तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भत्केका पुल हुँदै जोखिमपूर्ण यात्रा
पूर्व पश्चिम राजमार्गका भत्केका पुलहरुको मर्मत नहुँदा यातायात कष्टकर र जोखिमपूर्ण भइरहेको सवारी चालक र यात्रुहरुले बताएका छन्।
भत्केका तीनवटा पुलमा खोलाबाट शाखा बाटो खोलेर यातायात सञ्चालन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
भत्केका पुलको मर्मत तथा नयाँ पुल बनाउने काम समयमा सम्पन्न हुन नसके उक्त राजमार्ग बन्द हुने चिन्ता यातायातकर्मीहरुको छ।
करिब एक महिनाअघि आएको विनाशकारी बाढीले बाराको दुधौरा पुल भत्काइदिएपछि उक्त पुलमा यातायात सञ्चालन हुन सकेको छैन।
एकतर्फी
धन्सार पुलमा पनि एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन्।
धनुषा र महोत्तरीको बिचमा पर्ने रातु पुलमा अस्थायी बेली ब्रिज हालेर सवारी साधन सञ्चालनमा ल्याइएको छ।
सर्लाही र रौतहटबिचको बागमती पुल पनि अत्यन्तै जीर्ण छ।
पूर्वपश्चिम राजमार्ग र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने जब्दिघाटपुलको आधारस्तम्भ नै भत्किएको छ।
पूर्व पश्चिम राजमार्गमा मालबाहक ट्रक चलाउने एकजना चालक दिपेश पाठकले भने, "राजमार्गका बागमती, हेटौडामा पर्ने ३ नं पुल लगायत धेरै पुल सवारी गुडदा हल्लिन्छन् । यस्तै पारा हो भने आउने वर्षामा ५/६ महिना नै गाडी चल्दैन।"
देशकै प्रमुख राजमार्गमा यस्तो कठिनाईकासाथ सवारी साधन सञ्चालन भइरहेकाले असाध्यै धेरै दुःख पाइराखिएको सर्वसाधारणको भनाइ छ।
सडक विभागका अनुसार पूर्व पश्चिम राजमार्ग तथा उक्त राजमार्गलाई अन्य राजमार्गका दुई दर्जन पुलमा गम्भीर क्षति पुगेको छ।
साना तिना भत्केका पुलहरुको संख्या अझ धेरै भएको बताइन्छ।
भत्केका पुल बनाउने तथा मर्मत गर्ने काम अहिलेसम्म शुरु नै भएको छैन।
प्राथमिकता
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भत्केका पुलहरुको मर्मत र सवारी साधन चल्न नसक्ने पुलहरु बनाउनका लागि योजनाहरु प्राथमिकतामा रहेको जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी विष्णुप्रसाद शर्माले भने, 'केही पुल मर्मत गर्ने काम त शुरु भइसकेको छ। तर नयाँ बनाउनका लागि टेण्डर निकाल्नुपर्ने हुन्छ।'
तर ठेक्का लागेका काम समय नसकिने र सकिएका काम पनि गुणस्तरहीन हुने उदाहरणका माझ पुल बनाउने र मर्मत गर्ने काम अब आउने वर्षाको समयअघि हुन्छ भनेर सर्वसाधारण विश्वस्त हुन सकेका छैनन्।