तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कसरी एक पर्यटकीय आकर्षण बन्न पुग्यो ‘मृत्युको पुल’
- Author, गीता पाण्डे
- Role, संवाददाता, बीबीसी न्यूज
भारतको पश्चिमी राज्य गुजरातमा पर्यटकीय आकर्षणको एउटा केन्द्र बनेको झोलुङ्गे पुल चुँडिदा दर्जनौँको ज्यान गएपछि प्रश्नहरू उठेका छन्।
मोर्बी नगरमा आइतवार बेलुकी भएको उक्त घटनामा १३५ जना मारिएका छन्। जसमध्ये अधिकांश महिला, बालबालिका तथा वृद्धवृद्धा थिए।
१३७ वर्ष पुरानो उक्त झोलुङ्गे पुल पाँच दिन अगाडि मात्र मर्मतपश्चात् खुलेको थियो।
उसोभए कहाँनेर गल्ती भयो?
बीबीसीले उक्त घटनामा बाँच्न सफल भएकाहरू, उद्धारकर्मीहरू, स्थानीय पत्रकारहरू तथा अधिकारीहरूसँग कुरा गरेर सो दुर्घटनाका विविध पक्षबारे जानकारी जुटाएको छ।
स्थानीय बासिन्दा तथा पत्रकारहरूले पुल सञ्चालन गर्ने कम्पनीलाई दोष दिएका छन् भने प्रहरी तथा अधिकारीहरू पनि समग्र विफलताका निम्ति जिम्मेवार बताएका छन्।
दुर्घटनाभन्दा केही मिनेट पहिलेको अवस्था
आइतवार स्थानीय समय साँझ साढे ६ बजेतिर महेश चावडा र उनका दुई साथीले टिकट किनेर मोर्बीको हल्लने ‘झुल्तो पुल’ मा प्रवेश गर्छन्।
राज्यको पर्यटनसम्बन्धी वेबसाइटमा उक्त पुललाई ‘प्राविधिक चमत्कार’ भनेर व्याख्या गरिएको छ। घुम्न आएकाहरूमाझ चर्चित सो पुल महेशका निम्ति बाल्यकालदेखि नै मनपर्ने ठाउँ थियो।
मच्छु नदीमाथि २३० मिटर लम्बाइको सो पुलले दरबारगढ दरबार तथा लख्दिरजी इञ्जिनियरिङ कलेज जोड्छ।
पुल निर्माण भएको मिति यकीन छैन तर स्थानीय बासिन्दाहरूका अनुसार यो सन् १८८० ताका स्थानीय राजा बाघजी ठकोरेको पालामा बनेको हो।
“म त्यहाँ आमाबुवासँग घुम्न जान्थेँ। केही वर्षयता हरेक आइतवार साथीहरूसँग म त्यहाँ जान्थेँ,” १८ वर्ष उमेरका महेश भन्छन्।
त्यसैले अघिल्लो साता जब उनले पुल फेरि खुलेको थाहा पाए उनले उत्साहित हुँदै साथीसँग आइतवार साँझ त्यहाँ जाने योजना बनाए।
घाँटी वरपर प्लास्टर गरेर अस्पतालको शैय्यामा बसिरहेका महेशले मसँग बोल्दै उक्त दिन पुलमा प्रवेश गर्नै लाग्दा त्यहाँ निकै भिडभाड देखेको बताए।
“त्यसैले केहीबेर कुरेर मात्र पुलमा जान हामीले चाहेका थियौँ तर टिकट चेक गर्ने मानिसले हामीलाई गइहाल्न भने। पुलमा हामीले टेक्ने वित्तिकै चुँडियो,” उनले भने।
महेश र उनका साथी उभिएको पुलको अंश उल्टियो र उनीहरू १५ मिटर तल नदीमा खसे।
तीनैजना किशोर घाइते भए तर उनीहरूको ज्यान जोगियो।
अन्य दर्जनौँको ज्यान भने जोगिएन। उक्त दुर्घटनाले धेरै परिवार उजाडियो। साँझ घुम्न निस्केका एकै परिवारका कैयन् सदस्यहरूको अनाहकमा ज्यान गयो।
मर्मतबारे आरोपप्रत्यारोप
कतिपय मानिसहरूले यत्रो ठूलो दुर्घटना कसरी हुनपुग्यो र कसरी रोक्न सकिएन भनेर प्रश्न गरिरहेका छन्।
गुजराती नयाँ वर्षको दिन पारेर बुधवार उक्त पुल सर्वसाधारणका निम्ति खोलिएको थियो।
त्यसको एकदिन अगाडि सन् २००८ देखि सो पुलको मर्मत र सञ्चालनको ठेक्का पाएको ओरेभा समूहका मालिक जयसुख भाइ पटेलले एक पत्रकार सम्मेलनमा मर्मतसम्भारको खर्च २ करोड भारतीय रुपैयाँ लागेको जानकारी दिएका थिए।
“आगामी ८-१० वर्षसम्म यो पुललाई केही हुँदैन। यदि जिम्मेदारपूर्ण रूपमा प्रयोग गरियो भने १५ वर्षसम्म मर्मत गर्नुपर्ने छैन,” पटेलको भनाइ उद्धृत गर्दै टाइम्स अफ इण्डियाले छापेको छ।
आइतवारको दुर्घटनापश्चात् प्रहरीले दुईजना व्यवस्थापक, दुईजना टिकट वितरक, दुईजना ठेकेदार तथा तीनजना सुरक्षागार्डसहित ओरेभा कम्पनी सम्बद्ध ९ जनालाई पक्राउ गरेको छ।
उनीहरूमाथि अनुसन्धान थालिएको छ।
बीबीसीले ओरेभा कम्पनीसँग पनि उसमाथि लागेका आरोपबारे प्रतिक्रिया मागेको छ।
यो साताको सुरुमा इण्डियन एक्सप्रेस पत्रिकासँग कुरा गर्दै सो कम्पनीका प्रवक्ताले पुलको मध्य भागमा धेरै मानिसको घुइँचो भएको र केही मानिसले पुल हल्लाएको बताएका थिए।
साथै ओरेभाले अधिकारीहरूसँग अनुमति नलिकनै मर्मतपश्चात् पुल सञ्चालन गरेको आरोप पनि लागेको छ।
स्थानीय नगर प्रमुख सन्दीपसिँह जालाले पुन:सञ्चालन गर्नु अघि ओरेभाले सुरक्षा प्रमाणपत्र नपाएको सोमवार पत्रकारहरूलाई बताए।
कतिपय मानिसहरूले घडी बनाउने कम्पनीलाई पुल सञ्चालनको जिम्मा किन दिइयो भन्ने प्रश्न पनि गरेका छन्। सो कम्पनीले बिजुलीका सामग्री, ब्याट्री-सञ्चालित बाइक एवं घरभित्रका उपकरणहरू समेत निर्माण गर्छ।
जालाले हाम्रा सन्देशको जबाफ दिएनन् तर उनका एक सहयोगीले ओरेभाले पहिलोपटक सन् २००८ मा जिल्ला प्रशासनबाट सो ठेक्का पाएको मलाई बताए।
“जालाले सो करार मार्च महिनामा नविकरण गरिदिएको,” उनले भने।
बीबीसीले १५ वर्ष अवधि रहेको – सन् २०३७ सम्म - उक्त सम्झौतापत्र हेरेको छ।
त्यसमा मर्मतसम्भार तथा सुरक्षाको जिम्मा सो कम्पनीकै रहेको उल्लेख छ। टिकटको मूल्यको निश्चित रकम उसले राख्न पाउने पनि उल्लेख छ।
सो दस्तावेजमा वयस्कका निम्ति १५ रुपैयाँ र बालबालिकालाई १२ रुपैयाँ शुल्क लिन पाउने भनिएकोमा कम्पनीले प्रत्येक टिकटमा थप २ रुपैयाँ लिने गरेको थियो।
अधिकारीहरूले सबै विषयमा अनुसन्धान गर्ने वाचा गरेका छन्। त्यसका निम्ति एउटा विशेष अनुसन्धान टोली गठन गरिएको छ।
भिडको निम्ति को दोषी?
सबै कुरा सुन्दा पुल भत्कनुको मुख्य कारण धेरै भिडलाई एकैपटक त्यहाँ प्रवेश गर्न दिनु नै रहेको देखिन्छ।
बढीमा एक डेढ सय मानिसमात्र पठाइनुपर्नेमा कतिपय प्रत्यक्षदर्शीहरूले त्यो दिन त्यहाँ पाँच सयभन्दा धेरै मानिस रहेको बताएका छन्।
वरिष्ठ पत्रकार तथा मोर्बी निवासी प्रविण व्यासले सो पुलमा त्यति भिड पहिले नदेखेको बताए।
“एक त आइतवार अर्को लामो दिवालीको विदाको अन्तिम दिन धेरै मानिस त्यहाँ आए। कोभिडले सीमित पारेको २ वर्षपश्चात् बाहिरफेर घुम्दा मानिसहरू निकै रमाएका थिए,” उनले भने।
“तर कति मानिसलाई पुलमा सुरक्षित प्रवेश दिन सकिन्छ भनेर हेर्ने जिम्मा त व्यवस्थापनको हो। तर टिकट शुल्कका कारण जति धेरै मानिस आए उति फाइदा हुन्थ्यो उनीहरूलाई,” व्यासले भने।
नगर प्रशासन तथा प्रहरी पनि निर्दोष नरहेको उनले बताए।
“पुल फेरि खुलेदेखि हरेक दिन हजारौँ मानिस घुम्न आएका थिए। त्यसैले ओरेभाले अनुमति नलिएकाले आफूहरूलाई त्यसबारे केही जानकारी नभएको भनेर उनीहरू पन्छन मिल्दैन।”
हरेक दिन हजारौँ मानिस तथा पर्यटक घुम्न आउने ठाउँमा आपत्कालीन अवस्थासँग जुझ्न आवश्यक सुरक्षा तारतम्यको अभावप्रति पनि आलोचकहरूले प्रश्न उठाएका छन्।
किन त्यहाँ नजिकै प्रहरीहरू, गोताखोरहरू अनि डुङ्गाहरू थिएनन् भनेर उनीहरूले प्रश्न गरेका छन्।
जिल्ला प्रशासनले आगन्तुकहरूको सुरक्षाको जिम्मा कम्पनीको रहेको बताइरहेका छन्।
अतिरिक्त जिल्ला मजिस्ट्रेट एन के मुछरले सङ्कटसँग जुझ्न द्रुतगतिमा उद्धार कार्य गरिएकोमा गौरवबोध भएको मलाई बताए। व्यापक उद्धारकार्यका कारण ज्यानहरू जोगाइएको उनले भने।
“१० मिनेटभित्र घटनास्थलमा गोताखोरहरू, पौडीबाजहरू, डोरी, डुङ्गा, तथा अग्नि नियन्त्रण सेवा पुगेका थिए,” उनले भने।
वरपर रहेका स्थानीय बासिन्दा तथा नजिकै नदीको तटमा नयाँ मन्दिर निर्माण गरिरहेका कामदारहरू तत्काल उद्धारमा नखटिएका भए मृत्यु हुनेहरूको सङ्ख्या झन् धेरै हुनसक्ने कतिपयले बताएका छन्।
निरञ्जन दास दिनभरि मन्दिर निर्माणको काम सकेर साथीभाइसँग पुलको छेउमा बसिरहेका थिए।
“हामीले मानिसहरू पुलका चुँडिएका टुक्राहरूमा झुण्डिएको देख्यौँ,” उनले भने।
निर्माणस्थलको डोरीको प्रयोग गरेर मानिसहरूलाई उतारेको उनले बताए।
“हामीले आठजनाको ज्यान जोगायौँ भने दर्जनौँ शव पनि निकाल्यौँ।”
उद्धारकार्यमा सामेल आफ्ना साथीको हातखुट्टामा लागेको घाउ उनले देखाए।
६१ वर्षीय पार्वत गोविन्द दुई वर्ष अगाडि मोर्बीमा आएका थिए। उनले मन्दिरमा श्रमिकहरूको रेखदेख गर्दै आएका थिए। दुर्घटना हुँदा उनी पनि मन्दिरमै थिए।
“यी घाउ त निको हुन्छन्,” उनले भने। “तर त्यो दिन हामीले जे देख्यौँ त्यो बिर्सन सक्दैनौँ। ती चिच्च्याएका आवाज हामी कहिले बिर्सन सक्ने छैनौँ।”