नेपालमा सडक सुरक्षा '४५ वर्षअघिको युरोपमा जस्तै', सुधारका लागि सघाउन राष्ट्रसङ्घ इच्छुक

सडक

तस्बिर स्रोत, World Bank Nepal

सडक सुरक्षासम्बन्धी राष्ट्रसङ्घका विशेष दूत जाँ टोडले बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि नेपाल सरकारसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।

गत साता नेपालको भ्रमणमा आएका उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा अन्य उच्च अधिकारी, यातायात व्यवसायी तथा नागरिक समाजसँग भेटवार्ता गरेका थिए।

सडक सुरक्षाको विषय सरकारको उच्च प्राथमिकतामा हुने उल्लेख गर्दै उनले नेपालमा सार्वजनिक यातायत क्षेत्रमा रहेको भनिएको सिन्डिकेटको समस्याबारे आफू जानकार रहेको उनले बताए।

सिन्डिकेटको समस्या हल गर्ने जिम्मेवारी नेपाल सरकारकै भएको उनको भनाइ छ। नेपालजस्तो विकासोन्मुख देशमा भ्रष्टाचार र सवारी दुर्घटनाको उल्लेख्य सम्बन्ध रहने गरेको उनको भनाइ छ।

उनले ट्राफिकसम्बन्धी आधारभूत नियम र कानुनको पालना गर्दा मात्रै पनि सवारी दुर्घटनामा हताहत हुनेहरूको सङ्ख्या आधा घटाउन सकिने उल्लेख गरे।

बाङ्ग्लादेशको भ्रमण सकी नेपाल आएका अन्तर्राष्ट्रिय अटोमोबिल फेडेरेशनका अध्यक्ष समेत रहेका टोडसँग बीबीसी नेपालीका लागि फणीन्द्र दाहालले कुराकानी गरेका थिए।

उक्त कुराकानीको सम्पादित अंश

विश्वमा हुने सडक दुर्घटनामध्ये करिब २७ प्रतिशत दक्षिण एशियामा हुने गरेको बताइन्छ। नेपाल र बाङ्ग्लादेशको भ्रमणपछि तपाईँलाई यी दुर्घटना किन भइरहेका छन् जस्तो लाग्छ?

हामीलाई थाहा छ दुर्भाग्यवश विश्वको यो भागमा अवस्था राम्रो छैन। संसारभरि प्रत्येक वर्ष १३ लाख मानिसले सडकमा ज्यान गुमाउँछन्।

तीन करोडदेखि पाँच करोड मानिस घाइते हुन्छन्। चौधदेखि २९ वर्षका मानिसले ज्यान गुमाउने वा अङ्गभङ्ग हुने प्रमुख कारण सडक दुर्घटना हो। र, हामीसँग त्यसलाई नियन्त्रण गर्ने उपाय पनि छन्।

त्यो भनेको शिक्षा, कानुनको पालना, सवारीसाधन अनि सडक पूर्वाधार र दुर्घटनापछिको सावधानी नै हो। यो क्षेत्रमा मानिसहरू पर्याप्त साक्षर छैनन्। कानुनको पालना पनि पर्याप्त रूपमा भएको छैन।

सवारीको गतिलाई पालना गर्ने, मोटरसाइकलका चालकले मात्रै नभई पछाडि बस्ने (कतिपय अवस्थामा बालबालिका पनि हुन सक्छन्) ले हेल्मेट लगाउने अनि सीटबेल्ट बाँध्ने जस्ता साधारण कुराले धेरै हदसम्म यो नियन्त्रण गर्न सकिन्छ।

यो एउटा ठूलो समस्या थियो। अहिले चालकले सीटबेल्ट बाँध्छन् तर यात्रुले किन नबाँध्ने?

मदिरा पिएर सवारी नचलाउँदा अनि गाडी चलाउँदा मोबाइलमा सन्देश लेख्ने काम नगर्दा त्यसले सडक दुर्घटना नियन्त्रणमा ठूलो परिवर्तन ल्याउन सक्छ।

सडक सुरक्षा

तस्बिर स्रोत, World Bank Nepal

नेपालमा पनि बर्सेनि सडक दुर्घटना र त्यसमा हताहत हुनेको सङ्ख्या बढिरहेको छ। तर यसमा कोही पनि संवेदनशील भएको जस्तो देखिँदैन। किन होला?

मलाई लाग्छ पर्याप्त कदमहरू चालिएकै छैन। यसपालि सरकारसँग कुरा गर्दा हामी उत्साहित भएका छौँ। किनभने उनीहरू साँच्चिकै केही गर्न चाहन्छन्।

अहिलेको अवस्था दिगो खालको छैन भन्ने कुरा उनीहरूले बुझेका छन्। उनीहरूले अहिले विश्व ब्याङ्क, एशियाली विकास ब्याङ्क र राष्ट्रसङ्घीय निकायहरूसँग सहयोग र सुझावको अपेक्षा गर्दै कुराकानी गरिरहेका छन्।

हामी पनि सरकारसँग सहकार्य गर्न इच्छुक छौँ। तर यो सरकारको मात्रै विषय होइन। यो सामाजिक र व्यक्तिगत जिम्मेवारी पनि हो।

तपाईँले नेपालका यातायातमन्त्रीसँग कुरा गर्नुभयो। के सडक सुरक्षा उनको पहिलो प्राथमिकता हो भन्ने तपाईँलाई लाग्यो?

मलाई त्यस्तो लाग्छ। उनीहरू प्रतिबद्ध छन्। उनीहरूले सडक दुर्घटनाका पीडित, परिवार र समाजका लागि नै बोझ भएको महसुस गरे जस्तो लाग्छ। यसले गराउने क्षतिको स्तर अझै ठूलो छ। नेपालजस्तो देशमा सडक दुर्घटनाले कुल गार्हस्थ्य उत्पादनको दुईदेखि पाँच प्रतिशतसम्म हानि पुर्‍याउँछ।

तर सरकारले 'यसो गर्छौँ उसो गर्छौँ' त भनिराख्छ। ठोस कदम नचालेरै दुर्घटना बढिरहेको धेरैले भन्ने गरेका छन्। उनले त्यस्तो के भने जसले उनी कदम चाल्न गम्भीर छन् भन्ने तपाईँले महसुस गर्नुभयो?

मलाई यो विषयमा काम भइरहेको छ भन्ने लाग्छ। यहाँ सडक सुरक्षाका लागि एउटा समिति नै रहेछ। त्यसले सक्रिय रूपमा काम गरिरहेको मलाई जानकारी दिइएको छ।

यो सरकारको मात्रै दायित्व होइन। नागरिक समाज, सडक प्रयोगकर्ता र सञ्चारमाध्यम सबैले उत्तरदायित्व वहन गर्नुपर्छ।

सडक प्रयोगकर्तालाई राम्रो शिक्षा उपलब्ध नगराइँदा त्यसले उत्पन्न गराउन सक्ने खतराबारे जनचेतना जगाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जाम हटाउन विनाबर्दीका ट्राफिक प्रहरी

नेपालमा चाहिँ भएका नियम राम्ररी पालना नगरिएका अनि लापरवाहीजस्ता कारणले बढी दुर्घटना भएका कुरा आउँछन्। सडक सुरक्षासँग जोडिएका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिएको सुनिश्चित गर्न के गर्नुपर्ला?

अहिले नेपालको अवस्था ४५ वर्षअघि युरोपेली देशमा रहेको जस्तै छ। त्यो बेलाको अवस्था टिकाउ हुँदैन भन्दै केही कदम चाल्नुपर्ने निधो ती देशहरूले गरे।

नाटकीय रूपमा देशको आवश्यकतानुसार नियमहरू ल्याइयो। त्यहाँ कानुन पालना गर्ने अवधारणा र संस्कृति राम्रो छ।

त्यही भएर दुर्घटनाको आँकडा पाँच गुणाले घट्यो। नेपालजस्तो देशमा हामी त्यस्तै अपेक्षा गर्न सक्छौँ।

सडक सुरक्षा

तस्बिर स्रोत, World Bank Nepal

नेपालमा सार्वजनिक यातायतको क्षेत्रमा सिन्डिकेट रहेको तपाईँलाई जानकारी छ?

हो, हामी यसबारे जानकार छौँ।

यस्ता संरचनाकै कारण सडक सुरक्षा सुनिश्चित गर्ने कदमहरू चाल्न नसकिएको जस्तो देखिन्छ। यसमा तपाईँ के भन्नुहुन्छ?

यदि मलाई थाहा छ भने सरकारलाई पनि पक्कै थाहा छ। मलाई आशा छ यसलाई कसरी सम्बोधन गर्ने भन्ने उनीहरूलाई जानकारी छ।

दुई दिनको भ्रमण गरेर म वा मेरा सहकर्मीले 'यस्तो गर्‍यो भने यो ठ्याक्कै समाधान हुन्छ' भन्न सक्दैनौँ। तर मलाई लाग्छ यो भविष्यमा सम्बोधन गर्नैपर्ने विषय भएकोमा म आशावादी छु।

Presentational grey line

तथ्याङ्कमा सडक सुरक्षा

  • बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या: साढे १३ लाख
  • विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
  • दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्या: ३७००
  • अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
  • न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
  • सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
  • नेपालमा प्रति १ लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
  • सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति
सडक

तस्बिर स्रोत, RSS

Presentational grey line

नेपाल र बाङ्ग्लादेशको भ्रमणपछि तपाईँले सडक सुरक्षा र भ्रष्टाचारको सम्बन्ध कस्तो पाउनुभयो?

बाङ्ग्लादेशको जनसङ्ख्या १६ करोड ५० लाख छ र हाम्रो आँकडाअनुसार बर्सेनि सडक दुर्घटनामा २५,००० जनाले ज्यान गुमाइरहेका छन्। नेपालको जनसङ्ख्या तीन करोड हाराहारी छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले ४,५०० जनाले बर्सेनि ज्यान गुमाइरहेको देखाउँछ। नेपाल सरकारले २,५०० जनाले ज्यान गुमाइरहेको बताउने गरेको छ।

हामीलाई थाहा छ विकासोन्मुख देशहरूमा दुर्भाग्यवश भ्रष्टाचार प्रमुख विषय हो। तर विकसित देशमा पनि भ्रष्टाचार प्रमुख विषय थियो, कहिले र कसले कसरी यसलाई नियन्त्रण गर्ने भन्ने कुरा सोचमा आएर जोडिन्छ।

मैलै तपाईँलाई सोध्न खोजेको सडक सुरक्षाको बाधक भ्रष्टाचार हो?

म तपाईँलाई प्रतिप्रश्न गर्न चाहन्छु - कानुन पालना गरेको सुनिश्चित गर्न के गर्नुपर्छ? जब तपाईँले त्यसको उत्तर दिनुहुन्छ तपाईँले थाहा पाउनुहुन्छ कि तपाईँलाई के चाहिन्छ अनि के चाहिँदैन।

नेपालको पहाडी क्षेत्रमा खासै राम्रा बाटोघाटो छैनन्। धेरै पुराना गाडी गुड्छन् र त्यही क्षेत्रमा धेरै मानिसहरूले ज्यान गुमाउँछन्। यसबारेमा चाहिँ तपाईँको धारणा के छ?

मैले यो प्रश्नको उत्तर दिइसकेँ। यदि तपाईँले ग्रामीण क्षेत्रमा ट्राफिक नियम पालना गर्नुभयो भने पीडितहरूको सङ्ख्या आधाले घट्नेछ।

तपाईँले कार्यक्रमहरू बनाउँदा प्रत्येक दिन ती नियमहरू पालना गर्नुपर्छ। त्यसको नियमित अनुगमन गर्नुभयो भने मलाई विश्वास गर्नुहोस् तपाईँहरूले गजब परिणाम पाउनुहुन्छ।

नेपालमा जबाफदेही धेरै कमजोर छ भन्ने गरिन्छ। वाचा त गरिन्छ तर जबाफदेही कसरी सुनिश्चित गर्ने?

मैले अघि पनि भनिसकेँ कि यो सबैभन्दा प्राथमिकताको विषय बन्नुपर्छ।

बिहान उठ्नेबित्तिकै सडकलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सोच्नुहोस्। प्रयोगकर्तालाई कसरी सडक सुरक्षाबारे जानकार बनाउन सकिन्छ भनेर।

राति सुत्ने बेलामा तपाईँले राम्ररी काम गर्नुभयो कि भएन भनेर सोच्नुहोस्। अनि अर्को दिन म राम्रो काम गर्छु भनेर सोच्नुपर्‍यो।

अडिओ क्याप्शन सुरु हुँदैछ, नेपालको सडक सुरक्षामा राष्ट्रसङ्घको चासो