नेपालका सडक दुर्घटना नियमित हुनुका कारणमा कमसल पार्टपुर्जा र मोबाइल पनि

दुर्घटना

तस्बिर स्रोत, RSS

    • Author, माधव नेपाल
    • Role, बीबीसी न्यूज नेपाली

मध्यपहाडी राजमार्गहरूमा बढ्दै गएको सवारी दुर्घटनाका लागि मानवीय त्रुटिसँगै प्राविधिक कारण पनि दोषी रहेको विज्ञहरूले बताएका छन्।

विज्ञहरूका अनुसार सडकको डिजाइन र सडकले थेग्न नसक्ने किसिमका सवारीसाधनको सञ्चालनले पनि दुर्घटना बढ्दै गएको हो।

गत मंसिर ११ गते १९ जनाको ज्यान गएको अर्घाखाँचीको नरपानीको बस दुर्घटनाको छानबिन गर्न बनेको समितिले तीव्र गतिका कारण बस पल्टिएको उल्लेख गरेको छ।

तर प्रत्यक्षदर्शी प्रहरी चौकी नरपानीका सूर्यप्रसाद पन्थी दुर्घटनाको कारण यान्त्रिक रहेकोतर्फ सङ्केत गर्छन।

सडक सुरक्षा

पन्थी भन्छन्, "चालकले घुम्ती भन्ने ठाउँमा बस रोकेर त्यसको टाइरड जाँच गरेका रहेछन।"

"बस यहाँसम्म त आयो तर मोड्न पर्ने ठाउँमा टाइरडले राम्रो काम नगर्दा बस नमोडिएको जस्तो देखियो।"

टाइरड सवारीसाधनको चक्का मोड्ने डन्डी हो।

"नक्कली पार्टपुर्जा"

यान्त्रिक गडबडीले पनि पछिल्लो समय धेरै दुर्घटना भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलको अनुभव छ।

उनका अनुसार अधिकरूपमा सवारीसाधनमा नक्कली पार्टपुर्जा बजारमा आइरहेका छन्।

उनी भन्छन्, "भारतबाट सस्तो पाइने भएकाले नक्कली पाटपुर्जा ल्याइन्छ अनि त्यसलाई साधारण मिस्त्रीले कस्छन्। त्यस्ता पार्टपुर्जाले कसरी काम गर्छ?"

उनले चालकले मोबाइल प्रयोग गर्दा पनि दुर्घटनाको जोखिम बढिरहेको बताए।

सडक

तस्बिर स्रोत, RSS

यसै साता सिन्धुपाल्चोकमा भएको दुर्घटनाको कारण पनि बसको प्राविधिक समस्यासँग जोडिएको हुनसक्ने विज्ञहरू बताउँछन्।

Presentational grey line

तथ्याङ्कमा सडक सुरक्षा

  • बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या: साढे १३ लाख
  • विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
  • दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्या: ३,७००
  • अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
  • न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
  • सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
  • नेपालमा प्रति एक लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
  • सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति

समस्याग्रस्त सडक

सडक विभागका वरिष्‍ठ ईन्जिनियर शिव नेपाल यान्त्रिक तथा मानवीय कारण बाहेक सडकको समस्याले पनि बस दुर्घटना हुँदै आएको बताउँछन्।

उनी भन्छन्, "सर्भे नै नगरी बाटो बनिरहेका छन् अनि बाटो बन्ने वित्तिकै त्यसको क्षमता नजाँची गाडी कुदाउन सुरु हुन्छ।"

"अगाडि बाटो खन्ने डोजर हुन्छ, अनि पछाडि यात्रुवाहक बस। यस्तो अवस्थामा त दुर्घटना भइहाल्छ नी।"

सडक विभागले अब बन्ने सबै सडक कम्तीमा साढे सात मिटर चौडा बनाउनुपर्ने मापदण्ड लागु गरेको छ।

तर बनिसकेका प्राय: सडक भने साँघुरा अर्थात सवा चार मिटरका मात्र रहेको बताइन्छ।