साफ महिला च्याम्पिअनशिपः नेपाललाई आज उपाधि जित्ने अवसर

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल र बाङ्ग्लादेशबीच साफ महिला च्याम्पिअनशिपको बहुप्रतीक्षित फाइनल खेल आज साँझ हुँदै छ।

झन्डै डेढ दशक लामो अन्तर्राष्ट्रिय फुटबलमा ११ पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेको पीडा बिर्सने सुवर्ण मौकाको एक पाइलानजिक नेपाली महिला टोली पुगेको छ।

नेपालको नयाँ तगारोको रूपमा रहेको बाङ्ग्लादेश पनि तम्तयार देखिन्छ।

साफ च्याम्पिअनशिपको सात संस्करणमध्ये छ पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पीडा नेपालसँग छ।

पहिलो तगारो भारत थियो। तर दुई वर्षअगाडि भारतलाई पन्छाएर फाइनलमा पुगेर पनि बाङ्ग्लादेशलाई उपाधि सुम्पिनु पर्दाको पीडा नेपाली टोलीले बिर्सन सकेको छैन।

यी तमाम निराशालाई बिर्सँदै नयाँ च्याम्पिअनको ताज पहिरिने विश्वास नेपाली टोलीले देखाएको छ।

कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भनिन्, “हाम्रो टिमलाई पूरा विश्वास छ यसपालि हामी उपाधि जित्नेछौँ।”

“नेपाली स्टाइलमा हामीले खेल जित्नेछौँ,” उनले अगाडि थपिन्।

नेपालविरुद्ध बाङ्ग्लादेश

दक्षिण एशियाली फुटबलमा जुन बेला नेपाल र भारतको दबदबा चलिरहेको थियो त्यति बेलासम्म बाङ्ग्लादेश भर्खर उदाइरहेको टोलीको रूपमा थियो।

तर दुई वर्षअगाडि जब नेपाल भारतको दबदबा तोड्न सफल भयो तब नयाँ प्रतिद्वन्द्वीको रूपमा बाङ्ग्लादेश देखियो र नेपाली भूमिमै जितेर गयो।

भारतलाई हराएपछि उपाधि अब नेपालकै हुने हो भन्ने अनुमानलाई बाङ्ग्लादेशले गलत साबित गरिदियो।

दुई वर्षको अन्तरालमा इतिहास हुबहु दोहोरिएको छ। अर्थात् बाङ्ग्लादेश र नेपाल दुवैले फेरि भारतलाई हराएका छन्। अनि दुवै टोली फाइनलमा पुगेका छन्।

बाङ्ग्लादेशले भारतलाई लिग चरणमा ३-१ ले हराएर प्रशस्त मनोबल बटुलिसकेको छ भने सेमिफाइनलमा भुटानमाथि ७-१ को आरामदायी जित निकालेर फाइनल पर्खी बसेको छ।

त्यसविपरीत नेपालले सेमिफाइनलको एउटा विवादास्पद र तनावपूर्ण खेलमा भारतलाई हराउन टाइब्रेकरको सहारा लिनुपर्‍यो।

यस अर्थमा बाङ्ग्लादेशले फाइनलअगाडि जुन आराम पाएको छ नेपालले त्यो अवसर पाएको छैन।

एकपछि अर्को फाइनल खेलेको दुई टोलीमा नेपाल छैटौँ फाइनल तथा बाङ्ग्लादेशले तेस्रो पटक फाइनल खेल्न लागेको हो।

इतिहास हेर्ने हो भने यी दुई टोलीबीच १२ पटक भेट भएको छ जसमा छवटा खेल नेपालले जितेको छ भने ५ खेल बराबरी भएको थियो।

बाङ्ग्लादेशले नेपाललाई एकै पटक पराजित गरेको छ। त्यही जितले टोली साफको च्याम्पिअन बनेको थियो।

बराबरको टोली

बाङ्ग्लादेश बलियो प्रतिद्वन्द्वी हो। टोलीका अधिकांश खेलाडी दुई वर्षअघि च्याम्पिअन हुँदाको टोलीका सदस्य हुन्। केही खेलाडी नयाँ पनि छन्।

बाङ्ग्लादेशका प्रशिक्षक पिटर वट्लर नेपाली टोलीको उच्च सम्मान गर्दै फाइनल खेल्ने बताउँछन्।

“नेपाल एउटा स्तरिय टोली हो। फाइनल रोमाञ्चक हुनेछ,” बीबीसीसँग उनले भने।

नेपाली टोलीमा तीन अनुभवी खेलाडी छैनन्।

चोटका कारण अनुभवी रक्षक हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले प्रतियोगिता गुमाइसकेका छन् भने स्ट्राइकर रेखा पौडेल सेमिफाइनलमा पाएको रातो कार्डका कारण फाइनलमा हुने छैनन्।

तर प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्, “कुनै खेलाडीको अनुपस्थितिले टिममा केही फरक पर्दैन। किनकि हामीसँग ११ जना खेलाडी तयार छन्।”

कस्तो बन्ला नेपाल ११

नेपालले बुधवार ४-२-३-१ को रणनीतिमा खेल्ने सम्भावना छ। गोलकिपर एन्जिला तुम्बाप्पोले कप्तानी सम्हाल्नेछिन्।

रक्षापङ्क्तिमा राइट ब्याकमा विमला बिके, गीता राना, अमृता जैसी र लेफ्ट ब्याकमा पूजा राना हुनेछिन्।

यस्तै मिडफिल्डको जिम्मा रेणुका नगरकोटे र प्रिती राई तथा अट्याकिङ मिडफिल्डरमा सरु लिम्ब हुनेछिन्।

त्यस्तै राइट विङ्समा सविता रानामगर र लेफ्ट विङ्समा अमिषा कार्की हुनेछिन्। सावित्रा भण्डारीले आक्रमणको एक्लो कमाण्ड सम्हाल्न सक्नेछिन्।

बाङ्ग्लादेशका खेलाडीहरू तेजिला छन्। तीनजना मिडफिल्ड मोनिका चक्मा, मारिया मन्डा र कप्तान सविना खातुनको त्रिकोणात्मक आक्रमण शैली सशक्त देखिएको छ।

त्यस्तै युवा स्ट्राइकर रितु पोर्नाचक्मा र सेन्टरमा ताउरा खातुन बलिया देखिएका छन्।

नेपाली विपक्षी पर्खाल तोड्न लिवरो मसुरा प्रविन, अफिदा अख्तर र लेफ्ट ब्याक सेउली आजमलाई पन्छाउनुपर्ने देखिन्छ।

बाङ्ग्लादेशका एकजना पत्रकार मिलोन बोडिउजमान भन्छन्,“नेपाली भूमि बाङ्ग्लादेशका लागि लकी छ।”

नेपालको ठूलो शक्ति दशरथ रङ्गशालामा उर्लिने दर्शकहरू हुनेछन्।

कप्तान एन्जिला भन्छिन्,“हामीले सेमिफाइनल जितेको दर्शकको शक्तिले हो। भारतसँग हामी १० जना खेलिरहेको कुनै पनि बेला अनुभव भएन।”

यसमा कुनै शङ्का छैन कि नेपालले फाइनलमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नेछ।

यसमा मुख्य भूमिका हुनेछ स्ट्राइकर सावित्रा भण्डारीको। उनले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्।

यसमा पनि शङ्का छैन कि उनलाई रोक्न बाङ्ग्लादेशले भरमग्दुर प्रयास गर्नेछ।