अमेरिका र चीन फेरि सैन्य सञ्चार बिउँताउन सहमत, के दुई देशबीच सम्बन्ध सुध्रिएको हो

तस्बिर स्रोत, Reuters
- Author, माइक वेन्ड्लिङ
- Role, बीबीसी न्यूज
अमेरिकी राष्ट्रपति जो बाइडन र उनका चिनियाँ समकक्षी सी जिन्पिङबीच बुधवार भएको भेटघाटबाट ठूलो परिणाम आउने अपेक्षा अधिकारीहरूको थिएन। तर उक्त बैठकमा धेरै महत्त्वपूर्ण विषयहरूमा सहमति भएको छ।
"हामीले गरेका छलफलहरूमध्ये यी छलफलहरू सबैभन्दा सिर्जनात्मक र उपलब्धिमूलक भएको मेरो विश्वास छ," बैठकपछि राष्ट्रपति बाइडनले भने। "हामीले केही महत्त्वपूर्ण प्रगति हासिल गरेका छौँ।"
त्यसअघि राष्ट्रपति सीले संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध "कहिल्यै पनि सहज नभएको" स्वीकार गरेका थिए।
यद्यपि उनले पनि यी दुई शक्तिराष्ट्रहरूसँग "एकअर्कातिर पिठिउँ फर्काउने विकल्प नरहेको" बताए।
विश्वका शक्तिशाली नेताहरूबीचको क्यानिफोर्निया वार्ताबारे हामीले थाहा पाउनुपर्ने चार कुराको यहाँ चर्चा गरिएको छ।
१. जलवायुबारे मिलनबिन्दु

तस्बिर स्रोत, Reuters
सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने यी दुई देशहरूले जलवायु परिवर्तनको सामना गर्नका लागि थप उपाय अपनाउन सहमति गरेका छन्। तर उनीहरूले जीवाश्म इन्धनको प्रयोग रोक्न भने प्रतिबद्धता जनाएनन्।
उनीहरूले शक्तिशाली हरितगृह ग्यास मीथेन उत्सर्जनको गति कम गर्न र सन् २०३० भित्र नवीकरणीय ऊर्जाको प्रयोग तेब्बर बनाउने विश्वव्यापी प्रयासमा साथ दिनका लागि सहकार्य गर्ने वाचा गरेका छन्।
नोभेम्बर महिनाको अन्त्यमा दुबईमा सुरु हुने २८ औँ विश्व जलवायु सम्मेलन वा कोप२८ अगाडि यस्तो सहमति हुनु महत्त्वपूर्ण भएको विशेषज्ञहरूले बीबीसीलाई बताएका छन्।
"जलवायु परिवर्तनका विषयमा यो सानो तर महत्त्वपूर्ण पाइला हो," यूकेको थिङ्कट्याङ्क च्याटम हाउसका फेलो पनि रहेका चीन मामिलाविशेषज्ञ बर्निश लीले भनिन्।
वर्ल्ड रिजोर्सेस इन्स्टिट्यूटका डेभिड वाक्सोले मीथेन ग्यासबारेको सहमतिलाई "ठूलो पाइला" भने।
"चीन विश्वको सबैभन्दा ठूलो मीथेन उत्सर्जक हो र निकट भविष्यमा विश्वव्यापी तापमान वृद्धिको गति कम गर्नका लागि यस ग्यासको नियन्त्रण गर्ने गम्भीर पहलहरू हुनुपर्छ," उनले भने।
२. फेन्टनिल ओसारपसारमा सहमति

तस्बिर स्रोत, Reuters
औषधिको गैरकानुनी ओसारपसारका लागि पनि आफूहरूले सहकार्य गर्ने दुवै पक्षले बताएका छन्।
विशेषतः अमेरिकामा गैरकानुनी तरिकाले फेन्टनिलको आपूर्ति रोक्नका लागि रासायनिक कम्पनीहरूको नियन्त्रण गर्न चीन सहमत भएको छ। दुखाइ कम गर्ने यस औषधिको अत्यधिक प्रयोगले अमेरिकामा 'ओभरडोज' का कारण हुने मृत्युको सङ्ख्या बढेको छ।
यो शक्तिशाली कृत्रिम ओपिओइडका कारण अमेरिकामा गत वर्ष करिब ७५,००० जनाको ज्यान गएको बताइएको छ।
फेनटनिल मात्र नभई यो बनाउन प्रयोग गरिने द्रव्यको स्रोत पनि चिनियाँ उत्पादन कम्पनीहरू नै हुन्।
ब्रुकिङ्स इन्स्टिट्यूशनका अन्तर्राष्ट्रिय सङ्गठित अपराध विशेषज्ञ भ्यान्डा फेल्बब-ब्रउनले यस्तो सहमति "कूटनीतिक तथा राजनीतिक वक्तव्य" भएकाले यसको वास्तविक असरबारे अझै प्रश्नचिह्न रहेको बताइन्।
"यी कम्पनीहरूमाथि चीनले के गर्छ भन्ने कुरा हेर्नै बाँकी छ," उनले भनिन्। "के उसले त्यस्ता तीनटा कम्पनीहरूलाई कारबाही गर्छ? पाँच? पचास?"
चीनले नार्कोटिक्सविरुद्धको सहकार्यलाई "मोलमोलाइको माध्यम" र "बृहत् कूटनीति अभ्यास गर्ने एक साधन" बनाउने कुरामा आफू विश्वस्त रहेको उनी बताउँछिन्।
चीनले यस्ता सामग्रीलाई सोझै अमेरिका निर्यात गर्न रोक लगाएकाले अवैध व्यापार मेक्सिकोतर्फबाट हुने गरेको छ। औषधिको अवैध ओसारपसार रोक्नका लागि चीनले पर्याप्त काम नगरेको अमेरिकी अधिकारीहरूको भनाइ छ भने अमेरिकाको ओपिओइड महामारी अमेरिकाकै गल्तीका कारण भएको भनी चीनले प्रतिरक्षा गरेको छ।
३. तनावपूर्ण अवस्थापछि सैन्य सञ्चार पुनः सुरु
दुई देशहरूले आफ्ना सैन्य निकायहरूबीचको सञ्चार पुनः सुरु गर्ने सहमति गरेका छन्। उक्त विषय पहिला अमेरिकी अधिकारीहरूको 'विशलिस्ट' अर्थात् 'इच्छासूची'मा परेको थियो।
अमेरिकी तल्लो सदनकी तात्कालिक सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकीसँग 'सैन्य सम्बन्धविच्छेद' गरेको थियो।
साथै यसै वर्ष एउटा सन्दिग्ध चिनियाँ जासुसी बलून अमेरिकी भूभागमा देखिएर आन्ध्र महासागरमा खसेपछि दुई देशबीचको सैन्य सम्बन्ध थप चिसिएको थियो।
"परमाणुशक्ति भएका राष्ट्रहरूबीच युद्धको कारण बन्न सक्ने कुनै दुर्घटना वा आशयको गलत बुझाइ नहोस् भन्नका लागि शीतयुद्धका बेला संयुक्त राज्य अमेरिका र सोभियत सङ्घले सधैँ सैन्य सञ्चार कायम गरेका थिए," अमेरिकाका भूतपूर्व उपसहायक रक्षामन्त्री मिक मल्रोयले भने। "अहिले चीन र अमेरिकाबीच पनि त्यस्तै हुनुपर्छ।"
चीनमा बसी एक दशकसम्म पत्रकारिता गरेका बीबीसीका उत्तर अमेरिका संवाददाता जोन सड्वर्थका अनुसार बुधवारको भेटघाटअघि नै सम्बन्ध सुधारका सङ्केतहरू देखा परेका थिए।
उदाहरणका लागि, धेरै वर्षपछि पहिलो पटक गत साता दुई पक्षले वाशिङ्टनमा बैठक गरी परमाणुअस्त्र भण्डारणबारे छलफल गरेका थिए।
बुधवार दुई राष्ट्रपतिहरूले ताइवानबारे पनि उल्लेख्य छलफल गरे। त्यस क्रममा चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीलाई "ताइवानलाई हतियार नदिन" आग्रह गरे।
चीनको विदेश मन्त्रालयका अनुसार उनले ताइवानसँग चीनको एकीकरण "रोक्न नसकिने" पनि बताए।
तर एक उच्च अमेरिकी अधिकारीले संवाददाताहरूसँग कुरा गर्दै यसबारे अमेरिकी दृष्टिकोण नबदलिने बताए।
४. वार्ता जारी रहने
बीबीसीकी उत्तर अमेरिका सम्पादक सारा स्मिथका अनुसार निश्चित बुँदाहरूमा सहमति भए पनि बैठक हुनु र दुई राष्ट्रपतिहरूले हात मिलाउनु मात्र पनि सकारात्मक सङ्केत हो।
संसारका सबैभन्दा शक्तिशाली राष्ट्रपतिहरू आपसमा कुरा गर्नु आफैँमा कूटनीतिक उपलब्धि हो। उनीहरूले सम्पर्कमै रहने सहमति गरे भने त्यसलाई मात्र पनि सफलता मान्न सकिन्छ।
दुई नेताहरूबीचको बुधवारको बैठक सुरु हुँदा बाइडनले सीलाई भने, "म हाम्रो संवादलाई महत्त्व दिन्छु किनकि मलाई लाग्छ तपाईँ र मैले नेता-नेताकै तहमा कुनै गलत अवधारणा वा असमझदारीबिना एकअर्कालाई स्पष्टसँग बुझ्नु महत्त्वपूर्ण छ।"
त्यसमा चिनियाँ नेताले सहमति जनाए। उनले भने, "द्वन्द्व तथा आमनेसामनेको स्थितिले दुवै पक्षतर्फ असह्य नतिजा निम्त्याउँछन्।"
तर धेरै विषयमा यी देशहरूमा एकदमै पृथक् छन्। शान्तिपूर्ण रूपमा असहमति व्यक्त गर्न दुई पक्ष सहमत हुँदा केही विश्लेषकहरूले अत्यन्त आशावादी भविष्यवाणी गर्न नहुने बताएका छन्।
"वाशिङ्टन र बेइजिङको सञ्चारमा विगत चार महिनामा साँच्चै नै उल्लेख्य सुधार भएको छ," सिरक्यूज यूनिभर्सटीका चिनियाँ अध्ययन निर्देशक दिमितर जर्जियभले भने।
"त्यसको धेरै कुरा यही एपेक बैठकसँग प्रत्यक्ष सम्बन्धित थियो। यद्यपि... हामीले सकारात्मक विकासक्रम टिकिरहन सक्छ वा टिकिरहनेछ भन्ने मान्यता चाहिँ राख्नुहुँदैन।"
बर्न्ड डेब्युस्म्यानबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








