तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोहितले उठाएको मुद्दा र डारेन सामीको साथ : असोसिएट र टेस्ट राष्ट्रबीच बढ्ला त भेट
- Author, निरञ्जन राजवंशी
- Role, वानखेडे रङ्गशाला, मुम्बई
- पढ्ने समय: ४ मिनेट
मुम्बईमा नेपाल र इङ्ल्यान्डबीचको टी२० विश्वकप खेलमा नेपालको प्रतिस्पर्धात्मक हारले असोसिएट र टेस्ट राष्ट्रबीचको खाडललाई पुर्ने उपायको खोजीबारे बहस ब्युँताइदिएको छ।
मुम्बईमा मङ्गलवार आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा नेपालको राष्ट्रिय पुरुष क्रिकेट टीमका क्याप्टेन रोहित पौडेलले टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबीचको दूरी घटाउने एक उपायबारे ध्यानाकर्षण गराउँदै भने- "हामीले ठुला टोलीसँग खेल्ने अवसर पाएका छैनौँ। म इङ्ल्यान्ड, अस्ट्रेलिया जस्ता टेस्ट राष्ट्रलाई नेपालमा निम्त्याउन चाहन्छु। त्यसले ठुलो अर्थ राख्ने छ।"
त्यसरी उनले सार्वजनिकरूपमा ठुला टेस्ट राष्ट्रलाई नेपालमा आएर खेल्न खुल्ला निम्तो दिए।
यो यस्तो बहस हो जसले क्रिकेटको विश्व निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)देखि टेस्ट राष्ट्रहरू र नेपालको शक्तिशाली छिमेकी क्रिकेट राष्ट्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समेतलाई छोएको देखिएको छ।
प्रयास जारी तर छैन समय
अन्तर्राष्ट्रिय क्रिकेटको संरचना यस्तो छ कि त्यहाँ असोसिएट र टेस्ट राष्ट्रबीच कमै अवसरमा मात्र भेट हुन्छ।
त्यसको लागि कि टी-२० विश्वकप, कि एसिया कप वा एसियाली खेलकुद प्रतियोगिता जस्ता निश्चित वर्षमा आयोजना हुने प्रतियोगिता पर्खिनुको विकल्प छैन।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्न थालेको ३० वर्षपछि नेपालले जारी विश्वकपमा इङल्यान्डसँग पहिलो पटक खेल्न पाएको हो।
त्यस्तै भारतसँग नेपालले एसिया कप र एसियाली खेलकुद प्रतियोगितामा गरेर २ पटक खेल्न पाएको छ।
अमेरिका/वेस्ट इन्डिज विश्वकपपछि नेपालले टेस्ट राष्ट्रसँग खेलिएको एक मात्र खेल वेस्ट इन्डिजसँग थियो।
नेपाल मात्र होइन अन्य एसोसियटको अवस्था पनि त्यही नै हो।
तर कहिलेकाहीँ हुने यस्तो भेटमा एसोसियटले टेस्ट खेल्ने टीमलाई हराएर सनसनी पनि मच्चाएको छ।
जस्तै गत विश्वकपमा पनि अमेरिकाले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो।
डारेन सामीको साथ
यस्तो बेला वेस्ट इन्डिजका एक समयका चर्चित खेलाडी तथा हाल वेस्ट इन्डिज टोलीका प्रशिक्षक डारेन सामीले रोहितको भनाइमा राम्रो साथ दिएको मानिएको छ।
उनले मिडिया साक्षात्कारमा असोसिएट राष्ट्रलाई टेस्ट राष्ट्रहरूले खुलेर सहयोग गर्नुपर्ने कुरा सामीले बताए।
उनले भने, " टेस्ट टोलीहरूले एसोसियट देशको विकासमा भूमिका खेल्नुपर्छ। अब भारत-नेपाल, इङल्यान्ड -नेपाल, अस्ट्रेलिया नेपालबीच पनि द्वीपक्षीय क्रिकेट हुनुपर्छ। टेस्ट राष्ट्रले गर्नै नै यही हो।"
डारेनको उक्त भनाइ ती सबैको लागि थियो। जसले प्रशंसा त गर्छ तर वास्तविक धरातलमा आएर साथ भने दिँदैन।
वेस्ट इन्डिज मात्र एक्लो टेस्ट टोली थियो जसले नेपालसँग पहिलो द्वीपक्षीय शृङ्खला खेलेर नेपालको साथ दिएको थियो।
यूएईमा खेलिएको उक्त शृङ्खलामा वेस्ट इन्डिजले पूर्ण टोली पठाएको थिएन। तर त्यही शृङ्खलामा पाएको २-१ को जितले नेपाली खेलाडीलाई फाइदा पुगेको कप्तान रोहितले बताए।
रोहितले भने, " त्यो जितले हाम्रो मनोबल बढाउन निकै भूमिका खेलेको थियो।"
जारी विश्वकपमा ९ वटा असोसिएट राष्ट्र सहभागी छन्। तर ती राष्ट्रहरूले प्रतियोगिता अगाडिको वार्मअप अप म्याचमा पनि टेस्ट टोलीसँग खेल्न पाएनन्।
नेपालले पनि वार्मअपमा प्राय खेल्दै आएको क्यानडा र यूएई पाएको थियो।
विकल्प के
आईसीसीसँग असोसिएट राष्ट्रको लागि केन्द्रित थुप्रै प्रतियोगिताहरूको संरचना देखिँदैन।
यस्तोमा नेपालको अर्को विकल्प भनेकै द्वीपक्षीय शृङ्खला नै हो। जसको लागि ठुला राष्ट्रहरू तयार भएको देखिँदैन।
अन्तर्राष्ट्रिय व्यस्त तालिका भन्दै टेस्ट टोलीहरूले समय निकाल्न नसकेको बताउने गरेको सार्वजनिक हुने गरेको छ।
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले कीर्तिपुर रङ्गशाला निर्माण भएपछि यो वर्ष कम्तीमा दुई वटा टेस्ट राष्ट्रलाई नेपाल निम्त्याउने बताएका छन्।
ती राष्ट्र भनेको भारत, इङल्यान्ड वा अस्ट्रेलिया नभई आयरल्यान्ड जस्ता टोलीहरू हुन्, जसमा अफगानिस्तान जस्ता टीम पनि हुन सक्ने बताइएको छ।
शुरुआती वातावरण निर्माण गर्न यसले पनि नेपाली क्रिकेटलाई सघाउ नै पुर्याउने छ।
तर मुख्य विषय चाहिँ कप्तान रोहित पौडेलले विश्वकपको मञ्चमै उठाएको आह्वान हो र त्यसमा सामीले दिएको साथ महत्त्वपूर्ण देखिएको छ।
टेस्ट र असोसिएटबीचको भेट किन आवश्यक
टी-२० पुरुष विश्वकपमा इङ्ल्यान्डविरुद्ध नेपालको प्रदर्शनको विगतमा जस्तै खुबै प्रशंसा भयो, सँगसँगै हारले खेलाडीहरूलाई त्यति नै पीडा दियो।
यसले दुई वर्ष अगाडिको विश्वकपमा दक्षिण अफ्रिका सँगको १ रनको हारको चोटलाई फेरि बल्झाइदिएको थियो।
अन्तिम समयको यस्तो हारपछि खेलाडीहरूको अनुभव वा ठुलो दबाव झेल्न नसक्ने कमजोरी पनि उजागर भएको छ।
थप प्रश्न पनि उब्जिएको छ- "दुई वर्षमा नेपाली क्रिकेट खेलाडीले यस्ता ठुला प्रतियोगिताहरू कति खेल्ने मौका पाए त जसले उनीहरूमा ठुला दबाव पार गर्न सक्ने विश्वास बढोस्?।"
हुन पनि दुई वर्षको बीचमा नेपालका खेलाडीले त्यस्तो कुनै ठुलो प्रतिद्वन्द्वी सँग खेल्न पाएनन्, जसले दक्षिण अफ्रिकासँगको खेल जस्तै दबावको स्थिति सामना गर्नु परोस्।
असोसिएट मुलुकले टेस्ट मुलुकसँग खेल्ने मौकाहरू उपलब्ध भए दूरी मेटिँदै जाने क्रिकेटका जानकारहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।