'सबैभन्दा भयानक यौन अपराधी' : १० महिलालाई बलात्कार गरेका चिनियाँ विद्यार्थीलाई आजीवन कारावास

तस्बिर स्रोत, Met Police
- Author, भिक्टोरिया कुक र ड्यानिअल स्यान्फोर्ड
- Role, बीबीसी
यूकेमा "असाध्यै हिंसक अपराधीमध्ये एक" भन्दै एक जना चिनियाँ पीएचडी विद्यार्थीलाई न्यूनतम २४ वर्षको जेल सजायसहित आजीवन कारावासको सजाय सुनाइएको छ।
चिनियाँ नागरिक झेनहाओ झाउले सेप्टेम्बर २०१९ देखि मे २०२३ सम्म लन्डनमा तीन र चीनमा सात गरी दश जना महिलालाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको लन्डनस्थित एक अदालतले जनाएको छ।
अभियोजनकर्ताहरू भन्छन्, पीडित १० मध्ये तीनको पहिचान भएको छ। तर मेट्रोपोलिटन प्रहरीका अनुसार उनले दर्जनौँ अरूलाई पनि निसाना बनाएको हुन सक्छ।
अदालतले के भन्यो
प्रहरीले सम्भावित पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ। मुद्दा चलेयता २४ जना महिला सम्पर्कमा आएका छन्।
सजाय सुनाउने समयमा न्यायाधीश रोसिना कटेजले प्रतिवादी "असाध्यै चतुर" रहेको र आफू "यौन सिकारी" भएको छिपाउन "आकर्षक" बन्ने गरेको बताइन्।
सजाय सुनाउँदै न्यायाधीश कटेजले झाउलाई भनिन्, "तिमी खुब हुनेखाने पुरुषजस्तो देखिन्छौ तर तिमी यौन सिकारी पनि हौ।"
न्यायाधीशका अनुसार झाउले "बलात्कार गर्ने अभियानको योजना बनाएर त्यसलाई कार्यान्वयन पनि गरे", महिलाहरूप्रति "निर्मम व्यवहार" गरे र आफ्नो आनन्दका लागि 'सेक्स टोइ' सरह प्रयोग गरे, जसको "विनाशकारी र दीर्घकालिक" असर परेको छ।
झाउलाई दुईजनाबीचको "सहमति भनेको के हो भन्ने कुराको बुझाइ नै थिएन " न्यायाधीशले भनिन्।
न्यायाधीश कटेजले अदालतले बलात्कारको भिडिओ हेरेको, ती असाध्यै हैरान पार्ने किसिमको भएको र "भिडिओ हेरेकामध्ये केही त रोएको" बताइन्।
दक्षिणपूर्वी लन्डनमा बस्ने झाउ बलात्कारको ११ मामिलामा दोषी ठहर्याइए। दुई अपराध एकै पीडितसँग सम्बन्धित छन्।
उनलाई अरूको गोप्य गतिविधिसम्बन्धी विषयवस्तु राखेकोसम्बन्धी तीन मामिला, अश्लील तस्बिर राखेकोसम्बन्धी १० मामिला, झुटो कारावासको एक मामिला र यौन अपराध गर्ने उद्देश्यले राखिएको औषधिको तीन मामिलामा दोषी ठहर्याइएको छ।
उनको साथबाट पीडितहरूले होस गुमाएपछि भएका बलात्कारको भिडिओ प्राप्त भएको थियो।
मेट पुलिसका प्रहरी अधिकारी रिचर्ड मकेन्जीले झाउ "अहिलेसम्म देखेकोमध्ये सबैभन्दा भयानक यौन अपराधी" भने।
"तिम्रो विकृत सोचाइका कारण उच्च तहको खतरा छ। तिमी अनिश्चितकालका लागि खतरा हौ" न्यायाधीशले भनिन्।
"कहिल्यै माफी नदिनू"

तस्बिर स्रोत, MetPolice
एक महिलालाई अत्यधिक रक्सी खुवाएर उनको फ्ल्याटबाट जान नदिएर बलात्कार गरिएको थियो।
पीडितको भनाइ रेकर्ड गर्दा उनले त्यसले आफ्नो व्यक्तित्वमाथि "गहिरो" असर परेको बताएकी छन्।
उनले भनेकी छन्, "मानिसमाथि मेरो विश्वास गुमेको छ। मैले अरूलाई विश्वास गर्न सक्दिनँ। यो घटनाअगाडि मानिस यतिसम्म दुष्ट हुन सक्छ भन्ने मलाई थाहा थिएन।"
"नचिनेका मानिस भेट्दा पनि मलाई उसले गरेको दुर्व्यवहारको झल्को आउँछ।"
अर्की बलात्कृत महिला अहिले चीनमा बस्छिन्। झाउले लन्डनको रसल स्क्वेअरनजिकैको विद्यार्थी बस्ने फ्ल्याटमा अक्टोबर २०२१ मा उनी बेहोस भएका बेला बलात्कार गरेका थिए।
उनले भनिन्, "त्यसले पारेको घाउको गहिराइलाई शब्दले व्यक्त गर्न सक्दैन। त्यो रात के भयो भन्ने मभित्र अङ्कित भएको छ सधैँका लागि।"
"उसको अनुहार, उसको हाउभाउले मलाई कहिल्यै छोड्ने छैन। मैले उसलाई कहिल्यै माफ दिन सक्दिनँ।"
मेट्रोपोलिटन प्रहरीका कमान्डर केभिन सथ्वर्थले भने, "ठूलो कष्ट झेलेका महिलाहरूका लागि अब झाउले कसैलाई हानि गर्न सक्दैनन् भन्ने तथ्यले अलिकति भए पनि राहत पुर्याउन सक्छ कि भन्ने आशा गर्छु।"
"अनुसन्धान अझै खुला रहेको र झाउबाट कोही अन्य पीडित भए आउन" पनि उनले आग्रह गरे।
क्राउन प्रोसिक्यूशन सर्भिसकी सायरा पाइकले झाउ "शृङ्खलाबद्ध बलात्कारी र महिलाका लागि खतरा रहेको" र "उसलाई दिइएको आजीवन कारावासको सजायले उसको जघन्य कार्य दर्साउँछ।"
उनले भनिन्, "म ती महिलाहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु जसले झाउविरुद्ध बयान दिन आए । उनीहरू असाध्यै बहादुर र बलिया थिए। उनीहरूकै कारण हामीले उसलाई दोषी ठहर्याउन सक्यौँ र आजीवन कारावास सजाय हुन सक्यो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








