कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

नागरिकता दुरुपयोग गरेको उजुरी परेपछि कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईको नेतृत्वमा पुगेको टोलीले काठमाण्डूको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रूपको मुख्यालयबाट सिरोहियालाई मङ्गलवार साँझ पक्राउ गरेको हो।

प्रहरीले सिरोहियालाई उनकै कार्यकक्षबाट पक्राउ गरी लग्दै गरेको दृश्य कान्तिपुर टेलिभियजनको प्रत्यक्ष प्रसारणमा देखिएको थियो।

उनलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जेठ ८ गते अनुमति दिएको थियो।

सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो।

सो उजुरीमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ।

त्यसको पृष्ठभूमिमा सिरोहियाले आफूविरुद्ध धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा त्यसलाई रोकिपाऊँ भन्दै रिट निवेदन दायर गरेका थिए।

त्यसमा सुनुवाइ गर्ने क्रममा सर्वोच्च अदालतले गृह मन्त्रालय र नेपाल प्रहरीसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्नाका कारण माग गरेको थियो।

पक्राउपुर्जी जारी भएपछि सिरोहियाले एउटा विज्ञप्ति जारी गर्दै "कानुन अनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न जिम्मेवार नागरिकका हकमा तयार" रहेको जनाएका छन्।

तर "राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट" आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रूप विचलित नहुने उनको भनाइ छ।

मङ्गलवार प्रतिनिधिसभामा बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सिरोहियाविरुद्ध जारी भएको पक्राउपुर्जीबारे बोलेका थिए।

“कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउन मिल्छ। तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन।”

सिरोहियाको भनाइ के छ?

सिरोहियाले मङ्गलवार कान्तिपुर मिडिया ग्रूपको अध्यक्षको नाममा जारी गरेको विज्ञप्तिमा "समाचार लेखेको भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग" दाबी गरेका छन्।

पछिल्लो समय कान्तिपुर दैनिकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको भन्दै सहकारी ठगीसम्बन्धी विषयमा शृङ्खलाबद्ध समाचार छाप्दै आएको छ।

आफ्नो विज्ञप्तिमा सिरोहियाले लामिछानेको नाम भने उल्लेख गरेका छैनन्।

तर उनले लेखेका छन्, “सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको भनाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो।”

उजुरी दायर भएपछि यसअघि वैशाख १७ मा सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै सिरोहियाले आफूले २०३४ सालमा नागरिकता लिएको र त्यसको प्रतिलिपि २०५७ सालमा लिएको बताएका थिए।

“त्यसमा २०३३/३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ। नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन,” सिरोहियाले लेखेका छन्। “२०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन।”

सो विज्ञप्तिमा उनले राज्यलाई शङ्का लाग्दा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्ने र जिम्मेवार नागरिकका रूपमा आफूले त्यसको स्वागत गर्ने बताएका छन्।

“तर कान्तिपुरले प्रकाशित गर्दै आएको समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।