ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्देशन 'तत्काल कार्यान्वयन नगर्न' आदेश

तस्बिर स्रोत, Metropolitan Traffic Police Division
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन दिएको निर्देशन "तत्कालका लागि कार्यन्वयन नगर्न" सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
आइतवार सर्वोच्च अदालतका न्यायाधीश तिलकप्रसाद श्रेष्ठले गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएका हुन्।
गत साता गृहमन्त्री लामिछानेले गत मङ्गलवार गणतन्त्र दिवसका अवसरमा त्यस्तो निर्देशन दिएको सामाजिक सञ्जालमार्फत जनाएका थिए।
उनको निर्देशनलगत्तै ट्राफिक प्रहरीले त्यसलाई कार्यान्वयन गर्दै ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउन थालेको थियो।
तोकिएको जरिवाना पनि तिर्नुपर्ने र स्वयंसेवकको रूपमा पनि काम गर्नुपर्ने अवस्थाले नागरिकलाई "दोहोरो सजाय" भएको भन्दै सामाजिक सञ्जालमा त्यसप्रति असन्तुष्टि पनि व्यक्त भएका थिए।
लामिछानेले के भनेका थिए?

तस्बिर स्रोत, MOHA
गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमार्फत लामिछानेले उक्त निर्देशनबारे जानकारी दिएका थिए।
उनले लेखेका थिए, "गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन।"
"मापसे लगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनु हुनेछ।"
उनको उक्त निर्णयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा टिप्पणीहरू भएका थिए।
लामिछानेको कदमको कसैले स्वागत गरेका थिए भने कसैले "त्यो संविधान र कानुन विपरीत भएको" जनाएका थिए।
सर्वोच्च अदालतले के भन्यो?

तस्बिर स्रोत, Getty Images
लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कृष्ण विकसहितका व्यक्तिहरूले एउटा रिट निवेदन दिएका थिए।
त्यसमा अन्तरिम आदेशसमेत माग गरिएकोमा आइतवार अदालतले उक्त निर्देशन कार्यान्वयन नगराउनु भन्ने अन्तरिम आदेश दिएको हो।
रिट निवेदनमाथि भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाउ आदेश समेत जारी भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
उनले भने, "रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि गृहमन्त्रीज्यूको निर्देशनलाई तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








