काठमाण्डूमा 'मिनरल वाटर' र 'जार'को पानी 'ढुक्कले खान नसकिने'

नेपाल सरकारको खाद्य सुरक्षासम्बन्धी निकायले खास गरी काठमाण्डू उपत्यकाभित्र 'जार'को पानी प्रयोग गर्ने क्रममा उपभोक्तालाई सजग रहन आग्रह गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रमुखले बारम्बारको प्रयोगले 'जार'को गुणस्तर कमजोर हुँदै जाँदा त्यसबाटै पानी सङ्क्रमित हुने गरेको देखिएको भन्दै केही त्यस्तो सजगता अपनाउन आग्रह गरेकी छन्।

“जारको सफाइमा कमी देखिँदा समस्या देखिन्छ, उत्पादकहरूमा मूल्यलाई लिएर प्रतिस्पर्धा देखिन्छ,” विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बीबीसीसँग भनिन्।

“जार कोरिने बित्तिकै त्यसमा सरसफाइको समस्या हुन्छ र त्यसमा जीवाणुहरू मौलाउने देखिन्छ।”

त्यसले गर्दा अधिकांश अवस्थामा पानीमा झाडापखाला फैलाउन सक्ने 'ई. कोलाई'सहितका कोलिफर्म ब्याक्टेरिया देखिने गरेको महानिर्देशक वैद्य बताउँछिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न जिल्लाका ३६ जनामा हैजाको सङ्क्रमण देखिएपछि विभागलाई 'मिनरल वाटर' र 'जार'को पानी पनि 'पूर्ण रूपमा भर परेर खान नसक्ने आशङ्का लागेको' भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई बजार जाँच गर्न भनिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बीबीसीलाई भने, “हामीले यो समयमा बजारको जुनसुकै पानी कि त उमालेर वा क्लोरिन ट्याब्लेट प्रयोग गरेर मात्र पिउन भनेका छौँ।”

काठमाण्डू उपत्यकाभित्र मात्र 'जार'को पानी उपलब्ध गराउने झन्डै ३०० ओटा सानाठूला कम्पनीहरू रहेको सरकारी आँकडा छ।

पानीमा कस्तो सङ्क्रमण, जोखिम के?

विभागले हालै सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८०/८१ मा परेका खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी १७८ वटा मुद्दामध्ये एक चौथाइ प्रशोधित पानीसम्बन्धी रहेको देखिन्छ।

यसमा केही साना 'मिनरल वाटर'बारे छन् भने धेरैजसो 'जार'को पानीसम्बन्धी रहेको देखिन्छन्।

काठमाण्डूलगायत देशका विभिन्न ठाउँमा हैजाको सङ्क्रमण देखिएका बेला 'जार'का पानी समेतका नमुना लिइएको भए पनि त्यसको नतिजा आइनसकेको विभागले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको विवरणमा हालै ललितपुरमा २४ र कैलालीमा आठ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। त्यसबाहेक प्युठानमा दुई जना एवं काठमाण्डू र भक्तपुरमा एक-एक जनामा हैजा देखिएको थियो।

पानी जाँच गर्दा पाइने 'ई. कोलाई'जस्ता जीवाणु सबैजसो हकमा मानव शरीरलाई हानिकारक भइनहाल्ने भए तापनि त्यसका केही प्रकारले स्वास्थ्यमा नराम्रो असर पार्ने बताइन्छ।

सामान्यतः पानीमा ब्याक्टेरिया भएनभएको हेरेर पानीको शुद्धता जाँच्ने गरिन्छ।

जनावरको पाचननलीमा हुने 'ई. कोलाई' ब्याक्टेरिया बाह्य वातावरणमा समेत देखिन सक्छ र मानिसमा सङ्क्रमित भएमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउनुका साथै बिरामी पार्न सक्छ।

त्यसले झाडापखाला तथा आउँ पर्ने समस्या देखिन सक्ने जोखिम रहन्छ।

मानव तथा जनावरको पाचननलीमै हुने कोलिफर्म ब्याक्टेरिया तिनको मलमूत्रमा भेटिन्छ।

माटो र वनस्पतिमा समेत पाइने यस ब्याक्टेरियाको केही प्रकारले बिरामी पार्न सक्छ।

कसरी चिन्ने 'जार'?

विभागले पारदर्शी नदेखिने, थोत्रो, कोरिएको र कुच्चिएको पानीको 'जार' उपभोक्ताहरूले किन्न नहुने जनाएको छ।

“जारमा स्पष्ट लेबल हेरेर पनि कम्पनीको इजाजत र पानी तयार भएको मितिजस्ता कुरा थाहा पाउन सकिन्छ। खाद्य निरीक्षकहरूले छड्के जाँच गर्दा हेर्ने एउटा मुख्य कुरा उक्त लेबल भएकाले त्यो निकै महत्त्वपूर्ण छ,” वैद्य भन्छिन्।

“टाइफोइड, जन्डिसजस्ता रोगको स्रोत पानी नै हो। जारको पानी भनेको नउमालीकन सिधै पिउन योग्य मानिने भए पनि यस्ता पक्षमा ध्यान दिनु आवश्यक हुन्छ।”

एउटा जारको अधिकतम प्रयोग कति पटकसम्म गर्न सकिने भन्ने स्पष्ट नभए पनि त्यसको राम्रोसँग ओसारपसार नहुने अवस्थामा उपभोक्ताले जार चिन्ने केही तरिकाका भरमा आफ्नो विवेक प्रयोग गर्नुपर्ने महानिर्देशक मतिना जोशी वैद्य बताउँछिन्।

“फ्याक्ट्रीमा राम्रोसँग मशीनले प्रशोधन गर्दा समेत 'जार'बाट पानी दूषित हुने हाम्रो सबैभन्दा ठूलो समस्या हो।”

प्रशोधित पानी बिक्री गर्ने कम्पनीहरूले एकअर्काको 'जार' समेत उपयोगमा ल्याउने गरेकाले त्यसमा उनीहरूको जिम्मेवारीबोधको कमी देखिएको अधिकारीहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।