कणमा सञ्चित गर्छन्।

बालुवा जति धेरै जमिनमुनि रहन्छ त्यति नै धेरै रेडियोएक्टिभिटी देखा पर्छ र धेरै ऊर्जा उसले विकसित गर्छ।

जब कणहरू प्रयोगशालामा लगियो ती कणहरूले ऊर्जा निष्कासन गरे र त्यसबाट वैज्ञानिकहरूले त्यसको उमेर गणना गर्न सके।

"हाम्रा अँध्यारा प्रयोगशालामा प्रयोग गर्दा ती बालुवाका कणबाट प्रकाशका रूपमा ऊर्जा निष्कासन गरे र त्यसकै आधारमा वैज्ञानिकहरूले उमेर गणना गर्न सके," प्राध्यापक ड्यूलरले भने।

"जति बढी उज्यालो हुन्थ्यो त्यति नै बढी ती बालुवाका कणको उमेर हुन्थ्यो र त्यति बढी ती कणहरू पुरिएको अवस्थामा थिए भन्ने थाहा हुन्थ्यो।"

बालुवाका यी ठूला ढिस्काहरूमध्ये उत्तर अमेरिकाको कोलोराडोस्थित ढिस्को एक हो जसको फेददेखिको उचाइ २२५ मिटर मापन गरिएको छ।

यी ढिस्काहरू चढ्ने काम निकै कठिन हुने प्राध्यापक ड्यूलर बताउँछन्।

"ढिस्को चढ्दा दुई कदम उकालो चढ्दा एक कदम पछाडि चिप्लिइन्छ। तर तपाईँलाई थकथकी हुँदैन किनभने सबभन्दा माथि टुप्पोबाट देखिने दृश्य निकै मोहक हुन्छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।