काबुलमा हवाई हमला हुँदा दर्जनौँ मानिसको मृत्यु, पाकिस्तानले गरेको आरोप

काबुलस्थित क्षतिग्रस्त पुनर्स्थापना केन्द्रको भग्नावशेषमा हिँड्दै एक व्यक्ति

तस्बिर स्रोत, Reuters

    • Author, यम बरिज
    • Role, बीबीसी अफगान, काबुल
    • Author, क्याथ्रिन आर्म्स्ट्रङ
  • पढ्ने समय: ५ मिनेट

अफगानिस्तानको राजधानी काबुलमा लागुपदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा हवाई आक्रमण हुँदा दर्जनौँ मानिस हताहत भएको तालिबान सरकारले जनाएको छ। अफगानी पक्षले उक्त हमला पाकिस्तानबाट भएको दाबी गरेको छ।

तालिबान सरकारका एक प्रवक्ताले एक्समा बताएअनुसार सोमवार साँझ काबुलस्थित उक्त केन्द्रमा घातक हमला भएको उल्लेख गरेका छन्।

पाकिस्तानले स्वास्थ्यसेवा प्रदान गर्ने कुनै पनि ठाउँमा आक्रमण नगरिएको भन्दै आफूले "सैन्यस्थल र आतङ्कवादलाई सहयोग पुर्‍याउने संरचनालाई मात्र निसाना बनाएको" दाबी गरेको छ।

बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन भने ३० वटाभन्दा बढी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको देखिएको थियो।

उक्त केन्द्रका अधिकारीहरूका अनुसार आक्रमणमा पर्नुअघि त्यहाँ झन्डै २,००० जनाको उपचार हुँदै थियो। उनीहरूले त्यहाँ सयौँ मानिस हताहत भएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

आगलागीमा परेको केन्द्रबाहिर एउटा दमकल

तस्बिर स्रोत, AFP via Getty Images

अफगान अधिकारी के भन्छन्

उक्त पुनर्स्थापना केन्द्रनजिकै कुनै पनि सैन्य संरचना नरहेको अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमर्खैलले बीबीसीलाई बताएका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार सोमवार राति ८ः५० बजेतिर काबुलमा ठूलो विस्फोटन भएको थियो अनि त्यसपछि विमान र हवाई प्रतिरक्षा प्रणालीको आवाज सुनिएको थियो।

उक्त केन्द्रमा उपचाररत मानिसहरूको अवस्थाबारे बुझ्न तिनका आफन्तहरू बाहिर भेला भएका थिए।

तालिबान सरकारका प्रवक्ताले कम्तीमा ४०० जनाको मृत्यु भएको दाबी गरेका छन्। तर बीबीसीले उक्त सङ्ख्या सही भए नभएको स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन।

पाकिस्तानको सूचना मन्त्रालयले आक्रमण "अनावश्यक क्षति नपुगोस् भनेर सुनिश्चित गर्न लक्ष्यभेदन हुने गरी सावधानीपूर्वक" गरिएको दाबी गरेको छ।

अफगानिस्तानको दाबीलाई पाकिस्तानले तथ्यको "गलत रिपोर्टिङ… भावना भड्काउने खालको र गैरकानुनी सीमापार आतङ्कवादप्रतिको समर्थन ढाकछोप" को सङ्ज्ञा दिएको छ।

अहिले आक्रमण भएको स्थानमा पहिला अमेरिकाको सैन्य शिविर थियो। पछि लागुपदार्थ दुर्व्यसनीहरू त्यहाँ भेला हुन थाले। अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि उक्त स्थानलाई दुर्व्यसनीहरूको उपचार र पुनर्स्थापना केन्द्र बनाइयो।

काबुलमा समातिएका दुर्व्यसनीहरूलाई त्यहाँ पठाइने गरेको थियो।

काबुलस्थित लागुपदार्थ दुर्व्यसनीको उपचार र पुनर्स्थापना केन्द्रमा लागेको आगो
पाकिस्तान र अफगानिस्तानबीचको सीमामा अफगान सैनिकहरू

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, अफगानिस्तान र पाकिस्तानबीच झन्डै २,६०० किलोमिटर लामो सीमा छ जुन सन् १८९३ मा ब्रिटिश भारत र अफगानिस्तानबीच निश्चित गरिएको थियो

गत फेब्रुअरीमा दुई देशबीच द्वन्द्व सुरु भएको थियो।

पाकिस्तानले अफगानिस्तानलाई लडाकु समूहलाई सघाएको आरोप लगाउँदै आएको छ। तर तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्ने गरेको छ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोगले जनाएअनुसार दुई देशबीचको द्वन्द्वले अफगानिस्तानमा कम्तीमा ७५ जनाको ज्यान गएको छ भने १९३ जना घाइते भएका छन्।

चीनले त्यहाँको द्वन्द्व मत्थर पार्ने प्रयास गरिरहेको छ। त्यसका लागि चिनियाँ विदेशमन्त्री वाङ यीले अफगान र पाकिस्तानी समकक्षीहरूसँग गत साता फोनमा कुराकानी गरेको बेइजिङले जनाएको छ।

बेइजिङले दुवै देशलाई यथाशीघ्र सङ्घर्षविराम गर्न, शान्त रहन, आक्रमण नगर्न र आमुन्नेसामुन्ने बसेर छलफल गर्न आह्वान गरेको छ।

अफगान-पाकिस्तान द्वन्द्व किन र कहिलेदेखि

राति काबुलमा विस्फोटन भएपछि देखिएको दृश्य

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, अफगानिस्तान सरकारले सोमवार राति भएको आक्रमणमा ठूलो सङ्ख्यामा मानिसहरू हताहत भएको दाबी गरेको छ

अफगानिस्तानमा अमेरिकी युद्धका समयमा पश्चिमा देशलाई सहयोग गरेका कारण तालिबान र पाकिस्तानबीच पहिलेदेखि नै द्वन्द्व छ।

तर गत वर्ष एप्रिलमा पाकिस्तानले आफ्नो देशमा रहेका अफगान शरणार्थीहरूलाई देशनिकाला गर्ने आदेश दिएपछि तनाव झन् बढेको हो।

पाकिस्तानले अवैध रूपमा बस्दै आएका अफगानहरूलाई निष्काशन गर्ने अभियान तीव्र बनाउने बताएको थियो। त्यसपछि लाखौँ अफगान शरणार्थीहरू फिर्ता भएका छन्।

अफगानिस्तान सीमासँग जोडिएको बलोचिस्तान प्रान्तमा पाकिस्तान सरकारविरुद्ध विद्रोही गुटले लगातार सुरक्षाकर्मीहरूमाथि हमला गर्दै आएको छ। पाकिस्तानले ती आक्रमणकारीहरूलाई अफगानिस्तानले संरक्षण गरेको आरोप लगाउने गरेको छ।

बीबीसी पश्तोका दाउद अजमी भन्छन्, "अफगानिस्तानमाथि पाकिस्तानी आक्रमण नौलो कुरा होइन। पाकिस्तानले एप्रिल २०२२ मा पहिलो हवाई हमला गरेको थियो र त्यसपछि हरेक वर्ष दुई, तीन वा त्योभन्दा बढी हमला हुने गरेको छ।"

गत वर्ष अक्टोबरमा काबुलमा हवाई हमला भएको थियो। पाकिस्तानले हमला गरेको दाबी गर्दै अफगानिस्तानले त्यसको जबाफ दिने उद्घोष गरेको थियो।

त्यही महिना तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्तकीले भारत भ्रमण गर्दै गर्दा सीमावर्ती क्षेत्रमा भिडन्त भएको खबर आएको थियो।

काबुलस्थित लागुपदार्थ दुर्व्यसनीहरूको उपचार र पुनर्स्थापना केन्द्रमा घाइते भएका व्यक्तिलाई उपचारका लागि लगिँदै

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, अस्पतालका अधिकारीका अनुसार हमलाका बेला अस्पतालमा धेरै मानिस उपस्थित थिए

पाकिस्तानी सुरक्षा अधिकारीहरूले अफगानिस्तानले छ स्थानमा गोलाबारी गरेको दाबी गरेका थिए।

तालिबानको रक्षा मन्त्रालयले आफ्ना सैनिकहरूले जबाफी कारबाही गरेको बताएको थियो। तनाव बढ्दै जाँदा साउदी अरब र खाडीका अन्य देशले दुई पक्षबीच मध्यस्थता गर्ने प्रयास गरेका थिए।

त्यसैबीच अक्टोबर २०२५ मा कान्दहार प्रान्तको स्पिन बोल्डक जिल्लामा पाकिस्तानी सैनिक र तालिबान सैनिकहरूबीच झडप भएको हुँदा १२ अफगान सर्वसाधारण नागरिकहरूको मृत्यु भयो भने १०० जनाभन्दा धेरै घाइते भए। अफगान सरकारले कैयौँ पाकिस्तानी सैनिकहरू पनि हताहत भएको दाबी गर्‍यो।

केही दिनको तनावपछि कतारको मध्यस्थतामा १९ अक्टोबरमा दोहामा दुवै पक्ष सङ्घर्षविराम र कुराकानी जारी राख्न सहमत भए।

तर केही महिनायता दुई पक्षबीच झडप जारी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।